+
+

सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते ६:५७

१ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदैछ ।

माघेसङ्क्रान्तिलाई सुदूरपश्चिममा नरहरि पर्वका रुपमा मनाउने चलन रहेको छ ।

नरहरिमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन रहेको छ ।

पुसको अन्तिम साँझ अथवा पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागका लागि राख्ने चलन छ ।

पुसको अन्तिम साँझ पकाएका खानेकुरा माघेसङ्क्रान्तिका दिन बिहानै नुहाइधुवाइ गरेर ‘का कौवा का, मेरो रोटी खा’ भन्दै कागलाई बोलाई खुवाउने गरिन्छ ।

धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम कागले गर्ने मान्यता रहेको छ ।

आकाश मार्गबाट छिटो सन्देश ल्याउने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको शास्त्रमा उल्लेख छ ।

कागलाई यमराजको सन्देश वाहकका रुपमा समेत पूजा गर्ने चलन रहेको छ । आजको दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने गरिन्छ ।

कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पक्षीका रुपमा लिइन्छ ।

कागले पुस १५ गते तीर्थस्थलमा गई स्नान गरी आज फर्केर रोटी खाने गरेको जनविश्वास छ ।

काग अत्यन्तै चलाखसँगै सर्वभक्षी प्राणी हो ।

कागले सबैलाई समान दृष्टिले हेर्ने धार्मिक मान्यता छ । यसले अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा र सबै प्रकारका फोहर खाइदिने हुनाले सर्वगुणी पक्षीका रुपमा पनि लिइन्छ ।

आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको पण्डित भट्ट बताउँछन् । कागले लगेर लुकाएको रोटीलाई ब्याउने गाईलाई खुवाए बाच्छाबाच्छी सपि्रने विश्वास समेत रहेको छ ।

माघमा माछा मासु खानु हुँदैन भन्ने चलन पनि पुस्तौंदेखि चलिआएको छ । पुसको अन्तिम दिन पकाउने र माघको पहिलो दिन खाने प्रचलन अनुसार यसलाई ‘पुसको पाक्य माघको खाक्य’ पनि भन्ने गरिएको छ ।

सुदूरपश्चिममा काम विशेषले बाहिर रहेकाहरु माघे सङ्क्रान्ति नरहरी पर्व मनाउन घर फर्किने गर्छन भने विवाहित महिला माइतीघर जाने चलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?