+
+

मन्त्री प्रकाश ज्वालाको स्पष्टीकरण : बालकुमारीमा अवरोध भएको सुरक्षा निकायले जानकारी गराएन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १५:२६

१६ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटना हुनुमा आफ्नो कुनै दोष नभएको बताएका छन् । आफू एकीकृत समाजवादीको बैठकबाट सिंहदरबार जान बालकुमारीको बाटो हुँदै जान लाग्दा सुरक्षा निकायले अवरोध भएको जानकारी नगराएको उनले बताए ।

सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ज्वालाले आफ्नो निजी सुरक्षा अधिकारी (पीएसओ)ले बालकुमारी हुँदै सिंहदरबार जान लागेको जानकारी गराउँदा प्रहरीले सडकमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको बताएका हुन् ।

गत शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले सोही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडी रोकेका थिए । त्यही बेला प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो ।

पढ्नुहोस् मन्त्री ज्वालाको भनाइ जस्ताको तस्तै :

यो बालकुमारी घटना आफैंमा दुःखद् घटना हो । दुई जना युवाहरुको ज्यान गएको छ, केही घाइते भएका छन् र यो नघट्नुपर्ने, नहुनुपर्ने घटना भएको छ । यसप्रति म दुःख व्यक्त गर्न चाहन्छु । त्यस दिन हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठक कान्तिपुर पार्टी प्यालेसमा चलिरहेको थियो । त्यो बैठक दुई दिन अघिदेखि चलिरहेको थियो ।

त्यस बैठकमा म बिहानैदेखि सहभागी थिएँ । अर्कोतिर यता सिंहदरबारमा मन्त्रालयमा एउटा बैठक थियो मेरो । त्यो बैठक सुरु भइसकेपछि केही समयका लागि मन्त्रालयको बैठकमा सहभागी भएर फेरि बैठकमा फर्किने उद्देश्यले म त्यो पार्टी प्यालेसको बैठक कक्षबाट बाहिर निस्किएँ ।

बाहिर निस्किनुभन्दा अगाडि बालकुमारी क्षेत्रमा के अवस्था छ, त्यहाँ डिस्टर्ब छ कि छैन अथवा परिस्थिति के छ रुटको अवस्था के छ ? त्यो हामीलाई केही पनि थाहा भएन । हामी सामान्य अवस्थामा बाहिर निस्कियौं । निस्किंदाखेरि पनि सुरक्षा निकायबाट, सुरक्षाकर्मीबाट समेत यस विषयमा कुनै जानकारी नभएपछि हामी सामान्य रुपमा बाहिर निस्कियौं ।

संयोगले हाम्रै मन्त्रालयको राज्यमन्त्रीज्यूको गाडी भित्र पस्यो । हामी बाहिर निस्कियौं । राज्यमन्त्रीज्यूको गाडी भित्र पस्दासम्म सामान्य नै अवस्था छ ।

हामी बाहिर निस्केर अलिकति अगाडि बढिसकेपछि पारिपट्टि केही डिस्टर्ब हामीले महसुस गर्‍यौं । अब के गर्ने भन्ने त्यहाँ हाम्रो बीचमा छलफल भयो । अगाडि बढ्न पनि नसकिने पछाडि फर्किन पनि नसकिने भएपछि मुख्य बाटोमा हामी प्रवेश गर्‍यौं ।

मुख्य बाटोमा गइसकेपछि पनि केही व्यक्तिहरु आएर गाडी रोक्ने प्रयास गरे । त्यहाँ पीएसओले सम्झाउने प्रयास गरे र प्रदर्शनकारीहरु रोक्ने मध्येकै पनि कतिपय व्यक्तिहरुले यो गाडीलाई अगाडि जान दिउँ भनेर निकै धेरै प्रयास पनि गरे ।

भीड बढ्दै जान थालेपछि म त्यहाँ रहँदा झन् उत्तेजित होला भीड भन्ने हिसाबले म त्यो गाडीबाट निस्केर फेरि बैठकस्थलमै फर्किहालें । फर्केपछि म बैठकमा बसें । त्यसपछिको अवस्था पनि मलाई जानकारी छैन । त्यहाँ आगलागी भएको कुरा, गोली चलेको कुरा । गोली चलेको कुरा गाडीमा आगो लाग्नुभन्दा पहिले हो कि पछि हो यो कुरा पछि छानबिनबाट पनि थाहा होला ।

त्यहाँ गाडी पुग्यो, म केही समय रोकिएँ । रोकिएपछि त्यहाँको अवस्था तनावपूर्ण हुन्छ कि भन्ने उद्देश्यले आफ्नो बैठक कक्षमा फर्किइहालें । फर्किएपछि त्यसपछिको अवस्था के भयो ? कसरी अगाडि बढ्यो ? त्यस विषयमा पनि जानकारी छैन ।

हाम्रो गाडी त्यहाँ पुगिसकेपछि पीएसओले बारम्बार यहाँ गाडी सडकमा छ । प्रदर्शनकारीहरुले घेरिरहेका छन् । छिटोभन्दा छिटो सुरक्षाकर्मी पठाउनुपर्‍यो भनेर उनले कम्युनिकेसन गरिरहेका थिए । त्यति हुँदा पनि करिब २०/२२ मिनेटसम्म पनि त्यहाँ सुरक्षाकर्मीहरु पुगेनन् । त्यसपछि प्रदर्शनकारीहरुले आगो लगाए भन्ने कुरा पछि मैले जानकारी पाएँ ।

यो घटनामा हामी कहीं कतैबाट पनि जोडिंदैनौं । हाम्रो कुनै सम्बन्ध, साइनो पनि छैन । हाम्रो मन्त्रालयसँग जोडिएको विषय पनि होइन । हामीचाहिं सामान्य अवस्थामा बैठक कक्षबाट मन्त्रालयमा आउने क्रममा बाटोमा गाडी रोकियो । यो घटना भयो ।

यस विषयमा हामी प्रष्ट के छौं भने, न त्यो घटनाभन्दा पहिले हामीलाई जानकारी छ न हामीलाई रोकिसकेपछिको घटनाको जानकारी छ । हामी यो घटनासँग कुनै पनि हिसाबमा जोडिंदैनौं ।

भौतिक पूर्वाधार मन्त्री चढेको गाडी आएकै कारणले यो घटना घट्यो भन्ने कसैले परिभाषा गर्छ भने यो पूर्ण रुपमा गलत कुरा हो । किनकि सडक खुला छ, सडकमा गाडी त चल्छन् । अरु गाडीहरु पनि चलिरहेकै छन् । हाम्रो गाडी पनि चल्यो । त्यहाँ डिस्टर्ब छ भन्ने कुरा जानकारी भएको भए हामी जाँदैनथ्यौं । त्यो जानकारी पनि भएन ।

हाम्रो गाडी त्यो बाटोमा हिंडेकै कारणले यो घटना उत्तेजक बनेको पनि होइन । त्यसभन्दा पहिलेदेखि नै त्यहाँ भीडन्त भएको रहेछ । त्यसपछि पनि भीडन्त भइराख्यो । जहाँ गाडी जलाइयो त्यो ठाउँमा भीडन्त भएको पनि छैन ।

त्यो ठाउँमा कुनै गोली चलेको पनि छैन । त्यसकारण यो घटनामा हामीलाई जोड्ने अथवा हाम्रो गाडी सडकमा गएको कारणले यो घटना घटेको हो अथवा प्रदर्शनकारी बढी उत्तेजित भएका हुन् भन्ने कुरा गलत छ ।

बैठकस्थलबाट निस्किएपछि मैले पीएसओ र ड्राइभरलाई हामी सिंहदरबार जाऔं भने । हामी सबै गाडीमा बस्यौं । गाडीबाट हिड्यौं । हिंड्दाहिंड्दै पीएसओले हामी बालकुमारीबाट मन्त्रालय जाँदैछौं भनेर आफ्नो सेन्ट्रलमा खबर गरिरहेको मैले सुनें ।

त्यतिबेलासम्म पीएसओले वा अरु सुरक्षाकर्मीले कहीं कतैबाट यो बाटो डिस्टर्ब छ, यो बाटोमा जानुहुँदैन । अथवा अर्को कुनै रुट प्रयोग गरौं भन्ने किसिमको जानकारी कहीं कतैबाट आएन । यो जहाँबाट पनि पुष्टि हुन्छ । त्यहाँ डिस्टर्ब छ भन्दाभन्दै म मूर्खतापूर्वक त्यो बाटो त जाँदिनँ ।

बरु हामी त्यो बाटोमा प्रवेश गरिसकेपछि जो डिस्टबेन्स देखियो, त्यसपछि हामी सतर्क भयौं र अब कसरी सुरक्षित हुने भन्ने किसिमले हामीले प्रयत्न गर्‍यौं । प्रयत्न गर्दागर्दै हामी सफल भएनौं त्यो एउटा पाटो भयो । तर अहिले मन्त्रीको गाडी आएकै कारणले यो घटना यसरी अगाडि बढ्यो भन्ने कुरा जुन भनिंदैछ यो आफ्नो दोष अरुतिर पन्छाउने खालको प्रयत्न/कसरत हो भन्ने मलाई लाग्छ । त्यसकारण यो घटनाको बारेमा हामी दुःखी छौं । घटना घट्यो । नघट्नुपर्ने थियो । दुई जना युवाहरुले ज्यान गुमाए । यो एउटा दुःखद् पक्ष हो । तर हाम्रो त कहीं कतैबाट सम्बन्ध नै छैन यसमा ।

हामी सामान्य रुपमा त्यो बाटो प्रयोग गरेर मन्त्रालय आउन खोजेको हो । आउने क्रममा अवरोध भयो । अवरोध भएपछि म आफ्नो बैठकतिर फर्किएँ । त्यहाँ गाडी आगलागी भयो । हामी त पीडित पक्ष हौं, साँच्चिकै भन्दाखेरि । मान्छेको ज्यान जानेभन्दा गाडी आगलागी हुने कुरा सानो नहोला । तर हाम्रो मन्त्रालय त पीडित पक्ष हो ।

हामी विना कारण, निर्दोष हुँदाहुँदै, त्यसमा हाम्रो कुनै संलग्नता नहुँदा नहुँदै, कुनै सम्बन्ध नहुँदा नहुँदै हाम्रो त गाडी क्षति भएको छ । त्यसकारण पीडित पक्षतिर नै फेरि यो घटनालाई पन्छाएर जो सुरक्षाकर्मीले कमजोरी गरेका छन्, चाहे सुरक्षा सम्बन्धी सूचना दिने कुरा होला । चाहे गोली चलाउने अवस्था थियो कि थिएन त्यस्तो अवस्थामा गोली चलाइएको कुरा होला । यो तमाम कुरामा आफ्नो कमजोरी कतै ढाकछोप गर्नलाई फरक ढंगले अभिव्यक्ति आउन थाल्यो कि भन्ने कुरामा मलाई अनुभूति हुन थालेको छ ।

कतिले त्यहाँ मन्त्री किन गएको भन्ने पनि प्रश्न गरेछन् । दुनियाँलाई थाहा छ, दुई दिनदेखि बैठक चलिरहेको छ । केन्द्रीय कमिटी बैठकमा त मन्त्री भएको केन्द्रीय सदस्य पनि जान्छ नि ! दिनदिनै बैठकबाट मन्त्रालयमा काममा आएका छौं।

आउने जाने त तीनदिनदेखि हाम्रो चलिरहेकै छ । यस्ता कुरामा जे सत्य र वास्तविक हो त्यही नै कुरा सबैले गर्नुपर्छ । हाम्रो तर्फबाट सत्य कुराहरु प्रष्ट पारिएको छ, प्रष्ट पार्न तयार छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?