+
+

जाजरकोट भूकम्पपीडितका ११ हजार अस्थायी आवास निर्माण   

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १३:१९

१० पुस, काठमाडौं । जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये मंगलबारसम्म ११ हजार ३३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार ११८ घर निर्माणाधीन छन् ।

अहिले धमाधम अस्थायी आवासका लागि अनुदानबापतको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण गर्ने क्रम जारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार जाजरकोटमा पाँच हजार २०२, रुकुमपश्चिममा पाँच हजार ७९८, सल्यानमा १९३, बझाङमा १३ र बाजुरामा १३० घर निर्माण सम्पन्न भइसकेका छन् ।

पोखरेलले मंगलबारसम्म केन्द्रबाट अस्थायी आवासका लागि दुई अर्ब २६ करोड रकम जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइसकिएको जानकारी दिए । त्यसमध्ये एक अर्ब ५३ करोड रुपैयाँ जिल्लाबाट स्थानीय तहमा पुगिसकेको छ । स्थानीय तहबाट प्रक्रिया पुगेका लाभग्राहीको खातामा भने ५८ करोड ७८ लाख रुपैयाँ पठाइसकिएको उनले बताए ।

अहिलेसम्म जाजरकोटमा ३५ हजार १४०, रुकुमपश्चिममा २३ हजार ६०८, सल्यानमा एक हजार ७३०, बझाङमा चार हजार ५७६ र बाजुरामा दुई हजार ७२९ गरी कुल ६७ हजार ७८३ लाभग्राही कायम भएका छन् ।

अझै झण्डै ५० हजार लाभग्राहीसँग अनुदान सम्झौता हुन बाँकी रहेकाले त्यो काम जारी रहेको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले बताए । उनका अनुसार सुरुमा अस्थायी आवासका लागि सेवा लिने लाभग्राहीको सङ्ख्या गति कम भए पनि अहिले भने बढिरहेको छ ।

लाभग्राहीको पहिचान हुँदै गएकाले सङ्ख्या थपिने क्रम बढेको भन्दै लाभग्राहीको सङ्ख्या ८० हजार पुग्ने अनुमान गरी सोहीअनुसार तयारी भइरहेको पाण्डेले जानकारी दिए । उनका अनुसार ८० हजार लाभग्राही हुँदा उनीहरूको अस्थायी आवासका लागि रू चार अर्ब ७५ करोड लाग्ने भएकाले सोहीअनुसार बजेट व्यवस्थापनको तयारीमा प्राधिकरण लागेको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले जाजरकोटसहित रुकुमपश्चिम, सल्यान, बझाङ, बाजुरामा घरहरु भत्किएका छन् । भूकम्पमा परी १५० भन्दा धेरै मानिसको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?