+
+

प्रधानमन्त्री कपमा एपीएफको विजयी सुरुवात, बागमतीको दोस्रो हार

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १७:०१

२९ पुस, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । त्यसक्रमा उनले बागमती प्रदेशमाथि ८९ रनको फराकिलो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले सन्दीप जोराको शतक मद्दतमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको थियो ।

पाँचौं नम्बरमा ब्याटिङमा आएको जोराले एक छेउबाट इनिङ सम्हाल्दै ११७ बलमा ११२ रन बनाए । त्यस क्रममा ५ छक्का र ७ चौका हाने ।

उनले छैटौं विकेटका लागि लोकेश बमसँग ६६ रनको र आठौं विकेटका लागि अमर रौतैलासँग ६८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । बम २७ र रौतेला २२ रनमा आउट भए ।

बलिङतर्फ बागमतीका लागि सूर्य तामाङले सार्वधिक ३ विकेट लिए । प्रतिश जिसी, रिजन ढकालले २/२ विकेट लिए । सोनु देवकोटाले १ विकेट लिए ।

जितका लागि २४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १५२ रन बनाउँदै अलआउट भयो ।

बागमतीका लागि कप्तान रित गौतमले सर्वाधिक ६० रन बनाए । उनले ८९ बलमा ८ चौका प्रहार गरे । ओपनर इशान पाण्डे खाता नै नखोली आउट भए पनि अशुतोष घिरैयाले ५७ बलमा ५ चौकासहित ४१ रन बनाए । उनले रितसँग दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए ।

एक समयमा बागमती २ विकेटको क्षतिमा ११५ रनको स्थितिमा थियो । तर २९।३ ओभरमा टिमको स्कोर ११५ रन हुँदा विवेक मगर तेस्रो विकेटका रुपमा व्यक्तिगत १५ रनमा आउट भएपछि बागमतीको विकेट पतनको शृंखला सुरु भयो ।

रित गौतम चौथो विकेटका रुपमा टिमको स्कोर १२० रन हुँदा आउट भए । त्यसपछि ब्याटिङमा आएका रबिन जोशी २० रनमा नट आउट रहे पनि अन्य कुनै पनि ब्याटरले दोहोर अंकमा रन जोड्न सकेनन् ।

एपीपएफलाई जिताउन कप्तान रोहितकुमार पौडेल एक्लैले ४ विकेट लिए । लागि मौसम ढकाल र अभिनास बोहोराले २/२ विकेट लिए । पुरन विक र भुवन कार्कीले समान १/१ विकेट लिए ।

पहिलो खेलमा नेपाल पुलिससँग ६८ रनले पराजित भएको बागमतीको यो लगातार दोस्रो हार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?