+
+

अर्थतन्त्र समस्यामा, दुई वर्षमा माग ३७ प्रतिशतले घट्यो

औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास आएको थियो । यो चालु आर्थिक वर्षको सोही अवधिमा थप १२.०६ % ले घटेको देखिएको छ । यसरी आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र मागमा कूल ३६.९३ % ले संकुचन आएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १८:०५

१६ पुस, काठमाडौं । सरकारले अर्थतन्त्रमा सुधार आएको बताइरहँदा नेपाल उद्योग परिसंघ (सीएनआई) ले गरेको एक अध्ययनले भने अर्थतन्त्र समस्यामा नै रहेको देखाएको छ ।

परिसंघले उद्योग व्यवसायस्तरमा गरेको सर्वेक्षणअनुसार दुई वर्ष अगाडिको तुलनामा बजारमा समग्र माग ३६.९३ प्रतिशतले घटेको छ । माग घट्नु भनेको वस्तु तथा सेवाकाे उपभोग घट्नु हो ।

अघिल्लो आर्थिक वर्ष नै मागमा उच्च गिरावट आएपनि त्यसको तुलनामा समेत चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार नआएको परिसंघको अध्ययनले देखाएको छ ।

नेपाल उद्योग परिसंघले गरेको अर्थतन्त्रबारे चालु आर्थिक वर्षको पहिलो त्रैमासिक सर्वेक्षणले उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

‘सर्वेक्षणमा कच्चा पदार्थको मूल्य बढेको देखियो । दुई वर्षअघि ०७८/७९ को तुलनामा माग ३६.९३ प्रतिशतले घटेको देखियो,’ प्रतिवेदन सार्वजनिक गर्दै परिसंघका अध्यक्ष राजेश अग्रवालले भने, ‘कारोबारमा समेत ३०. ५४ प्रतिशतले गिरावट भएको छ ।’

परिसंघले आर्थिक वर्ष २०७९/८० मा मुलुकको अर्थतन्त्रको वास्तविक अवस्थाको पहिचान गर्न भन्दै अघिल्लो आर्थिक वर्षमा समेत एक सर्वेक्षण गरेको थियो। सोही सर्वेक्षणको दोस्रो संस्करणका रुपमा परिसंघले यस वर्ष पनि अघिल्लो र चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन सर्वेक्षण गरेको उसले जनाएको छ ।

सर्वेक्षणमा विगत तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन गरिएको सीएनआईले जनाएको छ । सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास आएको थियो । यो चालु आर्थिक वर्षको सोही अवधिमा थप १२.०६ प्रतिशतले घटेको देखिएको छ । यसरी आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र मागमा कूल ३६.९३ प्रतिशतले संकुचन आएको हो ।

यसैगरी उद्योगहरूको कारोवार रकम अघिल्लो वर्ष २४.९४ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको समान अवधिमा थप ७.४६ प्रतिशतले घटेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९  को तुलनामा यो कूल ३०.५४ प्रतिशतले खुम्चिएको हो ।

‘अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गतवर्ष नै उद्योगी-व्यवसायीको मनोबल कमजोर बनेको देखिएको थियो, जुन चालु वर्ष समेत यथावत रहेको देखिएको छ । सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९.४४ प्रतिशत उद्योगी-व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५.३२ प्रतिशत उद्योगी व्यवसायीहरूले आफ्ना  लगानीका योजनाहरू स्थगित गरेको जनाएका छन्,’ सीएनआईको अध्ययनले देखाएको छ ।

क्षेत्रगत रुपमा सिमेन्ट उद्योगको समग्र मागमा अघिल्लो वर्षको तुलनामा थप ७.३६ प्रतिशतले संकुचन आएको छ । अघिल्लो वर्षको सोही समयमा यो ४०.१७ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७८/७९ संगको तुलनामा हाल सिमेन्टको समग्र मागमा कूल ४४.५७ प्रतिशतले गिरावट आएको देखिन्छ ।

यसैगरी यस्ता उद्योगको कारोबार रकममा अघिल्लो वर्ष ३९ प्रतिशतले संकुचन आएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा थप ९.५४ प्रतिशतले गिरावट आएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा कारोबार रकममा कूल ४४.८२ प्रतिशतले संकुचन आएको देखिएको छ ।

परिसंघको सर्वेक्षण अनुसार अघिल्लो आर्थिक वर्षमा ८३.३३ प्रतिशत सिमेन्ट उत्पादकहरूले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमशमा ६२.५० प्रतिशतले आफ्नो लगानी योजना स्थगित गरेको जनाएका छन् ।

निर्माण व्यवसाय क्षेत्रका उद्योगी व्यवसायीले सर्वेक्षणमा दिएको प्रतिक्रिया अनुसार यस क्षेत्रको समग्र माग अघिल्लो वर्षको तुलनामा थप १६.२० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो ४३.४३ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कुल ५२.५९ प्रतिशतले संकुचन आएको पाइएको छ ।

यसैगरी यस क्षेत्रका उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष ४३.७१ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा थप २०.८० प्रतिशतले घटेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ संगको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको समग्र कारोबार रकममा कूल ५५.४२ प्रतिशतले संकुचन आएको देखिएको छ ।

यस्तै यस क्षेत्रका उद्योगहरूमा ३३.३३ प्रतिशतले लगानी स्थगित गरेको जनाएका छन् भने गत वर्ष ५३.८५ प्रतिशत उद्योगी व्यवसायीले आफ्नो लगानी विस्तारको योजना स्थगन गरेका थिए ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा एफएमसिजी क्षेत्रको माग २.५० प्रतिशतले बढेको थियो तर यस वर्ष १७.७० प्रतिशतले गिरावट आएको अध्ययनमा देखिएको छ । यसरी अघिल्लो वर्ष सकारात्मक रहेको क्षेत्र समेत यस वर्ष नकारात्मक देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कूल १५.६४ प्रतिशतले संकुचन आएको देखिएको छ ।

यसै गरी यस क्षेत्रको कारोबार रकममा अघिल्लो वर्ष १२.२५ प्रतिशतले बढेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १८.५० प्रतिशतले घटेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा समग्र कारोबार रकममा ८.५२ प्रतिशत ले संकुचन आएको छ ।

सर्वेक्षण अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ४१.६७ प्रतिशत यस क्षेत्रका उद्योगी तथा व्यवसायीले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमशमा यस क्षेत्रमा ५० प्रतिशत व्यवसायीहरूले आफ्ना लगानी योजना स्थगित गरेको जनाएका छन् ।

मुद्रास्फीति उच्च हुँदा  गर्दा माग घटेको परिसंघका अध्यक्ष अग्रवालले बताए । उनले भने,  ‘यसमा सरकारको नीति मुख्य जिम्मेवार छ, ग्रोथको पोलिसी लिने कि नियन्त्रण गर्ने ? यसमा सरकार क्लियर हुनु पर्ने थियो ।’

‘सरकारको पूँजीगत खर्चले अर्थतन्त्र चलायमान बनाउने हो, पुरानो भुक्तानी नभएकाे अवस्था छ , नयाँ ठेक्का प्रभावित बनेको छ । सरकारको पैसा बजारमा आउनु पर्‍यो,’ उनले भने ।

सहकारीमा जनताको ठूलो पैसा फसेका कारण जनताबाट माग आउन नसकेको भन्दै उनले  उद्योगीले थप ऋण लिन आँट नगरेको उनले बताए ।

उनले भने, ‘बैंकहरुमा पैसा फालाफाल छ, तर बैंकरले पनि पैसा दिन आँट गरेका छैनन्, यसलाई छलफल गरेर सल्ट्याउने बारे हामीले सोचिरहेका छौं ।’

सरकारको साधारण खर्च बढेको र पूँजीगत खर्च घट्दै गएको साथै कालोसूचीमा पर्नेहरु बढेको अध्यक्ष अग्रवालले जानकारी दिए ।

अध्ययन प्रतिवेदन अनुसार नेपालमा ५२.३२ प्रतिशत उद्योगीले नयाँ लगानीका योजना स्थगित गरेको उल्लेख छ ।

गत वर्षको तुलनामा अटोमोबाइलमा डिमान्ड र कर्जा दुवै बढेपनि तीन वर्ष अगाडिको तुलनामा धेरै घटेको परिसंघले जनाएको छ ।

यस्तै सिमेन्टमा कच्चा पदार्थको मूल्य बढ्को र डिमान्ड घटेको तथ्याांक सर्वेक्षणमा आएको छ । सिमेन्टको कारोबार समेत घटेको परिसंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

१०० वटा उद्योगमा गरिएको सर्वेक्षणमा आधारमा यो तथ्यांक सार्वजनिक गरिएको परिसंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?