+
+

संसद अधिवेशन माघ १८ गते बोलाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते २०:१६

२ माघ, काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन माघ तेस्रो साता बोलाउने तयारी गरेको छ । मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरवारस्थित उनकै कार्यकक्षमा पुगेका थिए ।

दिउँसो झण्डै एक घण्टा भएको भेटमा संसद अधिवेशनको मिति, विधेयकहरुको अवस्था र संसदीय क्यालेन्डरको विषयमा छलफल भएको संघीय संसद सचिवालयले जनाएको छ ।

मन्त्री गुरुङले माघ १८ गते अधिवेशन बोलाउने सरकारको तयारी रहेको सभामुखलाई जानकारी गराए । साथै, केही विधेयकहरु संसदमा दर्ता हुने प्रक्रियामा रहेको पनि मन्त्री गुरुङले बताएका थिए ।

सभामुख घिमिरेले संसदीय क्यालेण्डर बनाएर संसद चलाउने आफूहरुको तयारी रहेको र त्यसमा सहयोग हुने गरी सरकारको भूमिकाको अपेक्षा गरेको बताएका संसद सचिवालयका एक अधिकारीले बताए ।

सभामुख घिमिरेले सातामा ३ दिन प्रतिनिधि सभाको बैठक चलाउने र बाँकी ३ दिन संसदीय समितिको बैठकका लागि समय छुट्याउने गरी तालिका प्रस्ताव गरेका छन् ।

कुन दिन बैठक राख्ने भन्ने तय गर्न सके सकारात्मक परिणाम लिन सक्ने सभामुखको अपेक्षा छ । तर, सातामा तीन दिन विधेयकमाथिको छलफल हुनका लागि बिजनेस अभाव हुन सक्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

जवाफमा कानुनमन्त्री गुरुङले संसदमा विचाराधीन विधेयकहरु सरकारको उच्च प्राथमिकतामा रहेको र अगाडि बढाउन सभामुखको भूमिकाको अपेक्षा गरेको बताएका छन् । प्रतिनिधि सभामा दर्ता भएका १० वटा विधेयक प्रक्रियामा छन् । राष्ट्रिय सभाबाट पारित भएर आएका विधेयकहरु पनि रहेका छन् ।

सरकारले नीति तथा कार्यक्रम फागुनमै संसदमा पेश गर्ने भनेको र त्यसका लागि समेत ख्याल गरेर क्यालेन्डर बनाउन सभामुखलाई कानुनमन्त्री गुरुङले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?