+
+

कृषिको लगानीलाई प्राथमिकता दिन अर्थमन्त्रीको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १७:२४

१६ पुस, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी–व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सधैं खुला रहेको बताएका छन् ।

मोरङ व्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले उद्योगी–व्यवसायीका समस्या लिखित रुपमा पठाउन वा प्रत्यक्ष भेटेर समस्या हटाउन आग्रह गरे ।

उनले नेपालमै उद्योग व्यवसायको माहोल बढाउन र रोजगारी सिर्जना गर्न समेत आह्वान गरेका छन् ।

उनले विदेशबाट फर्केर आएका युवाहरुले पूँजी र सीप लिएर आएको भन्दै उनीहरुलाई आधुनिक कृषिकर्ममा प्रोत्साहन गर्नुपर्ने बताए । सरकारको नीति समेत उनीलाई प्रोत्साहन गर्ने नै रहेको भन्दै उनले उत्पादनमा आधारित सहयोग सुनिश्चित गर्ने नीति सरकारले लिएको बताए ।

कृषि क्षेत्र आधुनिकीकरण गराउनु पर्ने आवश्यकता रहेको भन्दै उनले उद्योग व्यवसायीलाई समेत कृषि क्षेत्रलाई प्राथमिकतामा राखी लगानी गर्न आग्रह गरे ।

वर्तमान अर्थतन्त्रबारे बोल्दै उनले सेयर कारोबार बढ्दै गरेका, जग्गा कारोबारले गति लिएको, बैंकहरुले ब्याजदर घटाइरहेको भन्दै पर्यटक आगमनबाट समेत उत्साह फर्किएको बताए ।

नेपालको पूर्वाधारमा ठूलो समस्या रहेको भन्दै उनले पूर्वाधार र सडकको राम्रो व्यवस्था नभएकाले सम्भावित पर्यटकीय क्षेत्र उपयोग गर्न नसकिएको स्वीकार गरे । आउँदा दिनमा त्यस्ता परियोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उनको प्रतिवद्धता छ ।

देशमा भविष्य छैन भन्ने नकरात्मक प्रचारले आत्मविश्वास कम भएको भन्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक भएको अवस्थामा उद्योग व्यवसायी, नागरिक समाज र सञ्चारकर्मी सबैले सकारात्मक बहसको थालनी गर्नु पर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?