+
+

चाडबाड लगत्तै ह्वात्तै बढे विदेशिने नेपाली

अच्युत पुरी अच्युत पुरी
२०८० पुष ३ गते २०:१५

३ पुस, काठमाडौं । नेपालमा चाडबाड सकिएसँगै विदेश जाने नेपालीको संख्या ह्वात्तै बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या ७१ हजार २७६ पुगेको छ । जुन चालु आव २०८०/८१ को एक महिनामा विदेशिएका नेपालीको सर्वाधिक संख्या हो । यो मंसिरमा अघिल्लो वर्षको यसै महिनामा भन्दा पनि धेरै नेपालीले आफ्नो गन्तव्य विदेश बनाएका छन् ।

२०७९ मंसिरमा ६८ हजार ५६४ जना नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका थिए । यस वर्ष असोजमा ५६ हजार २३५ र कात्तिकमा ४३ हजार ६२२ नेपालीले श्रम स्वीकृति लिएका थिए । यी दुई महिना मूख्य चाडबाडको सिजन मानिन्छ । त्यसलगत्तै झण्डै दोब्बर संख्यामा नेपाली विदेशिएका छन् ।

मंसिरमा मात्र ६ हजार ९३४ जना महिला कामको खोजीमा विदेशिएका छन् । यो महिनामा नयाँ श्रम स्वीकृति मात्र ३६ हजार ८० वटा जारी भएको छ । मंसिरमा विदेशिनेमध्ये धेरैजसो नेपाली तराईका जिल्लाका छन् । धनुषबाट ३६ सय २१, झापाबाट ३३ सय ९७, मोरङबाट ३१ सय २ र रुपन्देहीबाट २३ सय ९ जना विदेश गएका छन् ।

५ महिनामा विदेशिए पौने ३ लाख नेपाली

चालु आवको पहिलो पाँच महिनामा पौने ३ लाख नेपाली कामको खोजिमा विदेशिएका छन् । तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म कुल २ लाख ७७ हजार ५९२ जना नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।

गत आवको यसै अवधिको तुलनामा भने विदेशीनेको संख्या केही कम भएको छ । गत वर्ष ५ महिनामा ३ लाख ३९ हजार ८२ जना नेपाली कामको खोजिमा विदेशिएका थिए ।

मंसिरसम्म कति नेपाली विदेशिए ?

मुलुक आव २०७९/८० २०८०/८१
साउन ६३,०३९ ५५,५७५
भदौ ७६,४०३ ५०,८८४
असोज ६२,७०६ ५६,२३५
कात्तिक ७८,३७० ४३,६२२
मंसिर ६८,५६४ ७१,२७६

यूएई जाने दोब्बर

मंसिर महिनामा धेरै नेपालीले यूनाइटेड अरब इमिरेट्सलाई मूख्य गन्तव्य बनाएका छन् । मंसिरमा १८ हजार ४९३ जना नेपालीले यो मुलुकका लागि नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । गत वर्षका मंसिरको तुलनामा यो झण्डै दोब्बर हो । सो वर्ष मंसिरमा १० हजार १६१ जना मात्र यूएई गएका थिए ।

मंसिरमा कतार जानेको संख्या १४ हजार १५२ जना रहेको छ । साउदी अरवमा १३ हजार ९८३ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । मलेसियामा यस महिनामा ९ हजार ७७५ जना नेपालीले श्रम श्रम स्वीकति लिएको तथ्यांक छ । श्रम स्वीकृति लिएर जापान जानेको संख्या १५ सय २८ रहेको छ । कुवेतमा ३ हजार ४५८ जनाले श्रम स्वीकृति लिएको तथ्यांक छ । कोरियामा भने १८ सय ४३ जना रोजगारीका लागि पुगेको तथ्यांक छ ।

रुसमा ४० र इजरायलमा ८५ जनालाई श्रम स्वीकृति

मंसिर महिनामा रुसका लागि ४० जनाले श्रम स्वीकृति लिएका छन् । इजरायलमा भने ८५ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । श्रम स्वीकृति लिएर चीन जानेको संख्या १९ जना रहेको छ । क्यानडामा ४५ जनाले श्रम स्वीकृति लिएको तथ्यांक छ । अफगानिस्थानका लागि ११३ जनाले श्रम स्वीकृति लिएका छन् ।

एक महिनामा साढे १३ हजार अदक्ष कामदार विदेशिए

नेपालले अझै पनि ठूलो संख्यामा अदक्ष कामदार विदेश पठाइरहेको पाइएको छ । मंसिर महिनामा मात्र १३ हजार ५९७ जना अदक्ष कामदार विदेश गएका छन् । जसमध्ये १९ सय ७२ जना महिला छन् । अर्धदक्ष कामदारको संख्या ५१ हजार ३४० रहेको छ । दक्ष कामदार ६ हजार १२८ जना छन् । व्यवसायिक व्यक्तिहरु १५९ जना र अतिदक्ष कामदार ५२ जना यो महिनामा विदेशिएको विभागको तथ्यांक छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?