+
+

एन्फामा इन्द्रमान : कर्मासँग ब्रेकअफ, पंकजसँग प्याचअप

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० पुष १ गते १९:३०

१ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय कार्यसमिति बैठक भोलि सोमबार बस्दै छ । हेटौंडामा भएको विशेष साधारण सभापछि पहिलो पटक एन्फा बैठक बस्न लागेको हो ।

यो बैठकअघि नै एन्फाको समीकरणमा केही फेर बदल आएको छ । यसअघि असन्तुष्ट पक्षमा रहेका पूर्व महासचिव इन्द्रमान तुलाधर संस्थापन पक्षमा फर्केका छन् ।

तुलाधर उनै हुन् जसले पूर्व अध्यक्ष कर्मा छिरिङसँग मिलेर अहिलेका अध्यक्ष पंकज विक्रम नेम्बाङ र महासचिव किरण राईको बर्खास्तीको माग राख्दै विशेष साधारण सभा माग गरेका थिए ।

तर विशेष साधारण सभाबाट नेम्बाङ र राईलाट हटाउन नसकेपछि तुलाधर वर्तमान नेतृत्वसँग मिलेर अघि बढ्ने घोषणा गर्दै एन्फामा फर्केका छन् ।

सोमबारको बैठकले एन्फा फर्केका तुलाधरलाई जिम्मेवारी तोक्ने आकलन छ । संस्थापन पक्षले तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत अर्थात सीईओको प्रस्ताव गरेको श्रोतको दाबी छ ।

कुनै उथलपुथल नभएमा र तुलाधरले स्वीकार गरेमा भोलि सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले उनलाई सीईओ नियुक्त गर्ने छ । एन्फाले सदस्यहरुलाई पठाएको बैठकका १८ बुँदे एजेण्डामा एउटा विषय कर्मचारी थप घट र व्यवस्थापन सम्बन्धमा भन्ने पनि छ ।

संकटा क्लबका अध्यक्ष समेत रहेका तुलाधरले यसअघि एन्फाको सीईओ भएर काम गरिसकेका छन् ।

एन्फा महासचिव किरण राईसँग संयुक्त रुपमा शनिबार गरेको पत्रकार सम्मेलनमा तुलाधरले आफूले पाउने जिम्मेवारीका बारेमा केही खुलाएका थिनन् । उनले भूमिका बिना आफू नफर्कने प्रष्ट पार्दै केही भूमिका पाउने संकेत भने गरेका थिए । उनले भने, ‘भूमिका बिना त कसरी काम गर्ने र ?’

तुलाधर निकट एक केन्द्रीय सदस्यका अनुसार उनलाई संस्थापन पक्षले सीईओ बन्ने प्रस्ताव गरेको छ । जसलाइ संस्थापन निकट स्रोतले पनि पुष्टि गरेको छ । ‘सिईओ बनाउने सहमति अनुसार नै उहाँ आउनु भएको हो’, स्रोतले भन्यो ।

कर्मा छिरिङ शेर्पाको अघिल्लो कार्यसमितिमा तुलाधर महासचिव थिए । उनलाई अहिलेका महासिचव किरण राईकै सरह तलब सुविधा दिने तयारी छ । सीईओले पाउने तलब सुविधा केन्द्रीय समिति बैठकले नै तय गर्ने छ ।

सीईओ नियुक्ति तथा तलब भत्ता र सेवा सुविधामा विवाद भएमा सीईओ नबनी एशियाली फुटबल महासंघ एएफसी वा दक्षिण एसियाली फुटबल महासंघ साफमा दाबी गर्ने विकल्प तुलाधरसँग छ ।

२०६३ सालदेखि लगातार एन्फामा कुनै न कुनै भूमिकामा रहेका तुलाधर २०७९ असारमा भएको निर्वाचनमा कर्मा छिरिङको प्यानलमा थिए । तर कर्मा छिरिङ अध्यक्षमा पंकज विक्रम नेम्वाङसँग पराजित भएपछि तुलाधारको एन्फाबाट बहिर्गमन भयो ।

हेटौंडाबाटै मोडेका थिए बाटो

शनिबारको पत्रकार सम्मेलनबाटै तुलाधरको कर्मा छिरिङ शेर्पासँग ब्रेक अप भएको र पंकज विक्रम नेम्वाङसँग प्याच अप भएको पुष्टि भयो । यो प्याच अपको आधार भने कात्तिकमा हेटौंडामा भएको विशेष साधारण सभाले नै तय गरेको थियो ।

तुलाधरसहित कर्माछिरिङ समूहले २५ भदौमा एन्फाले नेतृत्वले काम गर्न सकेन भनेर बर्खास्त गर्नुपर्ने प्रस्ताव दर्ता गराएका थिए । तर हेटौंडामा २३ कात्तिकमा भएको विशेष साधारण सभासम्म आइपुग्दा त्यो समूह एक ढिक्का रहन सकेन ।

नेम्वाङलाई हटाउनुपर्छ भन्ने एजेण्डामा कर्मा छिरिङ शेर्पाले नै मतदान बहिस्कार गरेका थिए भने तुलाधरले बहिस्कार गर्नुहुन्न भनेका थिए । त्यो साधाण सभाबाट नै आफूहरु फरक मतका रुपमा आएको तुलाधर बताउँछन् ।

‘हामी आफैंले माग गरेको विशेष साधारण सभाको मतदान बहिस्कार गर्न हुन्न भन्नेमा म थिएँ । तर सबैलाई मनाउन सकिएन । उहाँहरु अदालत, अख्तियारमा जानुभएको सुनेँ । त्यस विषयमा मसँग सल्लाह गर्नुभएन’, शेर्पा समूहसँग अलग हुने कारणबारे तुलाधरले भने । आफ्ना कतिपय साथीहरुले भने मतदानमा भाग लिएको पनि उनले बताए ।

कर्मा समूहका अधिकांशले मतदान बहिस्कार गरे पनि त्यो विशेष साधारण सभामा बहुमत पक्ष नेम्वाङलाई अध्यक्षबाट हटाउन हुँदैन भन्नेमा रह्यो । तुलाधरले हेटौंडाको साधारण सभाले एउटा मत दिएको र अब सबै मिलेर जानुपर्ने बताए । ‘विवाद गरेर मात्र हुँदैन । साधारण सभाले एउटा निष्कर्ष निकालेको छ त्यसलाई मानेर अघि बढ्नुपर्छ ।’

तुलाधरले विगतमा आफैँ नेतृत्व लिने प्रयास गरे पनि सफल हुन नसकेपछि एकातिर लाग्नुपरेको स्वीकार गरे । ‘कि लिड गर्नुपर्‍यो, कि फलो गर्नु पर्‍यो । नत्र आउट हुनपर्‍यो ।’

आफूलाई तेस्रो शक्तिको रुपमा दाबी गर्दै तुलाधरले कुनै एउटा पक्षसँग मिल्नुको विकल्प नभएको बताए । तेस्रो शक्तिको दाबी गर्ने उनीसँग केही क्लबहरुको साथ रहेको आकलन छ ।

कर्मा छिरिङ शेर्पाले जसलाई हटाउन भनेर लागेर उसैको टिममा गएको भन्दै तुलाधरको बारेमा आफूले केही नभन्ने बताए । ‘रेल कुदिरहन्छन् । त्यसको बीच बीचमा मान्छेहरु झरिरहन्छन् । यसले खासै केही हुँदैन’,  शेर्पाले भने ।

आफूहरुले तुलाधरलाई नै अबको अध्यक्ष बनाउने योजना अनुसार काम गरेको तर उनी नै सीओई बन्न गएकोमा दुख लागेको शेर्पाले बताए ।

कन्ट्रोल फण्डिङ फुकाउन पहल गर्ने

इन्द्रमान तुलाधरले आफू एन्फामा फर्किएपछि सुरुमा एन्फामाथि लागेको कन्ट्रोल फण्डिङ हटाउन पहल गर्ने बताएका छन् ।

पंकज विक्रम नेम्बाङले आफू अध्यक्ष निर्वाचित हुनुअघि नै एन्फामा कन्ट्रोल फण्डिङ रहेको बताउने गरेका छन् । कन्ट्रोल फन्डिङ हुनु भनेको एन्फाले गर्ने सबै खर्च फिफाको खटनपटन र निगरानीमा हुनु हो । फिफाको निगरानी र तोकेको बजेटमा काम गर्नु पर्दा एन्फालाई कन्ट्रोल फण्डिङले असर गरेको छ ।

‘मेरो पहिलो पहल नै कन्ट्रोल फण्डिङ हटाउन पहल गर्नु हुनेछ’, तुलाधरले भने, ‘मैले अन्तर्राष्ट्रिय ‘ल’ र बजार पढेको छु । त्यसको नियम के हुन सक्छ भनेर जानकारी पनि राख्छु । त्यही भएर कन्ट्रोल फण्डिङ हटाउनका लागि कन्भिस गर्छु जस्तो लाग्छ ।’

एन्फा महासचिव किरण राईले आफूहरु आएदेखि नै कन्ट्रोल फण्डिङ हटाउन पहल गरिरहेको बताए । ‘हामी आएदेखि हटाउन लागिरहेका छौं । यो हटाउन फिफाको गाइडलाइन्स अनुसार काम गर्नुपर्छ र त्यही अनुसार गरिरहेका छौं । कन्ट्रोल फण्डिङले ‘पुनिस’ मात्र गरेको छैन सिकाइ पनि गराएको छ ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?