+
+

छुट बिल फिर्ता लिन उद्योगीले दिए प्राधिकरणमा निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १५:०३

२० पुस, काठमाडौं । लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले काटेका छुट बिल फिर्ता लिन भन्दै उद्योगीहरुले नेपाल विद्युत् प्राधिकरणका सम्बन्धित कार्यालयहरुमा निवेदन दिएका छन् ।

उद्योगलाई बिजुलीको बिल काट्ने प्राधिकरणका सम्बन्धित कार्यालयलाई बिल फिर्ताको निवेदन बुझाएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले बताए ।

विद्युत् नियमन आयोगले टीओडी मिटरको तथ्यांकका आधारमा मात्रै बिल जारी गर्नुपर्ने तथा लोडसेडिङ नभएको अवस्थामा ३१ वैशाख ०७५ देखि १ असरा २०७७ सम्मको महसुल लिन नमिल्ने निर्णय गर्दै त्यहीअनुसार कार्यान्वन गर्न प्राधिकरणलाई निर्देशन दिएपछि उद्योगीहरुले प्राधिकरणका कार्यालयहरुमा निवेदन दिएका हुन् ।

१ साउन ०७२ देखि लागु हुने भनी निर्धारित दरमा कार्यालयबाट जारी बिजक बमोजिमको सम्पूर्ण रकम यथासमयमा तिरेको र २ प्रतिशत छुटसमेत प्राप्त गरेकाले कुनै रकम बुझाउन बाँकी नरहेको उद्योगीहरुले लेखेको पत्रमा उल्लेख छ ।

६ घण्टा वा सो भन्दा बढी लोडसेडिङ कायम रहेको अवस्थामा २० घण्टा वा सो भन्दा बढी विद्युत् लिने औद्योगिक ग्राहकले विशेष दरमा महसुल तिर्नुपर्ने व्यवस्था गरी विशेष दर लगाउन तोकिएको शर्त र टाइम अफ डेट (टीओडी) मिटरको तथ्यांक डाउनलोड गरी त्यसका आधारमा विद्युत् उपभोग गरेको पुष्टि प्रमाणित हुँदा विशेष दरमा महसुल तिर्न तयार रहेको उद्योगहरुले लेखेको पत्रमा उल्लेख छ ।

‘यो अवस्थामा छुट रकम माग गर्ने सम्बन्धमा हालसम्म जारी अप्रमाणित पत्रादि, निर्णयहरु सबै फिर्ता लिई यस उद्योगको नाममा कायम गरिएको बक्यौता अभिलेख हटाई बक्यौता नतिरेको भनी काटिएको यस उद्योगको लाइन तत्काल जडान गरिदिनुहुन अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ ।

विद्युत् नियमन आयोगले १६ पुस २०८० मा महसुल निर्धारण आयोगको १०३, १०४ र १०८औं बैठकबाट कायम भएको दर १ असार ०७७ भन्दा पूर्वको खपतमा लाग्ने तर टीओडी डेटा डाउनलोड विवरणबाट पुष्टि गरी मात्र विशेष दर लगाउनसक्ने निर्णय गरेको छ । त्यो निर्णयमा विना प्रमाण उक्त दर लगाउन नसक्ने स्पष्ट गरिसकेको अवस्थामा छुट रकम दाखिला गर्ने पत्र, निर्णय एवम् बक्यौता अभिलेख समेत त्रुटिपूर्ण रहेको पनि उद्योगीहरुले दाबी गरेका छन् ।

साथै ‍२५ कात्तिक ०७३ देखि लागु हुनेगरी उद्योगहरुको लोडसेडिङ १६:३० बजेदेखी २०:३० सम्म ४ घण्टा मात्र रहेको र ३१ वैशाख ०७५ मा लोडसेडिङ सम्पूर्ण रुपमा अन्त्य गर्ने सूचनामा समेत ‘औद्योगिक ग्राहक’लाई ३ घण्टासम्म लोडसेडिङ गरी अन्य ग्राहकलाई नियमित विद्युत् आपूर्ति गर्दै आइरहेको भन्ने विषय उल्लेख भएको पत्रमा उल्लेख गरिएको छ । त्यसो हुँदा २५ कात्तिक ०७३ देखिको विद्युत् खपतमा विशेष दर नलाग्ने स्पष्ट स्थापित भएको उद्योगीहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?