+
+

नेताहरुलाई बेचैन बनाउने पूर्वराजाको अभिनन्दन सभा

पूर्वराजा ज्ञानेन्द्र शाह ‘स्वागत अभिनन्दन कार्यक्रम मूल समारोह समिति’ को नामबाट गरिएका सार्वजनिक सभाहरुमा सहभागी भइरहेका छन् । यस्ता सभाहरुमा संक्षेपमा लिखित सम्बोधन गर्दै उनले देश बचाउन आफू बोल्न विवश भएको जिकिर गरिरहेका छन् ।

सइन्द्र राई सइन्द्र राई
२०८० माघ २० गते २०:१९

२० माघ, काठमाडौं । गत साता वीरगञ्जमा आयोजित एक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति राजनीतिक दलका शीर्ष नेताहरुले लगातार आपत्ति जनाइरहेका छन् ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रणालीप्रति असन्तुष्टि भए प्रधानमन्त्री बनेर आउन पूर्वराजालाई चुनौती दिए ।

‘यदि शासन प्रणाली ठीक ढंगले चलेको छैन भने मुलुक राम्ररी चलाउन सकेका छैनन् भने नेता भएर आए हुन्छ । जनताको बीचमा भिजे हुन्छ, चुनाव जितेर आए हुन्छ’ अध्यक्ष नेपालले भने, ‘राम्रो प्रधानमन्त्रीका रुपमा देशलाई विकल्प दिए हुन्छ ।’

सत्ता र प्रतिपक्षमा रहेका दलले जनताबीच जाने विभिन्न कार्यक्रम घोषणा गरिरहँदा पूर्वराजा ज्ञानेन्द्रले पनि ‘स्वागत अभिनन्दन कार्यक्रम मूल समारोह समिति’ को नामबाट सार्वजनिक सभाहरु गरिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त पूर्वराजाको अभिव्यक्तिलाई लिएर दरबार हत्याकाण्डकै छानबिन गर्ने चेतावनी दिएका छन् ।

सिमरा विमानस्थलमा पत्रकारहरुसँग गत १५ माघमा प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्डको छानबिन हुने बताएका थिए । ‘पूर्वराजाले जे बोलेका छन्, बोल्नै नहुने कुरा बोलेका छन् । दरबार हत्यकाण्डबारे फेरि एकपटक छानबिनतिर सरकार अगाडि बढ्दैछ’, प्रधानमन्त्रीले भनेका थिए ।

अध्यक्ष नेपाल र प्रधानमन्त्री प्रचण्ड भन्दा अघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र कुशका मात्र राजा हुन् भन्ने चर्को टिप्पणी गरेका थिए । ओलीले ज्ञानेन्द्र शाह राजा नै नभएको बताएका हुन् ।

‘ज्ञानेन्द्र शाह राजा होइन । बाहुनले बाहुन भनेर टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै कुशको राजा हुन्’, अध्यक्ष ओलीले भनेका थिए ।

दरबार हत्याकाण्डकै बेला राजतन्त्र सकिएको उनको टिप्पणी थियो, ‘त्यो षड्यन्त्रले तत्कालीन राजा, रानी, युवराज, राजकुमार, अधिराजकुमारी अन्त्य गर्यो । राजतन्त्र समाप्त भयो ।’

ज्ञानेन्द्र शाहले भने गत १३ माघमा वीरगञ्जको सभा सम्बोधन गर्दै दरबार हत्याकाण्डसँग जोडेर आफ्नो परिवारप्रति दलहरुले घातक प्रहार गरेको बताएका थिए ।

‘२०५८ मा घटेको विनाशकारी घटनामा, हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको थियो’, ज्ञानेन्द्रले भनेका थिए ।

सँगै, पूर्वराजा ज्ञानेन्द्रले मुलुकको अवस्था चिन्तायोग्य रहेको निष्कर्षसहित पुरानै प्रणाली पुनर्स्थापनाको आह्वान गरेका थिए । ‘राष्ट्र प्रेम, राष्ट्रियता, प्रजातान्त्रिक प्रतिवद्धता तथा देश र जनताको उत्थानमा क्रियाशील हुने भावनालाई आज पनि मैले सान्दर्भिक रुपमा सम्झिरहेको छु । त्यसै आशय अन्तर्गत मैले चिरकाल पर्यन्त सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिएँ’, उनले भनेका थिए ।

पूर्वराजाको यस्तो अपिल आएको भोलिपल्टै एमाले अध्यक्ष ओलीले चर्को टिप्पणी गरेका हुन् । त्यसो त अध्यक्ष ओली र एमालेले पूर्वराजाविरुद्ध यसअघिबाटै गतिविधि, अभिव्यक्ति र निष्कर्ष प्रस्तुत गरिरहेको छ ।

एक महिना अगाडि (१६ पुसमा) नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा गरेको कार्यक्रममै ओलीले पूर्वराजाप्रति चर्को टिप्पणी गरेका थिए ।

‘राजतन्त्रको बहस नेपालमा आवश्यक नै छैन, सिद्धिसक्यो । हुन त यो दरबार हत्यकाण्डकै बेला सिध्या हो’, ओलीले त्यो कार्यक्रममा भनेका थिए, ‘हामीले अलिकति उपयुक्त कदम त्यतिबेला नचाल्ने कमजोरी गरेको हुनाले अलिक दिन एउटा डमी राजतन्त्र चल्यो । तमासा देखायो त्यसले अनि हटाउनुपर्‍यो ।’

पूर्वराजाको सक्रियताप्रति एमालेले संस्थागत रुपमै पनि दस्तावेजमार्फत् जनता अहिलेको व्यवस्थाको विकल्प खोज्ने पक्षमा नरहेको निष्कर्ष निकालेको छ । ‘संकल्प यात्रामा प्रकट भएको जनसमर्थन र सहभागितालाई लोकतान्त्रिक गणतन्त्र, संवैधानिक व्यवस्था र मुलुकको भविष्यप्रतिको जनताको भरोसाका रुपमा लिएको छ’, गत ९ माघमा प्रधानमन्त्रीलाई एमालेले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

एमालेका अरु नेताले पनि सार्वजनिक अभिव्यक्ति मार्फत् नेपाली जनता गणतन्त्रको विकल्प खोज्ने पक्षमा नरहेको निष्कर्ष सुनाइरहेका छन् । त्यसैलाई पुष्टि गर्ने गरी एमालेले गत १४ मंसिरदेखि २ पुससम्म मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा गरेको थियो ।

नरोकिएको सक्रियता

प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको चेतावनी र चुनौतीबीच पूर्वराजाको देशदौडाहा भने रोकिएको छैन । सत्ता र प्रतिपक्षमा रहेका सबैजसो दलले जनताबीच जाने भनेर वर्ष दिनको कार्यक्रम घोषणा गरिरहँदा पूर्वराजा ज्ञानेन्द्रले पनि ‘स्वागत अभिनन्दन कार्यक्रम मूल समारोह समिति’ को नामबाट सार्वजनिक सभाहरु गरिरहेका छन् ।

गत १७ पुसमा मात्रै भैरहवामा पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक सभालाई सम्बोधन गरेका थिए । त्यसअघि १३ जेठमा सुर्खेत र ७ जेठमा कञ्चनपुरमा सभा गरे । परिवारसहित नागरिक सभामा सहभागी भइरहेका पूर्वराजा ज्ञानेन्द्रले गत २० वैशाखमा नेपालगञ्जबाट सार्वजनिक मन्तव्य दिन थालेका हुन् ।

यस्ता सभाहरुमा संक्षेपमा लिखित सम्बोधन गर्दै आएका ज्ञानेन्द्र शाहले देश बचाउन आफू बोल्न विवश भएको प्रष्टोक्ति दिइरहेका छन् । ‘लामो समयको अन्तराल पछि फेरि पनि उभिएर देशको दशाका बारेमा त्यही र त्यस्तै कुरा बोल्न विवश छु’ नेपालगञ्जको सभामा ज्ञानेन्द्र शाहले भनेका थिए ।

ज्ञानेन्द्रले आफ्नो सम्बोधन र वक्तव्यमार्फत् नागरिकको साथ खोजिरहेका छन् । ‘अब म भन्छु– राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौं । र हाम्रो आफ्नै पाखुराको बलमा लड्न कम्मर कसौं’ वीरगञ्जको सभामा भनेका थिए ।

यसपटकको दशैं शुभकामनामा पनि ज्ञानेन्द्रले राजनीतिक भाषामा वक्तव्य निकालेका थिए । ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आवोध हामीले गरेका छौं’, वक्तव्यमा लेखेका थिए ।

२९ जेठ २०६५ पछि नागरिकको हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्रको गतिविधि बाक्लिन थालेको भने २०७८ को पृथ्वी जयन्तीदेखि हो । २७ पुस २०७८ मा ज्ञानेन्द्र शाह आफ्ना समर्थकहरुबीच पृथ्वीनारायण शाहको शालिक माल्यार्पण गर्न सिंहदरबारको पश्चिम गेट पुगेका थिए ।

त्यसबेला तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी सँगसँगै जसो ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको शालिक माल्यार्पण गर्न पुगेका थिए । कडा सुरक्षा घेराभित्र विद्या भण्डारीले शालिकमा माल्यार्पण गरेर फर्किएको एक घण्टाभित्रै धेरै समर्थकहरुबीच ज्ञानेन्द्र शाह त्यहाँ पुगेका थिए ।

त्यसबेला प्रमुख दलहरुबीच चर्को मतभेद थियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेर तीन पार्टी बनेको थियो– एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी । उनीहरुले एकअर्कालाई निषेध गरिरहेका थिए । नेपाली कांग्रेसको संसदीय र राजनीतिक हैसियत खुम्चिएको थियो ।

शक्तिशाली नेकपाको विभाजन, खुम्चिएको कांग्रेसको कमजोर भूमिका र कोरोना महामारीमा राज्यको कमजोर उपस्थितिले नागरिकमा देखिएको निराशाबीच त्यसबेला ज्ञानेन्द्र शाह सडकमा ओर्लिएका थिए । तर आपसी झगडामा रहेका दलहरुले त्यसलाई खासै वास्ता गरेका थिएनन् ।

पूर्वराजाले भने त्यसबेला थालेको गतिविधिलाई बाक्लो मात्रै बनाएका छैनन्, पुरानै व्यवस्थाका निम्ति नागरिक अपिल गरिरहेका छन् । विशेषगरी एक वर्षयता ज्ञानेन्द्र शाह खुलेर जनताबीच गइरहेका छन् ।

गत वर्ष १ फागुनमा पूर्वराजा ज्ञानेन्द्रले झापाको दमकमा आयोजित सभामा ज्ञानेन्द्र शाह, छोरा पारस र परिवारका अरु सदस्यसँगै मञ्चमा सहभागी भएका थिए । विवादित व्यवसायी दुर्गा प्रसाईंको आयोजना भएको त्यो सभामा सम्बोधन चाहिँ गरेका थिएनन् । तर अहिले ज्ञानेन्द्र शाह लगातार राजनीतिक भाषण गरिरहेका छन् ।

राजसंस्था पुनर्स्थापनाको राजनीतिक एजेण्डा बोकिरहेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने पूर्वराजाको सभा र सम्बोधनप्रति खुशी मान्नुपर्ने बताउँछन् । ‘जनतालाई नजिकबाट सुनिरहनुभएको छ । आफ्नो राजालाई भेट्ने र देख्ने अवसर दिइरहनुभएको छ’, लिङ्देन भन्छन् ।

तर पूर्वराजाको सक्रियता अनि राप्रपाको बढ्दो आकार तथा गतिविधिलई लिएर गणतन्त्र पक्षधर नेताहरु भने एउटै स्वरमा आपत्ति जनाइरहेका छन् । गत २२ कात्तिकमा प्रधानमन्त्री प्रचण्डले १२ बुँदे पक्षधर दलहरुको बैठक नै बोलाएका थिए ।

त्यसपछि संविधानको प्रतिबन्धात्मक व्यवस्था लागू गर्न सत्ता र प्रतिपक्ष एकै ठाउँ उभिदै आएका छन् ।

विशेषगरी राजधानी उपत्यकामा निषेधित क्षेत्रलाई विस्तार गर्दै बढाउँदै लैजाने, टिकटकमाथि प्रतिबन्ध र अरु सामाजिक सञ्जाललाई कस्ने जस्ता गतिविधिमा दलहरु एक ठाउँ छन् ।

कतिसम्म भने राष्ट्रियसभाको चुनावमा समेत सत्ता र प्रतिपक्षबीच भागबण्डाको गृहकार्य समेत चल्यो । यद्यपि सफल भने हुन सकेन ।

राप्रपाका अध्यक्ष लिङ्देन चाहिँ यो ध्रुवीकरण स्वभाविक रहेको बताउँछन् । आगामी फागुनदेखि राजसंस्था र हिन्दू राज्य पुनस्र्थापना गर्न आन्दोलनकै घोषणा गरेको राप्रपा अध्यक्ष लिङ्देन अब ध्रुवीकरणको समय धेरै टाढा नरहेको बताउँछन् ।

‘यो व्यवस्थाका पक्षधरहरु हाम्रो विपक्षमा हुनेछन् र यो व्यवस्थाको विपक्षमा भएका मानिसहरु स्वतः हामीसँग हुनेछन् । भलै अहिले अलग–अलग छन् । र त्यो ध्रुवीकरणले देशलाई एउटा सम्झौतामा लैजान्छ’, अनलाइनखबरसँगको अन्तर्वार्तामा लिङ्देनले भनेका छन् ।

जबकि गणतन्त्र पक्षधर नेताहरु भने त्यस्तो संभावना कहिल्यै नआउने दाबी गरिरहेका छन् । ‘जनताको सुप्रिमेसी नमानेर व्यक्तिको सुप्रिमेसी सचेत मान्छेले, स्वाभिमानी मान्छेले कसरी स्वीकार्छ ?’, एमाले अध्यक्ष ओलीले सार्वजनिक चुनौती दिइरहेका छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?