+
+

रामबहादुर बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १०:३६

२५ पुस, काठमाडौं । अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक उच्च अधिकृतका अनुसार, जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी छ ।

ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले २०७५ सालको १८ पुसमा किटानी जोहरी दिएकी थिइन् ।

जोहरीमा उल्लेख भएअनुसार रिता बाराको हलखोरियास्थित बम्जनको आश्रममा बसेकी थिइन् । पछि २०६६ सालमा गढीमाई मेलामा गएपछि उनी बेपत्ता थिइन् ।

गढीमाई मेलामा आफूले बली रोक्ने भन्दै त्यसबेला बम्जनले उद्घोष गरेका थिए । यद्यपि, त्यसको केही समयपछि उनी एक महिनासम्म हराएका थिए ।

यो मुद्दामा जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पूर्जी जारी भएकाले बुधबार त्यहाँ उपस्थित गराएपछि अन्यत्रका मुद्दाबारे पनि अध्ययन गर्ने सीआईबीका एक अधिकृतले बताए । ‘त्यहाँको मुद्दा किनारा लागेपछि अर्कोतिर बुझाउँछौं’, ती अधिकृतले भने, ‘अहिलेलाई सर्लाही बुझाउने भन्ने छ ।’

बम्जनमाथि बाराका ३४ वर्षीय सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ । उनीहरु सबैलाई सिुन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान छ । यद्यपि, उनीहरु कहाँ होलान् भन्ने विषयमा प्रहरीले केही आधार फेला पारेको छैन ।

सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै समेत उजुरी समेत परेको थियो ।

प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा छापा हानेको थियो । जहाँ बेपत्तामध्ये सञ्चलालको हत्या भएको आशंका गरिउको थियो । करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटिएपछि उत्खनन् गर्दा ९ वटा नुनको प्याकेट पनि भेटिएको थियो, जुन शव गलाउन प्रयोग गरेको हुनसक्ने अनुमान थियो ।

सीआईबीको टोलीले ३ असार २०७७ मा सिन्धुलीको कमलामाई नगरपालिका–९, पैरेस्थित बम्जन आश्रममा छापा मारेको थियो । त्यसबेला बम्जन त्यहाँ रहेको सूचना पाएपछि काठमाडौंस्थित सीआईबीबाट एसपी बेलबहादुर पाण्डे नेतृत्वको टोली सिन्धुली पुगेको थियो । तर, प्रहरी खाली हात फर्किनु परेको थियो ।

मंगलबार पक्राउ परेका बम्जनको घरमा विभिन्न १६ मुलुकका मुद्रा समेत भेटिएका छन् । सीआईबीका एक अधिकृतका अनुसार, त्यसरी बरामद रकम नेपाली रुपैयाँ अनुसार कम्तिमा ३ करोड ३४ लाख छ ।

‘अझै पनि सीआईबीको टोली उनको घरमै छ’, ब्यूरोका एक अधिकृतले भने, ‘अमेरिकन डलर, थाई, क्यानडियन लगायतका मुद्रा बरामद भएका छन् ।’

प्रहरीले बम्जनको घरबाट कम्तिमा २० वटा मोबाइल, दुई वटा ल्यापटप र १५ वटा पेनड्राइभ पनि बरामद गरेको छ । बम्जन हात्तिगौंडास्थित घरमा श्रीमती र छोराछोरीसहित बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?