+
+

कहाँ-कहाँ लगइन भएको छ तपाईंको जिमेल ? यसरी थाहा पाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १३:३८

के तपाईं आफ्नो जिमेलको लगइन हिस्ट्री थाहा पाउन चाहनुहुन्छ ? यदि तपाईंलाई आफ्नो जिमेल अकाउन्ट अरु कसैले लगइन गरेको शंका लागेको छ वा कुनै अर्को डिभाइसमा जिमेल चलाएर आफैले लगआउट गर्न बिर्सेको जस्तो लागेको छ भने त्यो शंका हटाउन तपाईंले आफ्नो जिमेल अकाउन्ट कहाँ कहाँ लगइन भएको छ भन्ने कुरा थाहा पाउनु आवश्यक हुन्छ । यसका लागि ५ वटा तरिका यस्ता छन् :

१. Google Account Settings को प्रयोग गरेर

गुगलले प्रयोगकर्ताालई उनीहरुको अकाउन्ट कुन कुन डिभाइसमा लगइन भएको छ भन्ने कुरा सजिलोसँग हेर्ने सुविधा दिएको हुन्छ ।

आफ्नो जिमेल लगइन भएका डिभाइसहरुको सूची हेरेर तपाईंले कुनै अपरिचित वा शंकास्पद डिभाइस भए पत्ता लगाउन सक्नुहुन्छ । यसले तपाईंलाई जिमेलको लगइन हिस्ट्री थाहा पाउन सहयोग गर्दछ । यसका लागि :

-आफ्नो कम्प्युटर वा फोनको कुनैपनि ब्राउजरमा गएर myaccount.google.com  खोल्नुहोस् र आफ्नो अकाउन्ट लगइन गर्नुहोस्

– फोनमा भए सबैभन्दा माथि र कम्प्युटरमा भए बायाँ भागमा रहेको Security अप्सनमा क्लिक गर्नुहोस्

-त्यसपछि तल स्क्रोल गर्नुहोस् र Your device ट्याबमा रहेको Manage all device अप्सनमा मा क्लिक गर्नुहोस्

-त्यसपछि तपाईंले आफ्नो गुगल अकाउन्ट लगइन भएका सबै प्रकारका डिभाइसहरुको सूची देख्न सक्नुहुनेछ ।

-यदि त्यसमध्ये कुनै डिभाइस तपाईंलाई शंकास्पद वा आफ्नो नभएको लाग्यो भने त्यसमा क्लिक गर्नुहोस् र त्यसको विस्तृत विवरणहरु हेर्नुहोस् ।

– त्यो डिभाइस आफ्नो होइन भन्ने पक्का भयो भने Sign Out अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो गुगल अकाउन्टको पासवर्ड परिवर्तन गर्न नबिर्सनुस् ।

(नोट : तपाईंले सीधै https://myaccount.google.com/device-activity?pli=1 वेबसाइटमा लगअन गरेर पनि तत्कालै आफ्नो जिमेल लगइन भएका डिभाइसको सूचफ हेर्न सक्नुहुन्छ।)

२. जिमेलको Activity Information फिचरको प्रयोग गरेर

जिमेलको यो फिचरले प्रयोगकर्तालाई जिमेल अकाउन्टको लगइन हिस्ट्री हेर्ने सुविधा दिएको हुन्छ । तर यो फिचर स्मार्टफोनमा उपलब्ध छैन र केवल कम्प्युटरमा मात्रै चलाउन सकिन्छ । यसका लागि :

-आफ्नो कम्प्युटरमा कुनै ब्राउजरमा जिमेल अकाउन्ट लगइन गर्नुहोस्

-त्यसपछि जिमेल इनबक्सको इमेलको सूची देखिने स्क्रिनलाई तल स्क्रोल गर्दै सबैभन्दा पिँधमा जानुहोस् र सबैभन्दा तल दायाँ छेउँमा रहेको Details अप्सनमा क्लिक गर्नुहोस्

-त्यसपछि नयाँ विन्डो खुल्नेछ जहाँ जिमेलको पछिल्लो गतिविधिको विस्तृत विवरण हुनेछ । तपाईंले आइपी एड्रेस, कुन माध्यमबाट जिमेलमा लगइन गरेको हो भन्ने विवरण, लगइन गरेको समय जस्ता विवरण त्यहाँ देख्न सक्नुहुन्छ ।

३. आफ्नो जिमेल अकाउन्ट प्रयोग गरिरहेका वेबसाइट र एपहरु हेर्नुहोस्

हामीले धेरै पटक आफ्नो जिमेल अकाउन्ट प्रयोग गरेर वेबसाइट तथा एपहरुमा साइन इन गरेका हुन्छौं । तर त्यो एप वा साइट प्रयोग गरिसकेपछि हामीले त्यसमा आफ्नो जिमेल लगइन छ भन्ने कुरा बिर्सिएका हुन्छौं । आफ्नो गुगल अकाउन्ट प्रयोग गरेर साइन इन गरिएको थर्ड पार्टी एपको बारेमा थाहा पाउन चाहनुहुन्छ भने यी चरण पूरा गर्नुहोस् :

-आफ्नो कम्प्युटर वा मोबाइल फोनको ब्राउजरमा गएर myaccount.google.com/ खोल्नुहोस् र आफ्नो गुगल अकाउन्ट लगइन गर्नुहोस्

-त्यसपछि कम्प्युटर स्क्रिनको बायाँ भागमा तथा मोबाइल स्क्रिनको सबैभन्दा माथिल्लो भागमा देखिने Security अप्सनमा क्लिक गर्नुहोस्

-त्यसपछि स्क्रोल डाउन गरी Signing in with Google मा क्लिक गर्नुहोस्

-त्यहाँ तपाईंले आफ्नो गुगल अकाउन्टमा पहुँच भएका एप तथा सर्भिसहरुको विवरण देख्न सक्नुहुन्छ । साथै गुगल अकाउन्टबाट साइन इन गर्न सकिने एप तथा साइटहरुको विवरण पनि देख्न सकिन्छ ।

४. Gmail Activity हेर्नुहोस्

गुगलले प्रयोगकर्ताको अकाउन्टमा भएका सबै गतिविधिहरुलाई वेब तथा एप एक्टिभिटी फिचर मार्फत् ट्रयाक गर्दछ । यो फिचरलाई सक्रिय बनाएर तपाईंले आफ्नो जिमेल अकाउन्टका सबै पछिल्ला गतिविधिहरु थाहा पाउन सक्नुहुन्छ । यसका लागि :

-आफ्नो कम्प्युटरको ब्राउजरमा myaccount.google.com/ खोल्नुहोस्

-बायाँ साइडबारमा रहेको Data and Privacy अप्सनमा क्लिक गर्नुहोस्

-त्यसपछि स्क्रोलडाउन गरी History Setting खण्डमा जानुहोस् र त्यहाँ रहेको My Activity मा क्लिक गर्नुहोस् ।

-Search Your Activity सर्च बारको प्रयोग गरी जिमेल खोज्नुहोस्

-त्यसपछि सर्च रिजल्टमा जिमेल हेर्नुहोस् । जिमेल सर्भिसमा रहेको Details बटनमा क्लिक गर्नुहोस् र जिमेल गतिविधिका बारेमा विस्तृत विवरण थाहा पाउनुहोस्

-तपाईंले activity time, operating system तथा प्रयोग भैरहेका डिभाइसको विवरण तपाईंले देख्न सक्नुहुन्छ ।

५. एन्ड्रोइड र आइफोनमा Gmail Activity हेर्नुहोस्

स्मार्टफोनमा जिमेल गतिविधि हेर्नका लागि माथि उल्लिखित तरिका हरुका अतिरिक्त तपाईंले निम्नानुसारका विधि पनि अपनाउन सक्नुहुन्छ :

-आफ्नो एन्ड्रोइड फोन वा आइफोनमा जिमेल एप खोल्नुहोस्

-प्रोफाइल पिक्चरको आइकनमा ट्याप गरी आफुले एक्टिभिटी हेर्न चाहेको अकाउन्टमा स्वीच गर्नुहोस् र Manage your Google account मा ट्याप गर्नुहोस् ।

-त्यसपछि सबैभन्दा माथि रहेको Data & privacy  मा ट्याप गरी History खण्डभित्र रहेको My Activity अप्सनमा ट्याप गर्नुहोस्

-त्यसपछि Search Your Activity  नामक सर्चबारमा जिमेल सर्च गर्नुहोस् र त्यसको विस्तृत विवरण थाहा पाउन Gmail activity  मा ट्याप गर्नुहोस्

६. Recent Security Activity हेर्नुहोस्

यदि कसैले कुनै अपरिचित डिभाइसबाट तपाईंले जिमेल अकाउन्ट साइन इन गर्यो भने तपाईंले त्यसको अलर्ट प्राप्त गर्नुहुन्छ ।

यदि तपाईंले त्यस्तो अलर्ट प्राप्त गर्नुभएन वा छुटाउनुभयो भने myaccount.google.com/notifications मा गएर नोटिफिकेसन अलर्ट हेर्न सक्नुहुन्छ । त्यसबाट तपाईंको जिमेल अकाउन्ट लगइन भएको डिभाइस तथा लोकेसन थाहा पाउन सकिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?