+
+

सेयर बजारमा सक्रिय लगानीकर्ता बढे, कारोबार दुई वर्षयताकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १९:०७

२ माघ, काठमाडौं । गएको वैशाख २८ गते जम्मा ५२ करोड रुपैयाँबराबर सेयर कारोबार भएको थियो । आठ महिनापछि मंगलबार कारोबार रकम ८ अर्ब २ करोडबराबरको भयो । यो रकम करिब दुई वर्षयताकै उच्च हो ।

यसअघि २०७८ माघ २० मा ८ अर्ब ६१ करोड रुपैयाँबराबर कारोबार भएको थियो । पछिल्ला दिनमा दैनिक सेयर कारोबार रकम बढ्दै गएको छ ।

कारोबार रकम बढ्नुले सेयर बजारमा पैसा भित्रिरहेको र लगानीकर्ता सक्रिय रहेको जनाउँछ । पछिल्लो समय सेयर लगानीकर्ता संख्या पनि बढेको र पुराना पनि सक्रिय रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकले देखाउँछ ।

समग्र बजार बढ्दै जाँदा सक्रिय लगानीकर्ता संख्या पनि बढ्दै जाने गरेको देखिन्छ । नेप्सेका अनुसार हालसम्म १९ लाख २ हजार ४ सय ७७ जनाले विभिन्न ब्रोकर कम्पनीबाट ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) आईडी र पासवर्ड लिएका छन् । तीमध्ये ७ हजार ५ सय ९६ विभिन्न कर्पोरेट संस्थाको हो ।

टीएमएसबाटै सेयर खरिद वा बिक्रीका लागि आदेश दिइन्छ । यही सिस्टम लगइन गरेर बस्नेको संख्या अहिले उल्लेख्य रहेको नेप्से प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

‘कारोबार भइरहँदा टीएमएस लगइन गरेर बस्नेको संख्या अहिले उल्लेख्य बढेको छ,’ उनले भने, ‘बजार घटेका बेला एक महिना अघिसम्म दैनिक २५/३० हजारले टीएमएस लगइन गरेर बस्ने गरेकोमा अहिले दैनिक ७०/७५ हजार हुने गरेका छन् ।’

बजार बढ्दा सक्रिय लगानीकर्ता संख्या बढ्नु स्वाभाविक रहेको पराजुलीले बताए ।

अहिले ब्रोकर कार्यालयहरूमा समेत चहलपहल हुन थालेको छ । केही साता अघिसम्म सुनसान हुने गरेका ब्रोकर कार्यालयमा यतिबेला लगानीकर्ताको उपस्थिति हुन थालेको छ ।

नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र सिजापतिले ब्रोकर कार्यालयहरूमा चहलपहल सुरु हुन थालेको बताए ।

‘अहिले अनलाइन प्रणालीबाट घरमै बसेर आफैंले खरिद–बिक्री गर्न सकिने भएकाले त्यति धेरै भीड त भएको छैन,’ उनले भने, ‘एकअर्काबीच सेयरका विषयमा छलफल गर्ने थलोका रूपमा ब्रोकर कार्यालय आउनेको संख्या बढेको छ ।’

सेयर बजार बढ्दै जाँदा स्वाभाविकरूपमा ब्रोकर कार्यालयमा रौनक थपिने उनले बताए । ‘घरबाटै कारोबार गर्न सकिने व्यवस्था भए पनि ब्रोकर कार्यालयमा एकअर्कासँग परामर्श लिने/दिने, नयाँ जानकारी लिने उद्देश्यले लगानीकर्ता आउने गरेका छन्,’ उनले भने ।

अहिले सबैजसो ब्रोकर कार्यालयले स्क्रिनमा कारोबारको फ्लोरसिट देखाउन थालेका छन् । पहिले–पहिले लगानीकर्ताको उपस्थिति नहुँदा ब्रोकर कार्यालयका स्क्रिनसमेत बन्द हुने गरेका थिए ।

त्यस्तै ब्रोकर खाता खोल्न आउनेको संख्यासमेत बढेको सिजापतिले बताए । ‘आईपीओ मात्रै भर्ने गरेकाहरू पनि अहिले दोस्रो बजारमा कारोबारका लागि खाता खोल्न आउने गरेका छन्, अहिले त्यस्तो संख्या उल्लेख्य बढेको छ,’ उनले भने ।

सेयर बजार बढ्दा यससम्बन्धी चर्चा परिचर्चा पनि बढी मात्रामा हुने गरेको छ । ‘बजार बढ्दा हल्लीखल्ली बढी हुनु र नयाँ लगानीकर्ता थपिनु स्वाभाविक हो,’ उनले भने ।

हालै बजारमा सूचीकृत भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओ भर्नेजति सबै १५ लाख ६४ हजारले पाएका छन् । यो आईपीओ दोस्रो बजारबाट बिक्री गर्न ब्रोकर खाता अनिवार्य खोल्नुपर्छ ।

ब्रोकर खाता खोलिसकेपछि मात्रै टीएमएसको युजरनेम र पासवर्ड ग्राहकले पाउँछन् । ब्रोकर खाता खोलिसकेपछि दोस्रो बजारबाट सेयर खरिद गर्न पनि मिल्छ ।

सेयर बजारमा नयाँ लगानीकर्ता भित्रिँदा बजारमा थप पूँजी भित्रिन्छ । यसले गर्दा समग्र बजार चलायमान हुन मद्दत गर्छ । गत वर्ष पुस मसान्तसम्म वाणिज्य बैंकले नै व्यक्तिगत मुद्दती खातामा १२.१३ प्रतिशत ब्याज दिएका थिए ।

तर, यो वर्ष पुसमा बढीमा १० प्रतिशत दिएका बैंकले माघमा झनै घटाएर ९ प्रतिशतमा झारेका छन् । जसले गर्दा लगानीकर्ता सेयर बजारप्रति आकर्षित भएका छन् । बैंकमा पैसा राखेर पाइने ब्याजदर भन्दा सेयर बजार बढ्ने क्रममा रहँदा यस क्षेत्रमा राम्रो लाभ मिल्ने सोचले पनि यतातिर नयाँ लगानीकर्ता भित्रिएको हुन सक्ने सिजापतिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?