+
+

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका १० उम्मेदवार, महामन्त्री थापाको लिखित असहमति

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते ५:५५

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो ।

राति अबेर सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र सोमबार बिहानपखमात्र बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो ।

कोशीमा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले टिकट पाएका छन् ।

मधेशमा आनन्द प्रसाद ढुंगानाले टिकट पाएका छन् । उनी केन्द्रीय सदस्य र पार्टीको अनुशासन समितिको संयोजक हुन् ।

वाग्मतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाएका छन् ।

विष्णु देवी महिला संघ काठमाडौंको पूर्व अध्यक्ष हुन् भने बस्नेत तरुण दलको पूर्व अध्यक्ष हुन् ।

गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियारले टिकट पाएका छन् ।

गोरखाका श्रेष्ठ प्रदेश महामन्त्री हुन् भने पदम बहादुर परियार तनहुँका हुन् । परियार अपाङ्ग पनि हुन्। उनीहरू दुवै जना संस्थापन इतर पक्षका हुन् ।

लुम्बिनीमा विष्णु देवी सापकोटाले टिकट पाएकी छन् । गुल्मीकी संस्थापन इतर नेता सापकोटाले महिला कोटाबाट टिकट पाएकी हुन् ।

कर्णालीमा प्रदेश महामन्त्री कृष्ण रोकायाले टिकट पाएका छन् ।

सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् ।

भट्ट कैलालीका पार्टी सभापति र अपाङ्ग हुन् भने बलदेव बोहरा कञ्चनपुरका पूर्व सभापति हुन् ।

गगन थापाको लिखित असहमति

१० जना मध्ये गण्डकीमा दुई जना र लुम्बिनीमा एक जना गरी तीन जना उम्मेदवार मात्रै शेखर कोइराला र गगन थापा पक्षले पाएको छ ।

४ जना दाबी गरेकामा तीन जना मात्रै पाएपछि महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् ।

मधेशमा मधेशी मूलका व्यक्ति नभएको भन्दै नेता अर्जुन नरसिंह केसी र बल बहादुर केसीले पनि लिखित असहमति जनाएका छन् ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?