+
+

भारत, यूएई र थाइल्याण्ड नेपाली पर्यटकका मुख्य गन्तव्य, कहाँ कति पुगे ?

सन् २०२३ मा कुल २ लाख ४ हजार ५१८ जना नेपाली घुम्नका लागि विदेश पुगेका छन् ।

अच्युत पुरी अच्युत पुरी
२०८० पुष २९ गते १७:५३

२९ पुस, काठमाडौं । भारत, यूएई र थाइल्याण्ड नेपाली पर्यटकका लागि आउट बाउण्ड टुरिजममा सबैभन्दा आकर्षक गन्तव्य रहेको पाइएको छ । सन् २०२३ मा कुल २ लाख ४ हजार ५१८ जना नेपाली घुम्नका लागि विदेश पुगेका छन् । यसमध्ये नेपालीको मुख्य गन्तव्य भारत, युनाइटेड अरब इमिरेट्स (यूएई) र थाइल्याण्ड रहेको तथ्यांकले देखाएको छ । सन् २०२३ मा भारतमा मात्र ७१ हजार ६९८ जना नेपाली घुमफिर र पर्यटनको प्रयोजनमा गएका थिए ।

यूएईमा ५५ हजार ६१८ जना नेपाली सो प्रयोजनमा गएको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । थाइल्याण्डमा २१ हजार २६० जना नेपाली घुमफिरको प्रयोजनमा पुगेको अध्यागमनको तथ्यांकमा उल्लेख छ । चौथो नम्बरमा चीन रहेको छ । चीनमा ६ हजार ९३ जना नेपाली घुम्ने प्रयोजनमा गएका थिए । पाँचौ नम्बरमा अष्ट्रेलिया रहेको छ । यस मुलुकमा ५ हजार ८०१ जना नेपाली घुम्न पुगेका छन् ।

सन् २०२३ मा कुल १६ लाख ३ हजार ८३६ नेपाली विदेश गएका थिए । जसमध्ये ८ लाख ८ हजार ४१५ जना नेपाली कामको खोजिमा विदेशिएका थिए । २ लाख ४ हजार ५१८ जना नेपाली पर्यटन भिसा र घुमफिरको प्रयोजनमा विदेशिएका थिए । सो संख्यालाई विभागले गन्तव्य मुलुक अनुसार छुट्याएर सार्वजनिक गरेको हो । यो सूचीमा पारिवारिक प्रयोजन, अध्ययन, तालिम÷सभा–सम्मेलन, उपचार, व्यापार, खेलकुद, सांस्कृतिक कार्यक्रमसहितको प्रयोजनमा विदेश गएकाको समावेश छैनन् ।

घुम्नकै लागि १५६ देशमा पुग्छन् नेपाली

भ्रमण भिसा लिएर वा घुम्ने प्रयोजनमा नेपालबाट विदेशिएका २ लाख ४ हजार ५१८ जना नेपाली विश्वका १५६ मुलुकमा पुगेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । २६ वटा मुलुकमा एक/एक जना नेपालीले पर्यटन भिसा लिएको पाइएको छ । यी मुलुकमा उत्तर कोरियादेखि टोगोसम्म छन् । भेनेजुएला, स्लोभाकिया, पपुवा न्यूगिनी, पलाउ, कोशोभोजस्ता मुलुकमा समेत एक÷एक जना नेपाली भ्रमण भिसामा पुगेको विभागको तथ्यांक छ ।

सार्कमा भारतबाहेक अन्य मुलुकमा छैन नेपालीको आकर्षण

तथ्यांक अनुसार नेपालीले घुमफिरको प्रयोजनमा सबैभन्दा धेरै रोजेको भारतबाहेक सार्क क्षेत्रमा अन्य मुलुकको घुमफिरमा आकर्षण देखिँदैन । तथ्यांक अनुसार भारतपछि दोस्रो स्थानमा बंगलादेश रहेको छ । जहाँ एक वर्षमा मात्र १५ सय १ जना नेपाली घुम्ने प्रयोजनमा पुगेका छन् । तेस्रो स्थानमा श्रीलंका छ । यस मुलुकमा १४ सय ८३ जना पुगेका छन् । चौथो स्थानमा रहेको माल्दिभ्समा १३९६ जना नेपाली घुमफिरमा निस्किएका छन् । पाँचौ स्थानमा भुटान छ । जहाँ एक वर्षमा ४०५ जना नेपाली पुगेका छन् । छैठौं स्थानमा रहेको पाकिस्तानमा १३४ जना नेपाली घुम्ने प्रयोजनमा पुगेका छन् ।

यूएईसँगको पर्यटन व्यापार घाटा, थाइल्याण्डसँग नाफा

एक वर्षको अवधिमा धेरै नेपाली घुम्ने मुलुकमध्ये युनाइटेड अरव इमिरेट्ससँगको पर्यटन व्यापार घाटामा देखिएको छ । थाइल्याण्डसँगको पर्यटन व्यापार भने नाफामा देखिएको छ । एक वर्षमा यूएईबाट नेपाल घुम्न आउने पर्यटक मात्र ५५६ जना रहेको छ । थाइल्याण्डबाट नेपाल घुम्न आएका पर्यटकको संख्या २५ हजार ६७८ जना रहेको छ । भारतबाट सर्वाधिक ३ लाख १९ हजार ९३६ जना पर्यटक नेपाल आउँदा अमेरिकाबाट दोस्रो सर्वाधिक १ लाख ३५७ जना पर्यटक नेपाल घुम्न आएका छन् ।

उत्साहित छन् व्यवसायी

नेपालबाट विदेशमा नेपालीलाई घुमफिर गराउने व्यवसायी घुमफिरमा जाने नेपालीहरुको यो संख्याबाट उत्साहित छन् । नेपालजस्तो अतिकम विकसित मुलुकबाट पनि वर्षमा २ लाख भन्दा धेरै मानिस घुम्नकै लागि विदेश जाने गरेको देखिनुले नेपालीको आर्थिक अवस्थामा सुधार भइरहेको देखाउने उनीहरुको भनाइ छ ।

ट्रेकिङ एजेसिन्ज एसोसिएसन अफ नेपाल (टान)का महासचिव विनोद सापकोटा यसले पर्यटन व्यवसायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउँछन् । कोभिड–१९ महामारीपछि धेरै मुलुकले पर्यटक आकर्षित गर्न ल्याएका स्किमहरुले नेपालीलाई समेत प्रेरित गरेको देखिएको उनले बताए ।

सन् २०२३ मा घुम्नका लागि कुन मुलुकमा कति नेपाली पुगे ? (टप १०)

  • भारत : ७१,६९८
  • यूएई : ५५,६१८
  • थाइल्याण्ड : २१,२६०
  • चीन : ६,०९३
  • अष्ट्रेलिया : ५,८०१
  • सिंगापुर : ४,६६०
  • मलेसिया : ४,४७३
  • अमेरिका : ४,०३४
  • जापान : २,५९०
  • ओमान : २,४९६

हेर्नुहोस् सूची:

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?