+
+
मनोगत :

तस्कर–माफिया, भ्रष्टाचारीको मुटु !

ऊ हरेक दिन चितामा जलाइँदै गरेका लासहरू हेर्थ्यो अनि कालो विगतप्रति पश्चात्तापग्रस्त हुन्थ्यो ।

प्रकाश तिवारी प्रकाश तिवारी
२०८० पुष ७ गते १९:१७

भेटिनु अनि छुट्टिनु, मिलन हुनु अनि विछोडिनु । यो नै संसारको नियम हो । तर कति भेट अन्तिम जस्ता लाग्दालाग्दै अन्तिम हुँदैनन् । कति फेरि भेटिन्छन् भन्दाभन्दै कहिल्यै भेटिंदैनन् । प्रथम भनिएको भेट अन्तिम बन्न सक्छ । अब हाम्रो भेटै हुन्न भनिएकासँग पुनर्मिलन हुनसक्छ ।

विरक्त पनि त्यस दिन फेरि फर्की नआउने बाचाका साथ घरबाट निस्केको थियो । ऊ कहाँ जाँदै थियो ? त्यसको सुइँको श्रीमती, छोरा–छोरीलाई समेत थिएन । त्यसो त ऊ अदालतमा विचाराधीन भ्रष्टाचार मुद्दाबाट आतंकित थियो । ऊ एक घण्टा लामो पैदल यात्रापछि अजंगको रूखमुनि पुगेर रोकियो ।

विरक्तले रूखमुनि उभिएर हाँगाबिंगाहरूको मिहिन निरीक्षण गर्‍यो । अनि साथमा लगेको डोरीलाई प्रेमसाथ सुम्सुम्यायो । ओल्टाईपल्टाई म्वाइँ खायो । तब ऊ रूख चढ्न अघि बढ्यो । विरक्त शीघ्रातिशीघ्र संसारबाट सदाका निम्ति बिदा हुन चाहन्थ्यो ।

विरक्त रूख चढ्न आरम्भ गर्दैथियो, ‘मनुवा ! रूख चढ्नु पहिले मकहाँ आऊ । मेरा सवालको सत्यतथ्य जवाफ देऊ ।’ उसको कानमा यस किसिमका वाक्यहरू प्रतिध्वनित भए ।

विरक्त आवाजको दिशातिर मोडियो र हेर्‍यो । उसको दृष्टि देव मुकुट पहिरिएको एक जनामाथि पर्‍यो । जसको भेषभुषा आम मानिसभन्दा पृथक् देखिन्थ्यो । ऊ विरक्तलाई घुरेर हेरिरहेको थियो ।

‘को हौ तिमी ?’ विरक्तले उक्त मानिसलाई सोध्यो ।

‘म चित्रगुप्तको वंशज विचित्रगुप्त ! अर्थात् मर्त्यलोकवासीको पाप पुण्यको बहीखाता अद्यावधिक गर्ने अधिकारी ! मलाई जिजु–बराजु चित्रगुप्तले उहाँमा निहित अधिकार प्रत्यायोजन गर्नुभएको छ । म मृत्युको मुखमा पुगेका या पुग्न चाहेका मानिसहरूसँग अन्तरंग वार्तालाप गर्छु । वार्ताबाट उद्घाटित तथ्य बमोजिम पाप–धर्मको बहीखाता तयार पार्छु । मृत्युदेव मैले गर्ने सिफारिशका आधारमा स्वर्ग–नर्कको निर्णय लिनुहुन्छ’, विचित्रगुप्तले भन्यो ।

तर विरक्तलाई उसका कुरा पत्यार लागेन । विरक्त विचित्रगुप्तलाई छली व्यक्ति हुनसक्ने अनुमान लगाइरहेको थियो । यसर्थ ऊ विचित्रगुप्तको भनाइको वास्तै नगरी पुनः रूख चढ्न तम्सियो । त्यति नै बेला ऊभन्दा केही फिटको दूरीमा डरलाग्दो कालो सर्प देखापर्‍यो । सर्प विरक्तलाई हेर्दै फँणा उठाइरहेको थियो ।

‘फँणा उठाइरहेको कालो सर्प तेरो लागि अन्तिम चेतावनी हो । अब विना विलम्ब मकहाँ आइज । तँ को होस् ? किन आइस् ? जीवनमा के कस्ता कर्महरू गरिस् ? नढाँटी बता । अन्यथा तेरो मृत्यु घोर कष्टदायक हुनेछ’, विचित्रगुप्तले कड्किंदै भन्यो ।

अब भने विरक्तको होशहवास उड्यो । ऊ थर्थर काम्न थाल्यो । उसमा विचित्रगुप्तको आदेश पालना गर्नुको विकल्प रहेन । विरक्त डराई–डराई विचित्रगुप्त नजिक गयो अनि दुई हात जोड्दै जीवनकथा वाचन गर्न सुरु गर्‍यो –

‘… मेरो जन्म हिमालय पर्वतको दक्षिणमा अवस्थित पहाडी भूभागमा भएको हो । मेरो बाल्यकाल खर–बाँसले बनेको झुपडीमा बित्यो । म एउटा गरीब बाबुको सन्तान हुँ ।

मेरो मस्तिष्कमा दश–बाह्र वर्षको उमेरदेखि राजनैतिक चेतना भरिन सुरु गर्‍यो । अठार वर्षको पुग्दा दलको संगठित सदस्य भएँ । लगत्तै क्रान्तिको झण्डा उठाई शोषणविहीन, विभेदविहीन समाजवादी व्यवस्था स्थापनाको कसम खाएँ । कसम मात्र होइन, संघर्षको मोर्चामै होमिएँ । कैयौं वर्ष भूमिगत जीवन बिताएँ । एक दशकभन्दा बढी जेल बसें । त्योभन्दा पनि महत्वपूर्ण कुरा, तानाशाही शासन उन्मूलनका निमित्त हतियारबन्द संघर्ष गरें ।

यस्तैमा संविधानसभा मार्फत संविधान बनाउने सात दशक पुरानो सपना साकार भयो । अर्थात् हामी देशमा लोकतन्त्र स्थापना गर्न सफल भयौं । लोकतन्त्र बहालीपछिको एउटा निर्वाचनमा हाम्रो पार्टीले भारी बहुमत ल्यायो । दलले एकमना सरकारको नेतृत्व गर्ने अवसर पायो । पार्टीले मलाई विभागीय मन्त्रीको जिम्मेवारी सुम्पियो ।’

यसप्रकार विरक्त भन्दै जान्थ्यो, विचित्रगुप्त उसले भनेका कुरा नोट गर्दै जान्थ्यो । आवश्यक देखेको ठाउँमा थप सोधपुछ पनि गर्दथ्यो ।

विरक्त भन्दै गयो– ‘मन्त्री पदको शपथ लिंदाको दिन अहिले पनि याद छ मलाई । मेरो निवासमा रातको बाह्र बजेसम्म खादा–माला सहित बधाई दिन आउनेहरूको मेला लागेको थियो । त्यो क्रम डेढ महिना पछिसम्मै चल्यो । भेट्न आउने सबै केही न केही बोकेर आएका हुन्थे । कतिपय भद्रभलाद्मी गहकिलो ब्रिफकेश सहित उपस्थित हुन्थे । महँगा रक्सी नाथे त कति आए कति ! त्यसैमा नुहाए पनि पुग्ने । मन्त्री निवास उपहारका सामान थन्क्याउन साँघुरो थियो ।’

‘मन्त्री पदमा रहेर कति ब्रिफकेश बुझ्नुभो त ?’

‘…लाखको लेनदेन हुँदैनथ्यो भन्दा हुन्छ । एकै डिलमा करोडौं हान्थें म । पैसा जाबो त आकाशबाट पानी वर्षे जस्तो थियो ! मन्त्री बनेको वर्ष दिनमा अर्ब हाराहारी हानें होला । पैसा र चाकरीले अभिमान बढाइदिंदोरहेछ । लुटको धन फुपूको श्राद्ध ! मोजमस्ती धीतमरुन्जेल गरियो । हप्तामा दुई–चार सुन्दरीसँगको बस–उठ मेरा लागि सामान्य थियो । त्यो पनि स्टार होटलमा । आफूले खर्च व्यहोर्नुपर्ने भए पो !’

विरक्तले बोल्दाबोल्दै लामो सास फेर्‍यो । अनि जीवनकथालाई पूर्ववत् अघि बढायो–

‘किन्तु समय सबैभन्दा बलवान् रहेछ । भनाइ नै छ, समय–समय कि बात, मुर्गी मारे लात ! मन्त्री बनेको डेढ वर्ष पुग्नै लाग्दा दलले मलाई मन्त्रीको जिम्मेवारीबाट हटायो । झण्डावाल गाडी बुझाउन भ्याएको थिइनँ, मविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको समाचार बाहिरियो । म आम सञ्चारमाध्यमको आँखा छल्दै अदालत पुगें । कठघरामा उभिएर बयान दिएँ ।’

‘सत्तामा बसेर कति हसुर्नुभयो ? डकैतीको रकम नेपालमै छ कि विदेश दगुरिसक्यो ? आफ्नै दाजुभाइ–दिदीबहिनीलाई शरणार्थीको झुटो बिल्ला लगाई अमेरिका पठाउँदा मन कटक्क खाएन ? तपाईंलाई मानव तस्कर भन्दा के फरक पर्छ ? भ्रष्टाचारी जोगाउने विषयमा सर्वदलीय सहमति हुन्छ भन्ने सुनेको थिएँ, साँचो के हो ? केके केके ! विपक्षी वकिलले र्‍याखर्‍याखी पारे । पुस महिनाको ठण्डीमा तालुबाट पसिना छुट्न थाल्यो । जन दबाब थेगिनसक्नु छ । चाहेर पनि मुद्दा जिताउने हिम्मत कसैले गर्न सक्दैन । जो अघिसर्‍यो । त्यो वैतरणी तर्‍यो !’ मेरै वकिलले त्यसो भनेपछि म खङ्ग्य्राङ्खुङ्ग्रुङ बनें । ज्यूँदो लाससरी भएँ ।

तब मैले दुई वटा विकल्प देखें– ‘आजीवन तस्कर, माफिया, भ्रष्टाचारीको ट्रेडमार्क बनेर बाँच्ने या अदालतले भ्रष्टाचारी ठहर गरी जेल सजाय तोक्नुअघि आत्महत्या गर्ने ! मलाई आत्महत्याको विकल्प सर्वोत्तम लाग्यो । म तत्क्षण बजार गएँ र यो डोरी किनेर ल्याएँ । यतिखेर म त्यही डोरीको पासो लगाएर मर्न आएको हुँ … !’ डोरी देखाउँदै विरक्तले सुनायो ।

विचित्रगुप्त उसको भनाइप्रति पूर्ण विश्वस्त हुन सकिरहेको थिएन । उसले विरक्तको अपराधकर्ममाथि थप अनुसन्धान गर्न चाह्यो । ऊसँग व्यक्तिको रगतमा भ्रष्ट–आचार एवं अपराध कर्मको सघनता के–कति छ भनी मापन गर्ने अत्याधुनिक यन्त्र थियो । विचित्रगुप्तले उक्त यन्त्र विरक्तलाई दियो र एक मिनेट दायाँ हातले समाइराख्न भन्यो ।

केहीबेरमा परिणाम आयो । विरक्तको रगतमा कबुल गरेभन्दा चार गुणा बढी आपराधिक सघनताको सङ्केत देखापर्‍यो । जसले ऊ बताएभन्दा कैयौं गुणा भ्रष्ट वा आपराधिक मनोवृत्तिको मान्छे हो भन्ने प्रमाणित गर्दथ्यो ।

‘तँ भ्रष्टाचार, दुराचार र पापाचारको पहाड रहेछस् । तेरो रगत सिगरेटको धुवाँभन्दा बढी विषाक्त छ । तँभित्रको प्रदूषण पहाड भन्दा गह्रुंगो छ । तेरो बोझ यस रूखका कुनै पनि हाँगाले थाम्न सक्ने छैनन् । तँ जस्ता पापी–अपराधीलाई म स्वर्ग त परैजाओस् नर्कको समेत सिफारिश गर्न सक्दिनँ ।

हैन मर्छु नै भन्छस् भने एक उपाय छ । यहाँबाट चार सय मिटरको दूरीमा एउटा हिमनदी छ । तँ यहाँबाट सरासर उक्त हिमनदीमा जा । अनि नदीको पानीमा घाँटीसम्म आउने गरी डुबेर आफ्ना कुकर्मप्रति नेपालआमासँग क्षमायाचना गर् । त्यो काम देखावटीका लागि गर्ने छुट तँलाइ हुने छैन । त्यसो गरेको चाल पाएँ भने मैले जत्तिको नराम्रो कोही हुने छैन’, विचित्रगुप्तले कडा चेतावनी दियो ।

विरक्तले विचित्रगुप्तको आदेश पालना गर्नुको विकल्प देखेन । ऊ विचित्रगुप्तले भने अनुसार हिमनदीमा गयो र घाँटीसम्म आउने गरी नदीको पानीमा बस्यो । त्यसपछि आफू भ्रष्टाचारजन्य कसुरहरूको अक्षम्य अपराधी भएको स्वीकार गर्‍यो । आम–भेला बोलाएर अवैध ढंगले आर्जित तमाम धनसम्पत्ति राज्यलाई फिर्ता गर्ने उद्घोष गर्‍यो । अनि आइन्दा कहिल्यै आत्महत्याको बाटोमा नहिंड्ने कसम खायो ।

विरक्तको प्रतिज्ञा देखेर विचित्रगुप्त अत्यन्त खुशी भयो । उसले विरक्तको आत्मस्वीकारोक्ति र उसमा आएको सकारात्मक परिवर्तनका निमित्त नदीमै पुगेर धन्यवाद दियो ।

यसप्रकार, ‘अब हाम्रो भेट हुन्न’ भनी बिदावारी भएको व्यक्ति पुनः भेटिए जस्तै रूखमा पासो लगाएर मर्ने वाचासहित हिंडेको विरक्त घर फर्कियो । अनि घर फर्केको तेस्रो दिन आम–भेला बोलायो । भेलामा उसले आफूलाई नेपाल राष्ट्रको दुश्मन स्वीकार गर्‍यो । अवैध ढंगले आर्जन गरेको धनसम्पत्ति राज्यलाई फिर्ता गर्ने कसम खायो । साथै जिन्दगीका बाँकी दिन राग–द्वेष, लोभ, मोहरहित भई पाशुपत क्षेत्रमा बिताउने प्रतिज्ञा सुनायो ।

विरक्तका त्यसपछिका दिनहरू पाशुपत क्षेत्रमा बित्न थाले । आर्यघाट उसका निम्ति जीवनको क्षणभंगुरता अवलोकन गर्ने उपयुक्त स्थल बन्न पुग्यो । ऊ हरेक दिन चितामा जलाइँदै गरेका लासहरू हेथ्र्यो अनि कालो विगतप्रति पश्चात्तापग्रस्त हुन्थ्यो ।

एक दिन आर्यघाटमा विरलै घट्ने घटना घट्यो । त्यस रात पाशुपत क्षेत्र बाहिर अन्डरवर्ल्ठका प्रतिस्पर्धी समूहबीच गोली हानाहान भयो । दोहोरो फायरिङमा परी एक खुंखार माफिया मारियो ।

मारिएको केही घण्टामा उसको लास दाहसंस्कारका निम्ति आर्यघाट पुर्‍याइयो । आर्यघाटमा उसको विधिपूर्वक अग्निदहन सुरु भयो । किन्तु आठ–नौ घण्टाको अथक् प्रयासका बाबजुद मृतकको लास पूर्ण रूपमा जल्न सकेन ।

अथवा यसो भनौं, शरीरको अन्य भाग जले पनि उसको मुटुले मरिगए जल्न मानेन । मलामीहरूले मुटु जलाएर खरानी बनाउन तेजाव खन्याए । बाल्टिनका बाल्टिन घिउ होमे । तर माफियाको मुटु किञ्चित जलेन ।

उक्त दृश्य लामा–लामा दाह्री–कपाल, मैलोधैलो शरीर भएको, फाटेको लुगा लगाएको एक जना मानिसले सूक्ष्म ढंगले नियालिरहेको थियो । ऊ चितातिर हेर्दै फलाक्न थाल्यो –

‘जल्दैन । जल्दैन । किमार्थ जल्दैन । तस्कर, माफिया, भ्रष्टाचारीको मुटु रत्तिभर बल्दैन । तस्कर, माफिया, भ्रष्टाचारीको मुटु पत्थरले बनेको हुन्छ । रगत–मासुको मुटु हुनेले आफ्नै दाजुभाइ बेच्दैन । मान्छेको व्यापार गर्दैन ! त्यसैले त्यस दुष्टको मुटुलाई चिताबाट निकालेर पर लैजाऊ । खाल्डो खनेर माटोले पुर । त्यसको मुटुलाई बागमतीको पानीमा फाल्ने गल्ती कदापि नगर्नू । त्यसले जलचरहरूको दुनियाँमा महामारी फैलाउनेछ !’ ऊ फलाकिरहेको थियो ।

लेखकको बारेमा
प्रकाश तिवारी

उपन्यास, समालोचनाका साथै प्रशस्तै कथा, लेख, निबन्ध, कविता प्रकाशित रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?