+
+

प्रो क्लब च्याम्पियनसिप क्रिकेटमा आर्मीले पुलिसलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते २०:५४

५ पुस, काठमाडौं । वीरगञ्जमा बिहीबार सुरु भएको प्रो क्लब च्याम्पियनसिप क्रिकेटको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ८ विकेटले पराजित गरेको छ ।

वीरगञ्जको नारायणी रंगशालमा भएको खेलमा पुलिसले दिएको ५९ रनको सामान्य लक्ष्य आर्मीले ६.१ ओभरै २ विकेट गुमाएर पूरा गर्‍यो । आर्मीका लागि रोहित पौडेलले १४ बलमा सर्वाधिक २१ रन बनाए । नटआउट रहेका उनले १ चौका र २ छक्का प्रहार गरे ।

यस्तै ओपनर सन्तोष कार्कीले ११ बलमा २० रन जोडे । कप्तान विनोद भण्डारीले ११ बलमा नटआउट १४ रन बनाए । कुशल मल्ल २ रनमा आउट भए ।

पुलिसका लागि ललित राजवंशीले एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले आर्मीको स्पिनरहरु सामु खुलेर खेल्न नसक्दा १८.४ ओभरमा सबै विकेट गुमाएर ५८ रनमै अलआउट भयो ।

पुलिसका लागि नवौँ नम्बरमा ब्याटिङ गरेका करण केसीले सर्वाधिक १५ रन बनाए । उनले १६ बल खेल्दा १ छक्का प्रहार गरेका थिए । त्यो नै पुलिसको इनिङ्सको एक मात्र बाउन्ड्री थियो । पुलिसले अतिरिक्तबाट पनि १५ रन पाएको थियो ।

अमित श्रेष्ठले ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसलाई अलआउट गर्न आर्मीका स्पिनर मिलेर ६ विकेट लिए । जसमा शहाब आलमले ४ ओभरमा २ मेडन राख्दै ४ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै बसिर अहमदले ४ ओभरमा १२ रन खर्चेर २ तथा कुशल मल्लले ४ ओभरमा २ मेडन राख्दै ८ रन खर्चेर १ विकेट लिए ।

सोमपाल कामी र अविनाश कर्णले समान १ विकेट लिए ।

जोरा इन्टरनेशनलले पर्सा जिल्ला क्रिकेट संघसँगको सहकार्यमा आयोजना गरेको प्रो क्लब च्याम्पियनसिपमा नेपालमा ४ र भारतका दुई गरी ६ टोलीको सहभागि छ ।

सिंगल राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?