+
+

विद्युत् प्राधिकरणको आईपीओ स्वीकृतिका लागि मन्त्रिपरिषद्‍मा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते २०:०१

२९ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई प्रिमियम मूल्यमा धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न दिने प्रस्ताव मन्त्रिपरिषद्‍मा पेश भएको छ ।

प्राधिकरणलाई आईपीओ निस्कासन गर्न दिने प्रस्ताव स्वीकृतिका लागि ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्‍मा पठाएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए ।

अर्थ मन्त्रालयले आईपीओ निस्कासनका लागि सहमति दिएसँगै यस सम्बन्धी प्रस्ताव ऊर्जाले अघि बढाएको हो ।

प्राधिकरणको जारी पूँजी ३ खर्ब पुर्‍याएर त्यसको १० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरिएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनर्संरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो ।

प्राधिकरण सञ्चालक समितिको गत २५ मंसिरमा बसेको बैठकले आईपीओ जारी गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रतिसेयर १३० रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २३० रुपैयाँमा आईपीओ जारी गर्ने निर्णय भएको विद्युत् प्राधिकरणका एक सञ्चालकले बताए ।

प्राधिकरणले जारी पूँजी ३ खर्ब रुपैयाँको १० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने निर्णय गरेको छ । त्यस हिसाले ३० अर्ब पूँजी संकलनका लागि ३० करोड कित्ता सेयर निस्कासन हुनेछ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ मा खुद सम्पत्ति (नेटवर्थ) को दुई गुणासम्म प्रतिसेयर मूल्य कायम गरी प्रिमियम मूल्यमा आईपीओ जारी गर्न सक्ने व्यवस्था छ । हाललाई प्रस्तावित अधिकृत पूँजीको १० प्रतिशतसम्म सर्वसाधारणलाई सेयर जारी गर्न ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्‍मा स्वीकृतिका लागि अनुरोध गरिएको हो ।

प्राधिकरण सञ्चालक समितिले अर्थ मन्त्रालयबाट अधिकृत पूँजी तीन खर्ब कायम गर्न सहमति पाएपछि ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको थियो ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक वित्तीय विवरण लेखापरीक्षणको क्रममा रहेकाले प्राधिकरणको कुल नेटवर्थ कति रहेको छ भन्ने यकिन हुन बाँकी छ । तर, करिब ११५ रुपैयाँ नेटवर्थ अनुमान रहेकोले प्राधिकरणले आईपीओ जारी गर्ने अनुमानित मूल्य प्रतिकित्ता २३० रुपैयाँसम्म हुनसक्ने स्रोतको दाबी छ ।

प्राधिकरणको लेखापरीक्षण अन्तर्राष्ट्रिय लेखापरीक्षक केपीएमजीले समेत गर्दै छ । लेखापरीक्षणपछि मात्रै प्राधिकरणको प्रतिसेयर नेटवर्थ यकिन हुने र आईपीओको प्रिमियम मूल्य यकिन हुने एक सञ्चालकले जानकारी दिए ।

आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण भएको वित्तीय विवरण अनुसार प्राधिकरणको चुक्ता पूँजी १ खर्ब ७५ अर्ब ३३ करोड ७१ लाख ९० हजार रहेको छ । यस्तै सञ्चित मुनाफा २४ अर्ब ७६ करोड ४६ लाख १९ हजार र अन्य जगेडा कोषमा ६ अर्ब २५ करोड ३ लाख ६७ हजार गरी कुल इक्विटी २ खर्ब ६ अर्ब ३५ करोड २१ लाख ७६ हजार रहेको छ ।

विद्युत् प्राधिकरण ऐन २०४१ को दफा (५) मा सर्वसाधारणलाई सेयर जारी गर्न सकिने व्यवस्था छ । सोही अनुसार प्राधिकरणको सेयर जारी गर्ने प्रस्ताव गरिएको हो ।

सर्वसाधारणलाई सेयर जारी गरी प्राप्त हुने रकम दीर्घकालीन लगानीका रुपमा जलाशययुक्त आयोजना निर्माण, प्रसारण तथा वितरण लाइनको विस्तार तथा सुदृढीकरण कार्यमा उपयोग गरिने प्राधिकरणले जनाएको छ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने लागेको प्राधिकरणले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ ।

इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ रेटिङ प्रदान गरेको छ । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ ।

प्राधिकरणले गत वर्ष पनि सोही रेटिङ पाएको थियो । इक्रा नेपालले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वहरुलगायतको विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो ।

गत आर्थिक वर्षको लेखापरीक्षण अगाडिको वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १० अर्ब ९८ करोड रहेको रेटिङ एजेन्सी इक्राले क्रेडिट रेटिङमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?