+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

त्रिवि परीक्षा नियन्त्रकको गाडी पार्किङस्थलमा स्ववियुले लगायो ताला

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १८:२७

१२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियुले) विभिन्न माग राख्दै परीक्षा नियन्त्रण कार्यालयको गाडी पार्किङस्थलमा ताला लगाएको छ ।

स्ववियुले परीक्षा नियन्त्रकको गाडीको चावी माग्दा नदिइएपछि ताला लगाएको जनाएको छ । स्ववियु अध्यक्ष श्यामराज ओझा भन्छन् ‘उहाँहरु विश्वविद्यालयमा काम गर्न आएको हो र त्यो कामलाई प्रभावकारी बनाउन गाडी सुविधा दिइएको हो तर विश्वविद्यालय सुधार गर्न, विद्यार्थीलाई दिइने सेवा प्रवाहमा कुनै सुधार नआएकोले उहाँहरुको गाडी राखिएकै ठाउँमा ताला लगाइएको हो ।’

विद्यार्थीका मागहरू कार्यान्वयन नहुँदासम्म ताला नखोल्ने उनले बताए । स्ववियुले लिखित मागहरू बुझाएको तर स्ववियुको माग पूरा गर्न त्रिवि इच्छुक नदेखिएकाले आन्दोलनको स्वरूप परिवर्तन गर्दै त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको नाममा प्रयोग हुँदै आइरहेका सवारी साधनहरू चलाउन नदिने ओझाले बताए ।

स्ववियुले दश बुँदे माग राख्दै बुधबारदेखि आन्दोलन सुरु गरेको छ । स्ववियुले विज्ञप्ति जारी गर्दै त्रिवि, परीक्षा नियन्त्रण कार्यालयलाई सुधारसहित रूपान्तरण गर्ने उद्देश्यले रचनात्मक तथा सिर्जनात्मक अभ्यास मार्फत निर्णायक आन्दोलन सुरू गरेको जनाएको छ ।

स्ववियुले विज्ञप्तिमा भनेको छ ‘पछिल्लो समयमा परीक्षा नियन्त्रण कार्यालयको कार्यशैलीका कारण सेवाग्राही विद्यार्थीहरूको समस्या समाधान नभएको र विश्वविद्यालयको पदाधिकारी तथा नियन्त्रकले जिम्मेवारी बोध नगर्नुले विश्वविद्यालयप्रति नकारात्मक सन्देश फैलिएको छ ।’

स्ववियुले विश्वविद्यालय रूपान्तरणको अभियानमा सहयोग गरिदिन देशभरकोे स्ववियुलाई अनुरोध समेत गरेको छ । त्रिवि स्ववियुको अनुरोधलाई स्वीकार्दै विभिन्न जिल्ला तथा क्याम्पसका स्ववियु संगठनले ऐक्यवद्धता जनाएका छन् । स्ववियुको आन्दोलनले विश्वविद्यालयबाट प्रवाह हुने सेवाहरूमा कुनैपनि बाधा सिर्जना नहुने समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?