+
+
Shares

वर्षेनि ५० हजार नेपाली विदेश बसाइँ सर्छन्

बसाइँ सरेर कहीं जानु वा कतैबाट आउनु संसारभरिकै नियमित प्रक्रिया हो । तर नेपालमा किन यो क्रम बढ्दो अनुपातमा छ त ? यसका पछाडि केही सामाजिक र अर्थ-राजनीतिक कारण रहेका छन् ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० माघ ३ गते १९:१०

३ माघ, काठमाडौं । दाङ घोराही-१४ का २४ वर्षीय नवीन केसी २०७५ साउन १८ मा अध्ययनका लागि अष्ट्रेलिया गए । विद्यार्थी भिसामा पाँच वर्षअघि पुगेका उनी बीचमा घर फर्किए । तर उनको मन यसपालि नेपालमा अडिएन ।

उनी लगत्तै फेरि अष्ट्रेलिया फर्किए । अष्ट्रेलियामै आइटी पढेका उनले पछि जागिर पनि उतै गरे । अनि नेपाली नागरिकता र पासपोर्ट त्यागेर उतैको पीआर लिए । पछि विवाह गरी श्रीमतीलाई समेत उतै लिएर बस्न थाले ।

२०७४ सालमा रुकुमपश्चिम, आठबिसकोटका वीरुबहादुर खत्री ८ महिनाको हण्डर खाँदै हिंडेरै तल्लोमार्ग हुँदै अमेरिका पुगे । आठ महिना डिटेन्सन क्याम्पमा बसेपछि उनले शरणार्थीको मान्यता पाए र अमेरिकाले उतै बस्ने अनुमति दियो । ६ वर्ष बिताएपछि उनलाई त्यहाँको सरकारले ग्रीन कार्ड पनि दियो । नेपाली नागरिकता त्यागेर ग्रीन कार्ड पाएका उनले तीन सन्तान र श्रीमतीलाई समेत उतै लगे ।

दाइकै देखासिकी गर्दै भाइ श्यामु खत्रीले पनि त्यही बाटो पछ्याए । ५ महिनाको बाटो छल्दै उनी अमेरिका पुगे र ग्रीन कार्ड पाए । पछि उनले पनि आफ्नो परिवारलाई अमेरिकै लगे । वीरु र श्यामुको परिवार नै नेपाली नागरिकता त्यागेर सधैंका लागि अमेरिका बस्न थाले ।

यसरी विभिन्न रूपमा विदेशिएर स्थायी रूपमै देश छोड्नेको सिलसिला वर्षेनि जारी छ । हप्ता दिन अगाडि मात्र अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२३ मा १६ लाखभन्दा बढी नेपालीले विभिन्न प्रयोजनका लागि देश छोडेका छन् । यो संख्या रोजगारी, घुमघाम, परिवारका सदस्यसँग भेटघाट, अध्ययन, स्थायी बसोबास, उपचारका लागि अस्थायी बसोबास, तालिम, खेलकुद, सांस्कृतिक कार्यक्रम लगायत प्रयोजनका लागि जानेहरूको हो ।

श्रम मामिला विज्ञ रामेश्वर नेपाल मुलुकमा भविष्य देख्नै छोडेपछि विदेशिनुपर्ने अवस्था आएको बताउँछन् । ‘यहाँ निराशा यो हदसम्म भयो कि मान्छेले भविष्य देख्नै छोडे’ उनले भने, ‘आफ्नो नभएर परिवारको भविष्य सम्झेर भए पनि विदेश पलायन भइरहेका छन् ।’

यता श्रमको लागि विदेशिने नेपालीको संख्या पनि सानो छैन । वाषिर्क ५ लाख हाराहारीमा रोजगारीका लागि विदेशिइरहेका छन् । आव २०७९/८० मा मात्रै रोजगारीका लागि साढे ७ लाख विदेशिएको तथ्यांक छ ।

तर झुक्याउने कुरा त के छ भने रोजगार वा विभिन्न प्रयोजनमा विदेशिने मात्र हैन सधैंका लागि देश छोड्ने नेपालीको संख्या पनि ठूलो छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष ७१ हजार नेपालीले स्थायी रूपमै देश छाडेका छन् । त्यसमा ३६ हजार ६६३ जना पुरुष र ३४ हजार २५१ जना महिला छन् । स्थायी रूपमै यसरी जानेमा अमेरिका, अष्ट्रेलिया, बेलायत लगायत विकसित मुलुकका धेरै छन् ।

यसरी अघिल्लो वर्षहरूमा कति नेपालीले स्थायी रूपमा देश छोडे भन्ने यकिन तथ्यांक नभेटिए पनि विभिन्न अध्ययन र आँकडाले देखाए अनुसार पछिल्ला वर्षहरूमा करिब ५० हजार हाराहारी नेपालीले स्थायी रूपमा देश छोडिरहेका छन् ।

श्रम मामिला विज्ञ रामेश्वर नेपाल स्थायी रूपमा देश छोड्नेहरूको संख्या वाषिर्क ५० हजार हाराहारीमा हुनसक्ने बताउँछन् । ‘अहिले मुलुकमा जुन अवस्था छ, त्यो हेर्दा ५० हजार हाराहारीले स्थायी रूपमा देश छोडिरहेको देखिन्छ ।’

स्थायी रूपमा देश छोड्नेमा केही चर्चित अनुहार पनि छन् । यसरी सधैंका लागि देश छोड्नेमा ठूला सेलिब्रेटी, कलाकार, खेलाडी, व्यापारी, सञ्चारकर्मी पनि छन् ।

दर्जन बढी नेपाली सिनेमामा अभिनय गरेका अभिनेता राजवल्लभ कोइराला पनि सन् २०१३ देखि नै अमेरिकामा बसोबास गरिरहेका छन् । नेपाली नागरिकता त्यागेर उनी स्थायी रूपमै परिवारसँगै अमेरिकामा बस्दै आएका छन् ।

नेपाली फिल्म क्षेत्रका अर्का अभिनेता सरोज खनाल पनि लामो समयदेखि स्थायी रूपमै परिवारसँगै अमेरिकामै बसिरहेका छन् । कलाकारसँगै स्थायी रूपमा देश छोड्नेमा खेलाडी, सञ्चारकर्मीको संख्या पनि ठूलै छ ।

बसाइँ सरेर कहीं जानु वा कतैबाट आउनु संसारभरिकै नियमित प्रक्रिया हो । तर नेपालमा किन यो क्रम बढ्दो अनुपातमा छ त ? यसका पछाडि केही सामाजिक र अर्थ-राजनीतिक कारणतर्फ जानुपर्ने हुन्छ ।

स्थायी रूपमा देश छोड्नेहरूको संख्या झस्काउने खालको भएको बताउँछन् श्रम मामिला विज्ञ डा. गणेश गुरुङ ।

रोजगारीका लागि जाने मात्र हैन स्थायी रूपमै देश छोड्नेको यो संख्या बढ्नुलाई गम्भीर रूपमा लिनुपर्ने उनी बताउँछन् । ‘यसरी देश छोड्नेको यो संख्या सामान्य होइन’, उनी भन्छन् ।

देशमा आन्तरिक रोजगारी सिर्जना नहुनु र लगानी सुरक्षाको वातावरण जस्ता कारणले सिर्जित निराशाले देश छोड्नुपर्ने अवस्था सिर्जना भएको डा. गुरुङ बताउँछन् । ‘जब स्वदेशमा जीविकोपार्जन नहुने स्थिति बन्दै जान्छ तब मान्छे विदेशिने निर्णय लिन बाध्य हुन्छ’ उनी भन्छन्, ‘यसलाई विदेश धकेलिन बाध्य पार्ने नेपालको पुस फ्याक्टर भनौं ।’

श्रम मामिला विज्ञ रामेश्वर नेपाल मुलुकमा भविष्य देख्नै छोडेपछि विदेशिनुपर्ने अवस्था आएको बताउँछन् । ‘यहाँ निराशा यो हदसम्म भयो कि मान्छेले भविष्य देख्नै छोडे’ उनले भने, ‘आफ्नो नभएर परिवारको भविष्य सम्झेर भए पनि विदेश पलायन भइरहेका छन् ।’

यसरी विदेशिनु रहरभन्दा पनि बाध्यता देख्छन् उनी । ‘आफ्नो माटोको माया सबैलाई हुन्छ, विदेशिनु कसैलाई रहर होइन, यो बाध्यता हो ।’ केही संख्यामा रहरले विदेशिए पनि धेरै बाध्यताले विदेशिएको उनले सुनाए ।

श्रमविज्ञ डा. गुरुङ यो अवस्था आउनुलाई मुलुकको राजनीति र प्रणाली नै फेल भएको बताउँछन् । ‘नेतृत्वले देशमै केही गर्न सकिन्छ भन्ने भाष्य तयार गर्न सक्नुपथ्र्याे । आशाको दियो बाल्न सक्नुपर्थ्यो,’ उनी भन्छन्, ‘तर त्यस्तो केही भएन । फलतः देश छोड्ने क्रम यो हदसम्म भयो ।’

अझ अर्काे कुरा त के छ भने यसरी स्थायी रूपमा विदेशिनेहरू स्वदेश नफर्किने नागरिक संख्या हो । ‘अध्ययन वा रोजगारीमा पुगेकाहरू त फर्केलान, त्यसको लाभ परिवार र देशले पनि पाउँछ’ उनी भन्छन्, तर जो सधैंका लागि देश छाडे, उनीहरू फर्किंदैनन् बरु परिवार नै उतै लिएर जान्छन् । डा. गुरुङ अहिलेको अवस्थामा विदेशिने लहर रोकिने संकेत देख्दैनन् । ‘बरु यो क्रम झन् बढेर जाने देखिन्छ’ उनी भन्छन्, ‘कालान्तरमा यही क्रम रहिरहृयो भने मुलुकले यसको ठूलै मूल्य चुकाउनुपर्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?