+
+

पञ्चपुरी घटना : बलात्कारको जाहेरी दिएका कारण हत्या !

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १९:३७

३ माघ, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरीमा २१ वर्षीय युवाको हत्यामा उनकै बाबुको संलग्नता देखिएको छ ।

मंगलबार राति १ बजे घर नजिकै युवक मृत भेटिएको सूचना पाएपछि प्रहरी पुगेको थियो ।

प्रहरीले घरमुनिको बाख्रा खोर नजिकै सुकेको घाँसले छोपेको अवस्थामा शव फेला परेको थियो । युवाको धारिलो हतियार प्रयोग गरी हत्या भएको पाइएको छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाको टोली तालिम प्राप्त कुकुरसहित पुगेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा युवकको हत्यामा उनकै बाबुको संलग्नता देखिएको एक अनुसन्धान अधिकृतले बताए । ‘हत्या योजनाबद्ध देखिन्छ’ उनले भने ।

प्रहरीका अनुसार उनको घरमा मृतककी बहिनी घाइते अवस्थामा परेकी थिइन् । उनले पनि दाइको हत्या आफ्नै बुवाले गरेको बयान प्रहरी समक्ष दिएकी थिइन् ।

भारतबाट आएर हत्या

उनीहरुका आमाको दुई परिवार छ । आमाले दोस्रो बिहे गरेपछि बुवाले कान्छी श्रीमती ल्याएका थिए । बाबु भारतमा बस्दै आएका थिए, दाजुबहिनी मात्र बस्थे ।

गत असोजमा भारतबाट घर आएका बाबुले किशोरी छोरीमाथि बलात्कार गरेका थिए । किशोरीले यसबारे कान्छी आमालाई भनिन् । उनले बाहिर नभन्न सम्झाइन् । तर किशोरीले दाइलाई भनिन् । किशोरीका दाइ र जिल्लाकै एउटा गैरसरकारी संस्थाको सहयोगमा कात्तिकमा जाहेरी दर्ता भयो ।

त्यसबेला नै बाबुले धम्की दिएका थिए । मुद्दा परेपछि उनी श्रीमतीसहित भागेर भारत गए । भारत भागेका उनी केही दिनअघि नेपाल फर्किएको सूचना प्रहरीले पाएको थियो । तर उनले घरमा आएर छोराको हत्या गरेर भागेको प्रहरीको आशंका छ ।

‘उनी जनवरीको १२ र १३ तारिखमा भारतबाट नेपालमा आएको खुलेको छ । उनले नै छोराको हत्या गरेर फरार भएको देखिन्छ,’ घटनास्थलमा खटिएका प्रहरी अधिकारीले भने ।

मृतक युवकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पताल पठाएको छ । मृतककी बहिनीले जाहेरी दिएपछि मृतकको शव पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी लक्ष्मण शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?