+
+

जाजरकोटमा राहत सामग्री सजिलो ठाउँमा मात्र केन्द्रित   

रासस रासस
२०८० पुष २ गते १५:१६

२ पुस, जाजरकोट । गत कात्तिक १७ गते आएको भूकम्पबाट जनधनको क्षति भएका ठाउँमा सहयोगका लागि गरिएका प्रयास सजिलो ठाउँमा बढी केन्द्रित भएको आरोप लागेको छ । दुर्गमभन्दा सुगममा मात्र सहयोगी निकाय केन्द्रित भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

सबैभन्दा बढी चिसो तथा दुर्गम पालिका बारेकोट भए पनि राहत वितरण तथा अस्थायी आवास निर्माणमा समेत पक्षपात भएको अध्यक्ष गिरीको आरोप छ । भूकम्पको केन्द्रबिन्दु बारेकोट–१ रामीडाँडामा रहेको थियो ।

मानवीय क्षति नभए पनि भौतिक क्षति बारेकोटमा व्यापक भएको जनाउँदै गिरीले राहत वितरण कार्य सुगममा मात्र केन्द्रित हुँदा आफूहरु हैरान भएको जानकारी दिए ।

उनका अनुसार अधिकांश पीडित त्रिपालभन्दा बाहिर रहेका छन् । राज्यबाटसमेत राहत वितरणमा बारेकोटलाई भेदभाव गरिएको उनको आरोप छ । वर्षायाम लाग्नेबित्तिकै बारेकोटमा ठूलो समस्या आउने उनी बताउँछन् । पाँच हजार पाँच सय ८६ अस्थायी टहरा निर्माण गर्नुपर्नेमा बारेकोटमा हालसम्म एक सय ५० मात्र निर्माण भएका छन् ।

उनका अनुसार आर्थिकरुपमा कमाउन जाने जनशक्ति अस्थायी आवास निर्माणको कामदेखि अन्य काममा लाग्दा घरको आर्थिक भार कसरी समाधान होला भन्ने ठूलो चिन्ता बढेको छ । विद्यालय सञ्चालन गर्नका लागि टेन्ट ल्याएर राखिएको भए पनि त्यसमा प्रयोग हुने अन्य सामान नहुँदा हैरानी भएको अध्यक्ष गिरीले बताए ।

भूकम्प गएको ४५ दिन पूरा हुँदासम्म अस्थायी आवासदेखि विद्यालयमा अस्थायी संरचना निर्माण हुन नसक्नु विडम्बना भएको पीडितहरु बताउँछन् । प्रदेश सरकारले सार्वजनिक संरचना निर्माण गर्ने भनि गरिएको कार्यसमेत अहिलेसम्म सुरु भएको छैन ।

खानेपानी, सिँचाइ, भवन, स्वास्थ्य कार्यालय, प्रहरी कार्यालय सबै सार्वजनिक निकायको पुनःनिर्माण प्रदेश सरकारले बनाउने आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले बताए पनि त्यो कार्य अझै सुरु भएको छैन । प्राविधिक भूकम्पबाट क्षति भएको ठाउँमा गएर मूल्याङ्कन गरी पूर्ण निर्माणका लागि लगत सङ्कलन गर्नुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।

भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माणदेखि अस्थायी आवास निर्माणमा समेत आफ्नो भूमिका खोजेको प्रदेश सरकारले आफूले लिएको जिम्मेवारीसमेत बहन गर्न नसकेको आरोप लागेको छ ।

रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले निर्माण गरिएका अस्थायी आवासमा शौचालय नहुँदा समस्या भएको बताए । विद्यालय पूर्णरुपमा सञ्चालन गर्न अन्य व्यवस्थापनको पनि समस्या भएको उनको भनाइ छ ।

मङ्सिरभित्र अस्थायी आवास निर्माण गरिसक्ने भनिए पनि पुस लागिसक्दा २० प्रतिशत पनि काम नहुँदा सर्वसाधारण चिसोले हैरानी खेपिरहेका छन् । चिसो बढे पनि अस्थायी आवासका लागि रकम नआएको भन्दै नलगाड नगरपालिका–४ का हरि रावलले आक्रोश व्यक्त गरे ।

मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद्को निर्णयले जाजरकोट भूकम्पबाट प्रभावितको अस्थायी आवास निर्माणका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बललाई खटाउने निर्णय गरे पनि अहिलेसम्म सुरक्षा निकाय अस्थायी आवास निर्माणमा परिचालित हुन सकिरहेका छैनन् ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सेना, प्रहरी र सशस्त्रलाई परिचालन गर्नका लागि तयारी भइरहेको बताए । त्यसका लागि कुन ठाउँमा कति टोली खटाउने, कस्तो जनशक्ति खटाउने र सामग्रीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?