+
+
राष्ट्रपतिसँग नागरिक अगुवा :

‘रामवरणले चुरेमा काम गर्नुभयो, तपाईं उच्च शिक्षामा गर्नुहोस्’

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १७:३८

२३ पुस, काठमाडौं । नागरिक समाजका अगुवाले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर बेथिति र अव्यवस्थाको अन्त्यका लागि ‘मोरल अथोरिटी’ प्रयोग गर्न सुझाव दिएका छन् ।

सोमबार अपराह्न शीतलनिवास पुगेका अगुवा डा. देवेन्द्रराज पाण्डे, प्राध्यापक केदारभक्त माथेमा, पीताम्बर शर्मा, दमननाथ ढुंगाना, होमनाथ दाहालले यस्तो सल्लाह दिएका हुन् ।

संविधानले राष्ट्रपतिलाई विशेष अधिकार नदिए पनि नागरिकको उच्च सम्मानप्राप्त संस्थाको नेतृत्व भएकाले नैतिक शक्ति देखाउन चुक्न नहुने भन्दै अगुवाहरुले पछिल्लो अवस्थाबारे ध्यानाकर्षण गराएका थिए ।

प्रथम राष्ट्रपति रामवरण यादवले चुरे क्षेत्रको संरक्षणका लागि लिएको पहलबाट राष्ट्र लाभान्वित भएको भन्दै अगुवाहरुले वर्तमान राष्ट्रपतिलाई उच्च शिक्षा केन्द्रित भएर काम गर्ने अवसर रहेको औंल्याए ।

विश्वविद्यालयमा बेथिति र अराजकता बढेको हुनाले त्यसलाई सुधार्न राष्ट्रपतिका मार्गदर्शनहरु महत्वपूर्ण बन्ने उनीहरुको भनाइ थियो । ‘डा. यादवले राष्ट्रपति छँदा चुरे संरक्षणमा गर्नुभएको पहलले देशलाई सकारात्मक प्रभाव पार्‍यो’ प्राध्यापक माथेमाले राष्ट्रपतिलाई भने, ‘तपाईंलाई पनि यो उच्च शिक्षामा भएको बेथिति र अराजकता रोक्न सरकारलाई मार्गदर्शन गराउने, सरोकारवालाहरुलाई सचेत गराउने नैतिक दायित्व छ ।’

डा. पाण्डेले राजनीतिक र आर्थिक क्षेत्रमा व्याप्त विकृतिहरुबारे ध्यानाकर्षण गराउँदै राजनीतिक दलहरुमा शुद्धीकरणको अभावबारे बोलेका थिए । अगुवाहरुले भेटमा संघीयतालाई सुदृढ तुल्याउन, सुशासनको प्रत्याभूति, सेवा प्रभावलाई चुस्त र प्रभावकारी लगायतमा रहेर राष्ट्रपतिलाई सुझाव दिएको भेटमा सहभागीले जानकारी दिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले नागरिक समाजका अगुवाहरुले लोकतन्त्र, संघीयता, सुशासन सुदृढीकरण र शिक्षा क्षेत्रको बेथिति अन्त्य गर्ने विषयमा सुझाव दिएको जानकारी दिए ।

लोकतान्त्रिक आन्दोलनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका नागरिक समाजका अगुवालाई राष्ट्रपति पौडेलले सोमवार शीतलनिवासमा डाकेका थिए । सत्तामा रहेकाहरूको आचरण र व्यवहारबाट लोकतन्त्र कमजोर बनाउन चाहनेहरूलाई बल नपुगोस् भन्ने तर्फ सचेत रहनुपर्ने सुझाव नागरिक समाजका अगुवाहरुले दिएका थिए ।

लोकतान्त्रिक प्रणाली र व्यवस्थालाई मजबुत बनाउन ‘मोरल अथोरिटी’ प्रयोग गरेर अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिएको भेटमा सहभागी एक नागरिक समाजका अगुवाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?