+
+
अस्तव्यस्त वीपी प्रतिष्ठान :

बढुवामा फेरि झेल, श्रीमतीलाई उपकुलपति बनाउने कार्कीको खेल

सेवा बन्द गरेर सडकमा चिकित्सक, घरबाटै प्रतिष्ठान चलाउँछन् कामु उपकुलपति

कामु उपकुलपति कार्कीले आफू अनुकुल ११ विभागीय प्रमुख परिवर्तन गरेपछि आन्दोलनरत शिक्षक कर्मचारी झन् रुष्ट बनेका छन् । प्रतिष्ठान स्रोतका अनुसार प्रा. डा. कार्कीकी श्रीमती डा. संगीता भण्डारी उपकुलपति बन्ने दौडमा छिन् ।

हरि अधिकारी हरि अधिकारी
२०८० माघ २ गते २०:११

२ माघ, विराटनगर । शिक्षक तथा कर्मचारीको आन्दोलनका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको आकस्मिक बाहेकका सेवा ठप्प भएको छ । पूर्वसहमति कार्यान्यन नभएको भन्दै शिक्षक तथा कर्मचारी आइतबारदेखि काम रोकेर सडकमा उत्रिएका छन् ।

प्रतिष्ठानमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प छ । दैनिक उपचारका लागि आउने करिब दुई हजार बिरामी मर्कामा परेका छन् ।

प्रतिष्ठानमा बढुवा प्रक्रिया रोकिएपछि शिक्षक तथा कर्मचारी असोजमा पनि आन्दोलनमा उत्रिएका थिए । ६ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया खुला गर्न माग गर्दै उनीहरुले आन्दोलन गरे । १७७ चिकित्सकले कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाएका थिए ।

२० कात्तिकमा आन्दोलनरत शिक्षक, कर्मचारीहरु र व्यवस्थापन पक्षबीच छुट्टाछुट्टै ४ बुँदे सहमति भयो । सहमतिमा आवश्यक विधि र प्रक्रिया पूरा गरी बढुवाका लागि पुस २ देखि १५ गतेसम्म अन्तर्वार्ता गर्ने उल्लेख थियो । तर सहमतिअनुसार प्रक्रिया अघि बढेन ।

कामु उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीले कानुनी अड्चन रहेको भन्दै आलटाल गरे । शिक्षक कर्मचारीले सहमति कार्यान्वयनका लागि दबाव दिएपछि उनले २५ पुसमा कार्यकारिणी समितिको बैठक बोलाए, जसको एजेण्डा शिक्षक कर्मचारीको बढुवाका लागि अन्तर्वार्ता थियो ।

अघिल्लो दिन नै उनी विदामा बसेपछि कार्यकारिणी समितिको बैठक नै बस्न सकेन । भोलिपल्ट २६ पुसमा शिक्षक तथा कर्मचारी कल्याण समाजको संयुक्त बैठकले आन्दोलनको घोषणा गर्‍यो र २९ पुसदेखि काम छाडेर शिक्षक तथा कर्मचारी आन्दोलनमा उत्रिए ।

शिक्षक तथा कर्मचारीले कुलपति एवं प्रधानमन्त्री प्रचण्डलाई समस्या सामधानका लागि पत्राचार गरेका छन् । ‘उहाँ (उपकुलपति) ले सक्दिन भनिसक्नुभयो, अब कि सहकुलपतिले कि कुलपतिले गर्ने हो’, शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खा भन्छन्, प्रधानमन्त्रीले ठोस निर्णय गरिदिनुपर्‍यो ।’

उपकुलपति कार्कीले काम गर्न नसक्ने भएका कारण उनको बखास्ती गर्न पनि शिक्षक कर्मचारीको माग छ ।

बढुवामा स्वार्थको खेल

तत्कालीन उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि प्रा. डा. कार्कीले असार २०८० मा कामु उपकुलपतिको जिम्मेवारी पाएका थिए । उनले उमेर हदका कारण ५ पुसमा अवकाश पाइसकेका छन् ।

तर नयाँ उपकुलपतिको नियुक्ति प्रक्रिया सुरु भएको छैन । प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पुनः कामु उपकुलपतिको जिम्मेवारी कार्कीलाई नै दिएका छन् ।

स्रोतका अनुसार भोजपुरका उनलाई कांग्रेस नेताहरुको जोडबलमा कामु जिम्मेवारी दिइएको हो । कार्की २५ पुसयता कार्की कार्यालयमा हाजिर भएका छैनन् । घरबाटै कामकाज गर्ने गरेका छन् । उनले आइतबार घरबाटै विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरे, रजिष्ट्रारको अख्तियारी खोसे । त्यो पत्र सोमबार मात्र प्रतिष्ठानमा पुगेको छ ।

रजिष्ट्रार डा. सूर्य संग्रौला शिक्षक कर्मचारीसँग सम्झौता कार्यान्वयन गर्नपर्ने पक्षमा उभिएका थिए । त्यही झोँकमा कार्कीले अख्तियारी खोसेको पत्र काटेका छन् । १७ असारमा दिएको अख्तियारी आइतबारदेखि फिर्ता गरिएको भन्दै संग्रौलालाई पठाइएको चिट्ठीमा भनिएको छ, ‘आजका मितिदेखि तपाईंले सुचारु गर्ने सम्पूर्ण आर्थिक एवं प्रशासनिक क्रियाकलापहरु कामु उपकुलपतिबाट स्वीकृत गराएर मात्रै सम्पन्न गर्नहुन अनुरोध छ ।’

कामु उपकुलपति कार्कीले आफू अनुकुल ११ विभागीय प्रमुख परिवर्तन गरेपछि आन्दोलनरत शिक्षक कर्मचारी झन् रुष्ट बनेका छन् । प्रतिष्ठान स्रोतका अनुसार प्रा. डा. कार्कीले बढुवा प्रक्रिया सुरु गर्न नमान्नुको कारण पारिवारिक स्वार्थ छ ।

हाल प्रतिष्ठानमा प्राध्यापक रहेकी उनकी श्रीमती डा. संगीता भण्डारी उपकुलपति बन्ने दौडमा छिन् ।

पाटन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति भइसकेकी उनी संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीका बहिनीसमेत हुन् ।

कांग्रेस नेताहरुसँग राम्रो हिमचिम भएकी उनलाई उपकुलपति बनाउन स्वास्थ्य मन्त्री बस्नेतका साथै कांग्रेसका कतिपय नेताहरु सकारात्मक छन् । तर चारबुँदे सहमतिअनुसार बढुवा प्रक्रिया अगाडि बढाउने हो भने संगीता उपकुलपति बन्ने सम्भावना कम हुन्छ ।

‘बढुवा प्रक्रिया निस्कियो भने डा. संगीताको उपकुलपति बन्ने सम्भावना सकिन्छ, किनकी बढुवाका क्रममा रहेकाहरु पनि उपकुलपतिका दावेदार हुन्छन्’ प्रतिष्ठान स्रोतले भन्यो, ‘उहाँलाई (उपकुलपतिमा) लैजान का लागि बढुवा प्रक्रिया रोक्ने प्रयास भएको हो ।’

मेयर साम्पाङको चेतावनी

यसैबीच सिनेट सदस्य समेत रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले प्रतिष्ठानको विवादमा चासो देखाएका छन् । सोमबार कामु उपकुलपतिको कार्यकक्षमा ताला लगाएका उनले मंगलबार कामु उपकुलपति प्रा. डा. कार्कीलाई तुरुन्त अस्पतालमा उपस्थित गराउन स्वास्थ्यमन्त्री बस्नेतलाई पत्र पठाएका छन् ।

कामु उपकुलपतिको कार्यालयमा ताला लगाउँदै धरानका मेयर हर्क साम्पाङ र उनले स्वास्थ्यमन्त्रीलाई लेखेको पत्र ।

अस्पतालको सेवा र पठनपाठन ठप्प हुँदा समेत कामु उपकुलपति लुकुछिपी बसेको भन्दै मेयर साम्पाङले स्वास्थ्यमन्त्रीलाई भनेका छन्, ‘…प्रतिष्ठानका कामु उपकुलपति प्रल्हाद कार्कीलाई तुरुन्त उपस्थित गराई विद्यमान समस्याका हलका लागि आफ्नो जिम्मेवारी सम्हाली अस्पताललाई निकास दिनका लागि आवश्यक कारवाही अघि बढाइदिनुहुन अनुरोध छ ।’

धरानका राजनीतिक दलहरुले पनि प्रतिष्ठानको समस्या समाधान गर्न नसक्ने भए राजीनामा दिन प्रा. डा. कार्कीलाई आग्रह गरेका छन् । पाँच राजनीतिक दलको धरान समितिले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुको समेत उपस्थितिमा भएको २० कात्तिकको सम्झौता कार्यान्वयन गर्न नसक्ने भए राजीनामा दिन आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दलहरु समेतको रोहबरमा भएको सहमति कार्यान्वयन नगरी प्रतिष्ठान गैर जिम्मेवार भएको हाम्रो ठहर छ ।’

बदनाम प्रतिष्ठान

२०५० मा स्थापना भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वको ठूलो स्वास्थ्य संस्था हो । क्यान्सर बाहेक रोगको उपचार हुने प्रतिष्ठानमा दैनिक २—३ हजारसम्म बिरामी उपचारका लागि पुग्छन् । तर पछिल्लो समय प्रतिष्ठान अस्तव्यस्त छ ।

प्रतिष्ठानका तत्कालीन उपकुलपतिहरु बलभद्रप्रसाद दास, राजकुमार रौनियार, ज्ञानेन्द्र गिरी र पूर्व रजिष्ट्रारहरू नन्दकिशोर थापा, तुलबहादुर श्रेष्ठ र मोहनचन्द्र रेग्मी भ्रष्टाचारमा मुछिएका छन् ।

प्रतिष्ठानका पूर्वनिर्देशक अरविन्द सिन्हा पनि भ्रष्टाचार मुछिएका छन् । अहिले कामु उपकुलपति कार्कीसँगै शिक्षाध्यक्ष डा.सञ्जीवकुमार शर्मा, रजिष्ट्रार सूर्यप्रसाद संग्रौला र निर्देशक डा. जगतनारायण प्रसाद छन्, तर उनीहरुबीच समन्वय छैन ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?