+
+

हराएको पहिचान फर्काउँदै चितवनको तोरी

रासस रासस
२०८० माघ ४ गते १४:४५

४ माघ, चितवन । तोरी धेरै उत्पादन हुने जिल्ला कुन हो ? यो प्रश्नको जवाफ हुन्थ्यो चितवन । यसरी तोरी उत्पादनमा पहिचान बनाएको चितवन जिल्लामा बीचमा केही समय तोरीको उत्पादन क्रमशः घट्दै गएको थियो ।

तोरी उत्पादनमा कमी आएपछि चितवनले पनि कतै आफ्नो पहिचान गुमाउने हो कि भन्ने त्रास जिल्लावासीमा थियो । तर पछिल्ला वर्षमा भने तोरी उत्पादनमा क्रमशः वृद्धि हुँदै गएको छ । चितवनले हराएको पहिचान फर्काउने भएको छ ।

देशका अधिकांश नागरिक बसाइँ सरेर चितवन बस्न थालेको इतिहास छ । वन फँडानी गरेर उनीहरुले मानवबस्तीको विकास गरेका हुन् । यही क्रममा यहाँको उर्वर माटो तोरीका लागि अत्यन्त उपयुक्त बन्यो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भरतपुरका प्रमुख महेश रेग्मी तोरीका लागि गोबर, पातपतिङ्गरबाट बनेका प्राङ्गारिक मल आवश्यकपर्ने बताउँछन् । यसबाट पाइने सल्फरजस्ता सुक्ष्म तत्वले तोरीको उत्पादन वृद्धि गर्दछ ।

रेग्मीका अनुसार विगतमा वन फँडानी गरेर वनेको खेतीयोग्य जमिनमा तोरी निकै राम्रो थियो । माटो बिग्रँदै गएर तोरीको उत्पादन निकै न्यून बन्यो । उनको भनाइमा विसं २०५० सम्म तोरीको उत्पादन निकै राम्रो हुन्थ्यो ।

चितवनसहित सुर्खेत, दाङ, सर्लाहीलगायतका मधेसका फाँटहरुमा तोरी निकै राम्रो उत्पादन हुने गरेको रेग्मी बताउँछन् । विगत केही वर्षयता विगतको साखलाई तोरीले फर्काएको छ । उनको भनाइमा विसं २०७६ तिरदेखि तोरीको उत्पादन बढ्दै गएको छ ।

अहिले धानभन्दा बढी जमिनमा तोरी लगाउन थालिएको उनी बताउँछन्। उनका अनुसार क्षेत्रफल मात्रै होइन उत्पादकत्वसमेत बढ्दै गएको छ । तोरी बाली लगाउने क्षेत्रफल घट्नुमा रोग, किरा, जमिनको तीव्र खण्डीकरण, तेलको मूल्यमा कमीलगायत धेरै कारण थिए । कुनै समयमा चितवनको १८ हजार हेक्टरमा तोरी फल्ने क्षेत्रफल घटेर चार हजार पाँच सय हेक्टर मात्र पुगेको थियो ।

करिब २२ वर्ष चितवनमै कृषि अधिकृत रहेका रेग्मी अहिलेको उत्पादन वृद्धिलाई पहिलेको भन्दा अझै राम्रो भएको बताउँछन् । बजारमा तेलको मूल्य अस्वाभाविक वृद्धि हुनु, बजारमा पाइने अरु प्रकारका खाने तेलमा मिसावट बढ्नु र तोरीका नयाँ जातको विकास हुनुले पनि किसानलाई तोरीतर्फ आकर्षित गरेको उनी बताउँछन् ।

पहिले लगाइएका चितवन लोकल, सुर्खेत लोकल, दाङ लोकल जातका तोरीसँगै अहिले नयाँ जात विकास भएका छन् । बढीमात्रामा प्रगति, उन्नति नामका स्वदेशी जातसँगै विदेशी विभिन्न जातका तोरी भित्र्याइएको छ र यसकारण पनि उत्पादन बढाएको छ ।

रेग्मीले भने, ‘धानभन्दा बढी तोरी लगाउन थालिएको छ, उत्पादन बढेको छ, यसलाई सरकारले अनुसन्धान गरेर प्रवर्द्धन गर्नुपर्छ । तोरीको तेलको मूल्य पाएपछि किसानले क्षेत्रफल पनि बढाएका छन् ।’

जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएकाले पनि किसान तोरीखेतीतर्फ केन्द्रित भएको पाइन्छ ।

माडी नगरपालिका-३ का ओमप्रकाश महतो जङ्गली जनावारले तोरी बालीलाई नरुचाउने भएकाले सुरक्षित बाली भित्र्याउन पाउने भएपछि तोरीखेती गर्न थालेको बताउँछन् । चितवन जिल्लामा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रसँग जोडिएका धेरै खेतीयोग्य जमिन छन् ।

यस क्षेत्रमा हात्ती, गैँडा, चित्तललगायतले अन्नबालीमा क्षति गर्ने गर्दछन् । उहाँ मात्रै होइन अहिले सो गाउँ नै तोरीमय भएको छ ।

उनले भने, ‘अहिले हाम्रो क्षेत्रमा ६० हेक्टरभन्दा बढी जमिनमा तोरीखेती गरिएको छ । तोरी छिटो पाक्ने र मूल्य पनि राम्रो पाउने भएकाले सबैको ध्यान यस बालितर्फ गएको छ । यो सजिलो खेती हो ।’

कृषि ज्ञानकेन्द्र चितवनका अनुसार जिल्लामा यस वर्ष २१ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ । यो क्षेत्रफल गत वर्षको तुलनामा बढी हो ।

गत वर्ष १४ हजार सात सय ६५ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको केन्द्रका योजना अधिकृत उमराज अर्यालले बताए । गत वर्ष जिल्लामा १९ हजार एक सय ९४ मेट्रिकटन तोरी उत्पादन भएको थियो । यो वर्ष तोरी उत्पादनमा समेत वृद्धि हुने उनको भनाइ छ ।

वर्षे धान र मकै लगाएका अधिकांश ठाउँमा तोरीखेती गरिएको छ । तोरीबाली छिटो पाक्ने तथा चैते धान लगाउन सहज हुने भएकाले किसानको ध्यान यस बालीतर्फ गएको उनले बताए । उनले भने, ‘यस वर्ष मुसुरो र गहुँबालीलाई समेत तेलहन बालीले विस्थापित गरेको छ ।’

जिल्लामा गत वर्ष तीन हजार चार सय ६० हेक्टर क्षेत्रफलमा गहुँ र एक हजार पाँच सय ३६ हेक्टर क्षेत्रफलमा दलहन बाली लगाइएको थियो । अहिले कहीँकतै मात्रै यी बाली लगाइएको पाइएको उनले बताए ।

तेलहन बाली प्रवर्द्धनका लागि सरकारलेसमेत कार्यक्रम बनाएको हुँदा यसतर्फ आकर्षण बढेको हुनसक्ने उनको भनाइ छ । बागमती प्रदेशको बीउबिजन गुणस्तर केन्द्रका प्रमुख राजन ढकाल उन्नत जातको बीउ वितरण गर्न सकिएमा थप उत्पादन गर्न सकिने बताउँछन् ।

तोरी उत्पादनमा चितवनले राम्रो फड्को मारेकाले सरकारले सहयोग गर्नुपर्ने उनले बताए । उनले भने, ‘अध्ययन, अनुसन्धान गरेर थप उत्पादन वृद्धितर्फ लाग्नुपर्छ ।’ चितवनको तोरी राम्रो गुणस्तरको मानिन्छ । यहाँ उत्पादन भएको तेल देशका प्रमुख सहरमा पुग्ने गर्दछ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?