+
+

इलाम–२ मा स्थानीय उम्मेदवार खोज्दै रास्वपा 

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १६:२५

२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ को उपनिर्वाचनमा स्थानीय व्यक्तिलाई उम्मेदवार बनाउने भएको छ । उक्त क्षेत्रबाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएपछि उपनिर्वाचन हुँदैछ ।

उम्मेदवार छनोटमा स्थानीय व्यक्तिलाई प्राथमिकता दिने महामन्त्री मुकुल ढकालले जानकारी दिए । यसअघि भएको उपनिर्वाचनमा रास्वपाले स्थानीय उम्मेदवार बनाएको थिएन ।

चितवन–२ मा रवि लामिछाने, तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले र बारा–२ मा रमेश खरेल उम्मेदवार बन्दा तीनै जना स्थानीय उम्मेदवार थिएनन् ।

लामिछाने र वाग्लेले चुनाव जिते पनि बाराका उम्मेदवार खरेलले निकै कम मत पाएका थिए । ‘बारामा स्थानीय उम्मेदवार नभएकै कारणले जमानत नै जफत हुने अवस्था बन्यो’, महामन्त्री ढकालले भने, ‘बारा र तनहुँको उपनिर्वाचनबाट हामीले धेरै कुरा सिकेका छौं ।’

कोशीमा प्रदेश नामकरणको मुद्धा विवादमा परेको छ । त्यसैले इलाममा बाहिरका व्यक्ति उम्मेदवार बनाउँदा नकारात्मक सन्देश जान सक्ने महामन्त्री ढकाल बताउँछन् ।

उम्मेदवार बनाउनका लागि पार्टीले केही अनुहारलाई ‘नोटिस’मा राखेको ढकालले जानकारी दिए । उनका अनुसार रास्वापाबाट उम्मेदवार हुने आकांक्षा राखेर सम्पर्कमा आउने व्यक्तिहरु पनि छन् ।

उपनिर्वाचनलाई ध्यानमा राखेर रास्वपाले इलाममा पार्टी गतिविधि गरिरहेको छ । महामन्त्री ढकाल दुई दिन इलामको कार्यक्रममा सहभागी भएर फर्किएका छन् ।

उपनिर्वाचन भएको जिल्ला भएकाले महत्व दिएर प्रशिक्षणका लागि गएको उनले बताए । रास्वपाले इलामका सबै पालिकामा संगठन विस्तार गरिसकेको छ । २०७९ मंसिरमा भएको आम निर्वाचनमा एमालेका नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई झिनो मतान्तरले पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?