+
+

समर्थकलाई ज्ञानेन्द्रको सम्बोधन : म कतै गएको छैन, अहिलेको अवस्थालाई नजिकैबाट नियालिरहेको छु

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १६:४०

१९ पुस, भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको हिजो–आजको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन् ।

भैरहवामा आफ्नो अभिनन्दनका लागि आयोजित कार्यक्रममा पूर्व राजा शाहले आफू जता जाँदा पनि आफूलाई आउन र देश बचाउन आग्रह गरेको सुनाए । ‘म जता जाउँ, जहाँ पुगुँ जनआवाज उठेको सुन्छु’ उनले भने, ‘मलाई आउन, हाम्रो देश बनाऊ, देश बचाऊ ।’

तर आफू कतै नगएको र नेपालीहरुको साथमै रहेको उनले बताए । ‘म बोलिरहेछु । देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना पोखिरहेको छु । म कतै गएको छैन । सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु’ पूर्वराजा ज्ञानेन्द्रले भने, ‘नेपालीहरुको सुख–दु:ख, सुविधा, असुविधा, बाधा–पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु ।’

देश जर्जर भएको र बेरोजगारी, शैक्षिक कमजोरीका कारण युवाहरु विदेश जानु परेको उनले बताए । ‘देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिएको छ । यस्तो अवस्थाको अन्त्य हुनै पर्दछ’, उनले भने ।

अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्ने उनले बताए । आफू मात्र सही, आफू मात्र ठीक भन्न छाड्नुपर्ने भन्दै पूर्व राजा ज्ञानेन्द्रले भने, ‘आऊँ, हामी सबै एक ठाउँमा उभियौं ।’

देशमै उत्पादन उद्यम, इलम सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्ने उनले बताए । तर के कस्तो विधि बदल्ने वा कसरी अगाडि बढ्ने भन्दै हामी आफैंले तय गर्नुपर्ने उनले बताए ।

विगतको सबै दु:ख बिर्सिन र घृणाको आगो मिलेर निभाउन आग्रह गर्दै पूर्व राजा ज्ञानेन्द्रले भने, ‘अब भाँच्चिएको टुक्राहरु जोडिदेऊ । उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने ? पहिले अन्याय, अत्याचार मुक्त गरिदेऊ । अनुहार फेरी फेरी षड्यन्त्र नगर । त्यस्ता चालबाट आफूलाई बचाइदेऊ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?