+
+

मलेसिया गएका झापाका विनोद १६ वर्षदेखि सम्पर्कविहीन

रासस रासस
२०८० पुष २३ गते ८:०५

२३ पुस, झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन भएका छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा  मलेसिया गएका थिए ।

‘२२ वर्षको हुँदा मलेसिया गएको थियो’, विनोदकी ६६ वर्षीया आमा सुकमायाले भनिन्, ‘अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के गर्दैछ, केही अत्तोपत्तो छैन ।’

उनी मलेसिया गएपछि चार वर्षसम्म परिवारको सम्पर्कमा थिए । विनोदका दुई भाइ र दुई बहिनी छन् । माइला भाइ भीम घरमा आमा–बुबाको हेरचाह गरेर बसेका छन् भने कान्छा भाइ टेकबहादुर विदेश जाने क्रममा छन् । दुईजना बहिनी रुमा र लीलाको विवाह भइसकेको छ ।

विनोदका ७१ वर्षीय बुबा वीरबहादुर घरमै छन् । ‘१६ वर्षअघि म बिरामी परेका बेला एकपटक कस्तो छ बुबा भनेर सोधेको थियो, त्यसपछि खबर छैन’, उनले भने ।

सुकमायाले ९० हजार ऋण काढेर विनोदलाई आफ्नै भाइ नरबहादुर र स्थानीयवासी विकास सुब्बा (डोले) मार्फत काठमाडौंको मेनपावरबाट मलेसिया पठाएको बताइन् ।

उनका अनुसार मलेसिया गएपछि विनोदले ९० हजार ऋण तिर्ने पैसा र आमाबुबाको उपचारका लागि थप २० हजारसमेत पठाएका थिए ।

आमा सुकमाया र बुबा वीरबहादुरले छोरा जहाँ, जस्तो अवस्थामा भए पनि खोजी गरिदिन सबैलाई आग्रह गरेका छन् ।

स्थानीय हरिचन्द्र राउतले भने नौ वर्षअघि मलेसियामा विनोदसँग भेट भएको बताउँछन् । त्यसबेला विनोदले पेनाङस्थित बल्छी बनाउने कम्पनीमा काम गरिरहेको आफूलाई बताएको हरिचन्द्रले बताए ।

मलेसियामा हरिचन्द्र र विनोदको कोठा नजिकै रहेको थियो । उनीहरुको खाना खाने ठाउँ एउटै थियो । विनोदसँग त्यहीँ भेट भएको हरिचन्द्रले बताए ।

अवधि पुगेर हरिचन्द्र स्वदेश फर्किए । विनोद कुन मेनपावर कम्पनीमार्फत मलेसिया गएका थिए भन्ने बारेमा उनका बुबा र आमालाई थाहा छैन । तर, मेनपावर कम्पनीसम्म पुर्‍याउने नातेदारले सम्पर्क गराउने आश्वासन दिएका उनीहरू बताउँछन् ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?