+
+

बिहे खर्च कटाएर गाउँमै निःशुल्क स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते ६:५८

१५ पुस, गुल्मी । गुल्मीका एक युवाले आफ्नो विवाहको खर्च रकम कटाएर गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका- ३ भाँडगाउँका मोहन बस्नेतले बिहेको भोज खर्च कटाएर गाउँमै विशेषज्ञ चिकित्सकसहितको एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका हुन् ।

सुगर, प्रेसर, थाइराइड, दम, ग्याष्टीलगायतका समस्यामा रहेकी पम्फी विश्वकर्माले गाउँमा राखिएको स्वास्थ्य शिविरले लाभ मिलेको बताइन ।

निःशुल्क स्वास्थ्य शिविरमा भाँडागाँउका वडाकासँगै सदरमुकाम तम्घास र अन्य ठाउँबाट समेतका मानिसहरुको सहभागिता रहेको थियो ।

बिहेको भोजमा फजुल खर्च गर्नुभन्दा मानव सेवामा खर्च गर्नु उचित हुने भएकाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको सञ्चारकर्मीसमेत रहेका मोहन बस्नेतले बताए ।

गत मंसिर १३ गते विवाह गरेका बस्नेतले विवाहलाई भडि्कलो नबनाइ थोरै रकम भए पनि मानवीय सेवामा लगाएको बताए ।

शिविरमा लुम्िबनी प्रादेशिक अस्पताल बुटवलका स्त्रीरोग विशेषज्ञ डाक्टर नवीन तिरुवा, कन्सल्टेन फिजिसियन डाक्टर शम्भु खनाल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रमेश अर्याल र टाउको तथा मनोरोग विशेषज्ञ डाक्टर आशिम रेग्मीसहितले सेवा प्रदान गरेका थिए । शिविरमा करिब ४०० जनाले सेवा लिएका छन् ।

४९ जनाको भिडियो एक्सरे, २० जनाको इसिजी, १०८ जनाको सुगर जाँच, ४३ जनाको युरिक एसिड जाँच, २२ जनाको पिसाव जाँच र ६५ जना विद्यार्थीको रक्त समूह परीक्षण गरिएको बस्नेतले बताए ।

शिविरमा निःशुल्क रुपमा औषधी वितरण, इसिजी, रगत परीक्षण र भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो ।

विवाह खर्चको रकम कटाएर उनले गत बिहिबार उपल्लो तम्घास माविमा फरक क्षमता भएका २७ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?