+
+

काठमाडौंमा छापिएका रंगीन ब्लकको गुणस्तरमा प्रश्न

महानगरको पूर्वाधार विभागले गरेको परीक्षणमा पास भएका टायल शहरी योजना आयोगले गरेको परीक्षणमा गुणस्तरहीन भेटिएपछि शहरका सडकपेटीमा प्रयोग गरिएका टायलको गुणस्तरमा पनि प्रश्न उठेको छ ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० पुष ५ गते १९:०८
काठमाडौं प्लाजाको पार्किङमा प्रयोग गरिएका रंगीन ब्लक

५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालय भवन काठमाडौं प्लाजाको पार्किङमा प्रयोग गरेको रंगीन ब्लक (टायल)हरु गुणस्तरहीन पाइएको छ ।

महानगरपालिकाको शहरी योजना आयोगले गरेको अनुगमनमा गुणस्तरहीन ब्लकहरु प्रयोग भएको फेला परेको हो ।

महानगरपालिकाको शहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीले अनुगमनका क्रममा पार्किङमा प्रयोग भएका पहेँलो ब्लक निर्धारित गुणस्तरको नभएको फेला परेको जानकारी दिए ।

‘मजबुती परीक्षण गर्दा पहेँला ब्लकहरुमा समस्या भेटिएको सुनेको छु’, उनले भने, ‘रिपोर्ट हेरेर मात्रै विस्तृतमा भन्न सकिन्छ, तर हामीले त्यसलाई फेर्नुपर्छ भनेका छौं ।’

काठमाडौं प्लाजाको पार्किङमा बिछ्याइएका पहेँलो रंगकामध्ये ४० प्रतिशत टायल मजबुती परीक्षणमा ‘फेल’ भएको देखिएकाले नयाँ प्रयोग गर्न भनिएको आयोग स्रोतले जनाएको छ । यो टायल काठमाडौं प्लाजा मर्मत गरिरहेको पूर्णलक्ष्मी निर्माण सेवाले ल्याएको हो । महानगरपालिकाले काठमाडौं प्लाजा मर्मत गर्ने ठेक्का पूर्णलक्ष्मीलाई ३ करोड ५६ लाख रुपैयाँमा दिएको छ ।

निर्माणका क्रममा उच्च गुणस्तर कायम होस् भन्ने मेयर बालेन्द्र शाहको चाहनाअनुसार नै आयोगले अनुगमन गरिरहेको उपाध्यक्ष राजभण्डारी बताए । ब्लक उत्पादनका क्रममा गुणस्तर नियन्त्रण नहुँदा पनि कहिलेकाहीँ समस्या हुन सक्ने भन्दै उनले कतिपय ठाउँमा परीक्षण गर्दा समस्या देखिएको बताए । ‘गुणस्तरीय काम नभएको भए सच्याउनुपर्छ’, उनले भने, ‘हामी नियमित अनुगमन गर्छौं ।’

फुटपाथमा पनि प्रश्न

महानगरको पूर्वाधार विभागले गरेको परीक्षणमा पास भएका टायल शहरी योजना आयोगले गरेको परीक्षणमा गुणस्तरहीन भेटिएपछि शहरका सडकपेटीमा प्रयोग गरिएका टायलको गुणस्तरमा पनि प्रश्न उठेको छ । किनकी महानगरका योजनाहरुमा एकै उत्पादक कम्पनीले उत्पादन गरेका ब्लक प्रयोग भइरहेको छ ।

काठमाडौं महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख राम थापाका अनुसार रुपन्देहीको एसियन कंक्रिटो उद्योगबाट उत्पादित ब्लकहरु नै प्रयोग भइरहेको छ । महानगरले तोकेको गुणस्तरको ब्लक सोही उद्योगले मात्रै उत्पादन गर्ने गरेको उनको दाबी छ ।

विभाग प्रमुख थापाका अनुसार अहिले महानगरले सडक पेटीमा ‘एम ३५’ गुणस्तरको ६० मिलिमिटर मोटाइ भएको रंगीन ब्लक बिछ्याउने नीति लिएको छ । यस्तो ब्लक एसियन कंक्रिटोले नै उत्पादन गर्ने भनिए पनि अरु कम्पनीले पनि त्यही गुणस्तरमा उत्पादन गरिरहेको दाबी गरेका छन् ।

तर महानगरपालिकाले उक्त उद्योगको टायलप्रति आशंका गरेको छैन । ‘हामीले उद्योगमै गएर हेरेर आएका हौं’, विभागीय प्रमुख थापाले भने, ‘जर्मन गुणस्तरमा उत्पादन हुने ब्लकको त्यहाँको ल्याबमा हामीले नै परीक्षण गराएर हेरेका थियौं ।’

विद्यासुन्दर शाक्य मेयर हुँदादेखि नै महानगरले उक्त कम्पनीसँग काम गरिरहेको छ । यो वर्ष मात्रै महानगरपालिकाले फुटपाथ सुधार परियोजनामा करिब २ अर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएको छ र त्यसका लागि टायलहरु एसियन कंक्रिटोबाटै खरिद गर्ने महानगरको तयारी छ ।

महाराजगञ्ज र बालुवाटारमा फुटपाथमा बिछ्याउने क्रममा कतिपय ब्लकमा गुणस्तर कायम नभएको पाइएको विभागीय प्रमुख थापा बताउँछन् । ‘लट–लटमा नै नमुना परीक्षण गर्छौं, समस्या देखिए फिर्ता गर्छौं’, थापाले भने, ‘आयोगले जाँच्नु र हामीले जाँच्नु भनेको एउटै हो ।’

उत्पादनको गुणस्तरमा यस्तो पटक–पटक समस्या देखिंदा पनि उक्त कम्पनीका ब्लकलाई मात्रै प्रयोग गर्ने वातावरण बनाएर महानगरभित्र नीतिगत रुपमा अनियमितता भइरहेको स्रोतको दाबी छ ।

‘हाकिमहरु जिम्मेवार हुन्थे भने सो कम्पनीको ब्लक प्रयोगमा प्रतिबन्ध लागिसक्थ्यो’, एक इन्जिनियर भन्छन्, ‘तर, ब्लकको स्पेसिफिकेसनमा भित्रप् मिलेमतो नै छ ।’

सार्वजनिक निर्माण विभाग प्रमुख थापा भने नेपाल गुणस्तर चिह्न पाएको कम्पनीमाथि आशंका गर्ने अवस्था नरहेको बताउँछन् । ‘सिमेन्ट उद्योगको कुनै लटमा समस्या देखिए बजारबाट गुणस्तर विभागले फिर्ता लैजान भन्छ’, उनी भन्छन्, ‘तर उत्पादनमाथि नै प्रतिबन्ध लाग्दैन ।’

सडक विभागले समेत सोही टायल देशभर नै प्रयोग गरिरहेको छ ।

अनुगमन रोक्न कर्मचारी नै सक्रिय

महानगर स्रोतका अनुसार शहरी योजना आयोगले अनुगमन गर्दा बिछ्याइसकेको ब्लकमा समेत गुणस्तरको समस्या देखिने बुझेपछि आयोगमार्फत हुने अनुगमन रोक्न महानगरका कर्मचारीहरु नै सक्रिय भएका छन् ।

पूर्वाधार विभाग आफैंले र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी मातहतको अनुगमन एकाइबाट विभिन्न परियोजनाहरुमा अनुगमन गर्ने वातावरण बनाउन पत्रहरु बन्न थालेको उनीहरुको दाबी छ ।

प्रमुख प्रशासकीय अधिकृत स्वयंलाई पूर्वाधार परियोजनाको अनुगमनमा लैजान विभागका अधिकारीहरुले जोड दिइरहेका छन् ।

‘प्रमुख प्रशासकीय अधिकृत दैनिक कार्यसञ्चालक हो, उहाँको नेतृत्वमा पूर्वाधारको अनुगमनमा जानुको तुक छैन’, महानगरका एक अधिकारीले भने, ‘प्राविधिकले गर्नुपर्ने अनुगमनमा प्रशासकीय कर्मचारीले नेतृत्व गर्ने कुराले थप आशंका उब्जाएको छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?