+
+

राष्ट्रिय सभा निर्वाचनमा गण्डकी : गठबन्धनको पल्लाभारी, एक्लै लडे पनि कांग्रेस पहिलो

अमृत सुवेदी अमृत सुवेदी
२०८० पुष १७ गते १०:०२

१७ पुस, पोखरा । राष्ट्रिय सभाका लागि गण्डकीमा ३ सिटमा प्रतिस्पर्धा हुँदैछ । गण्डकीमा राष्ट्रियसभाका अध्यक्ष समेत रहेका एमालेका गणेशप्रसाद तिमल्सिना, एमालेकै दीपा गुरुङ र कांग्रेसका प्रकाश पन्थको कार्यकाल सकिन लागेकाले आगामी माघ ११ गते निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभाको चुनावको तयारी स्वरुप सोेमबार निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भइसकेकोे छ । गण्डकीमा कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश केशवप्रसाद बास्तोलाको निर्वाचन अधिकृत छन् ।

एकातिर राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन कार्यालयलेे तयारी गरिरहेको छ भने राष्ट्रिय सभामा गण्डकीबाट को जाला भन्ने चर्चा पनि उत्तिकै छ । विशेष गरी राष्ट्रिय सभाको अध्यक्ष यसअघि एमालेबाट गण्डकीले नै पाएकाले यसपटक पनि गण्डकीबाटै हुनसक्ने चर्चा पनि राजनीतिक वृतमा छ ।

एक्लाएक्लै चुनाव लड्ने हो भने पनि गण्डकीमा पहिलो पार्टी देखिएको कांग्रेसभित्र विशेेषगरी आकांक्षीको लर्को लागेको छ । ३ जनाको नाम सिफारिस गर्ने भनिए पनि विवाद र दबाबमा फस्ने डरले कांग्रेस गण्डकीबाट झण्डै १७० जनाकोे नाम केन्द्रमा सिफारिस भएको छ ।

त्यसो त कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा आफैं पनि सभामा छिर्ने योजनासहित नाम सिफारिस गराएका छन् । गण्डकीमा विशेष गरी गोपालमान श्रेष्ठको नाम केन्द्रदेखि नै चर्चामा छ भने पूर्व सभामुख तारानाथ रानाभाट, धु्रव वाग्लेदेखि पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखेरेल, मेडिकल व्यवसायी खुमा अर्यालसम्मको नाम सिफारिस गरेर कांग्रेस गण्डकीले निर्णयको जिम्मा केेन्द्रलाई दिएको छ ।

गठबन्धन भएर चुनावमा गयो भने जित्न कठिन देेखेको नेकपा एमालेले छिट्टै नाम टुंगो लगाउने गण्डकीका सचिव धनञ्जय दवाडी बताउँछन् । उसले माओवादी केन्द्रमा कसरी भागबण्डा हुन्छ भनेर हेरिरहेको छ ।

अंककणित हेर्दा गण्डकीबाट कांग्रेस उम्मेदवार नै राष्ट्रिय सभा छिर्न सक्ने देखिएको छ । यसपटक प्रदेश सभा सदस्यको ५३ र स्थानीय तह प्रमुख/उपप्रमुखको १९ मतभार तोकिएको छ ।

१ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका रहेको गण्डकी प्रदेशबाट १ सय ७० जना मतदाता छन् । जसको मतभार ३ हजार २३० हुन आउँछ । प्रदेश सभातर्फ ६० जना सदस्य छन् । जसको ३ हजार १८० मतभार हुन आउँछ । स्थानीय तह र प्रदेश सभा सदस्यको गरी गण्डकीमा कुल ६ हजार ४१० कुल मतभार हुन आउँछ ।

कसको मत कति ?

गण्डकी प्रदेश सभातर्फ सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ सदस्य छन् । जसको मतभार १ हजार ४३१ हुन आउँछ । स्थानीय तहतर्फ नेपाली कांग्रेसबाट नगर प्रमुख १५, उपप्रमुख ११, गाउँपालिका अध्यक्ष २१ र उपाध्यक्ष २० गरी ६७ जना निर्वाचित छन् । राष्ट्रिय सभामा तिनको मतभार १९ का दरले जोड्दा १ हजार २७३ हुन आउँछ । यसरी हेर्दा राष्ट्रिय सभामा नेपाली कांग्रेस एक्लैको २ हजार ७०४ मतभार छ ।

दोस्रो ठूलो दल नेकपा एमालेबाट गण्डकी प्रदेश सभामा २२ जना सदस्य छन् । जसको मतभार १ हजार १६६ हुन्छ । स्थानीय तहतर्फत एमालेले नगर प्रमुख ८, उपप्रमुख ९ र गाउँपालिका अध्यक्ष २७, उपाध्यक्ष २४ गरी ६८ जना निर्वाचित छन् । जसको मतभार १ हजार २९२ हुन आउँछ । प्रदेश सभा सदस्य र स्थानीय तहको कुल मतभार २ हजार ४५८ छ । एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिकाका मेयर देवबहादुर नेपाली निलम्वित छन् । उनीबाट प्राप्त हुने १९ मतभार घटाउँदा एमालेको पक्षमा २ हजार ४३९ मतभार हुने छ ।

नेकपा माओवादीले गण्डकी प्रदेश सभामा ८ सिट जितेको छ । जसको मतभार ४२४ हुन आउँछ । स्थानीय तहतर्फ माओवादीबाट नगर प्रमुख २, उपप्रमुख ७, गाउँपालिका अध्यक्ष ९, उपाध्यक्ष १२ गरी ३० जना निर्वाचित छन् । जसको मतभार ५७० हुन आउँछ । प्रदेश सभा सदस्य र स्थानीय तहका गरी माओवादीसँग ९९४ मतभार छ ।

राष्ट्रिय जनमोर्चाको यसपटक गण्डकी प्रदेेश सभामा उपस्थिति छैन । तर, स्थानीय तहतर्फ भने नगर प्रमुख १, गाउँपालिका अध्यक्ष १ र उपाध्यक्ष १ जना गरी ३ जना निर्वाचित छन् । जसको मतभार ५७ छ ।

एकीकृत समाजवादीबाट गण्डकी प्रदेश सभामा पहिले शून्य उपस्थिति थियो । तर, स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे) प्रवेश गरेपछि प्रदेश सभातर्फ पनि एकीकृत समाजवादीको उपस्थिति छ । यस्तै स्थानीय तहतर्फ पोखरा महानगरमा एकीकृत समाजवादीले जितेकोे छ । राष्ट्रिय सभामा उसको मतभार प्रदेश सभातर्फ ५३ र स्थानीय तहतर्फबाट १९ गरी ७२ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा)बाट गण्डकी प्रदेश सभामा २ जनाले जितेका छन् भने स्थानीय तहतर्फ शून्य छ । राप्रपाको मतभार राष्ट्रिय सभामा १ सय ६ हुने छ । गण्डकीमा मनाङ निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्र जितेका छन् ।

अहिले सत्ता गठबन्धन दलबाट गण्डकीमा कांग्रेेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको उपस्थिति छ । यसरी मिलेर राष्ट्रिय सभाको चुनावमा मतदान हुँदा नेपाली कांग्रेसको २ हजार ७०४, नेकपा माओवादीको ९९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ गरी ३ हजार ८२७ मतभार गठबन्धनको पक्षमा आउने छ ।

एमाले र राप्रपा मिलेर चुनावमा जाँदा पनि गठबन्धनसामु उसको मतभार निकै कम हुने छ । एमालेको २ हजार ४३९ र राप्रपाको १०६ जोड्दा उनीहरुको पक्षमा २ हजार ५४५ मतभार हुने छ । यदि सबै पार्टी एक्लाएक्लै लड्ने होे भने पनि गण्डकीमा कांग्रेसबाट राष्ट्रिय सभामा छिर्ने पक्काजस्तै देखिएको छ ।

आगामी माघ ११ मा हुने राष्ट्रिय सभाका १९ पदको निर्वाचनका लागि सोमबार अधिकृतको कार्यालयहरु खुलेका छन् भने पुस २२ गते मनोनयन हुँदै छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?