+
+

पाठशालामा संयुक्त राष्ट्रसंघको नमूना बैठक, इजरायल–प्यालेस्टाइन द्वन्द्व मुख्य एजेण्डा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते ७:४४
नमूना बैठकमा सहभागी विद्यार्थी र अतिथिहरु । फोटो : पाठशाला नेपाल फाउण्डेसन

५ माघ, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित पाठशाला स्कुलले संयुक्त राष्ट्रसंघको नमूना बैठक आयोजना गरेको छ । यसअघि ललितपुरमा नेपालकै संसद बैठकको नमूना अभ्यास गरेको पाठशालाले बिहीबारदेखि संयुक्त राष्ट्रसंघ र सो अन्तर्गतका विभिन्न समितिहरुका बैठकको नमूना अभ्यास सुरु गरेको हो ।

संयुक्त राष्ट्रसंघको महासचिव, महानिर्देशक र सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको भूमिकामा विद्यार्थीहरु नै छन् । संयुक्त राष्ट्रको महासचिवको भूमिकामा अश्रुता आचार्य र महानिर्देशकको भूमिकामा भार्गवी वस्ती छन् ।

यो नमूना बैठकको प्रमुख एजेण्डा इजरायल–प्यालेस्टाइन द्वन्द्व छ । यो मुद्दामा केन्द्रित रहेर विद्यार्थीहरुले छलफल गर्नेछन् । चौथो संस्करणको यो नमूना बैठक तीन दिनसम्म चल्ने छ । अन्तिम दिनमा विद्यार्थीहरुले बैठकको निष्कर्षसहितको प्रेस विज्ञप्ति पनि जारी गर्नेछन् ।

यस किसिमको अभ्यासबाट विद्यार्थीहरुमा विषयवस्तुको ज्ञान, अन्तर्क्रिया कौशल, आलोचनात्मक सोच र स्वच्छ बहस गर्ने क्षमता बढ्ने पाठशाला नेपालका प्रवन्ध निर्देशक टंक आचार्य बताउँछन् । ‘यो विषयमा छलफल गर्नुछ भनेपछि विद्यार्थीहरुले त्यसबारे खोजी गर्छन्, विषयवस्तुबारे जानकारी लिन्छन्, अरुका अगाडि धक नमानी आफ्ना धारणा राख्नसक्ने हुन्छन् र बैठकको माइन्युट पनि लेख्नसक्ने हुन्छन्,’ उनले भने ।

उदघाटन कार्यक्रमका प्रमुख अतिथि एवम् संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि समेत रहिसकेका पूर्वपरराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले विद्यार्थीको क्षमता वृद्धिका लागि सिकाइको फरक तरिका अपनाएको भन्दै पाठशालाको प्रशंसा गरे । अन्तर्राष्ट्रिय मुद्दाहरुमा कुन देशको भूमिका कस्तो छ र नेपालको धारणा के हो भन्ने विषयमा पनि विद्यार्थीहरुले जानकारी हासिल गर्ने भएकाले यो किसिमको अभ्यास उपयुक्त भएको उनले बताए ।

कार्यक्रम समापनको दिन क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेललाई निम्तो गरिएको छ । अन्तिम दिन नमूना बैठकमा उत्कृष्ट प्रस्तुती राख्ने विद्यार्थीहरुलाई पुरस्कृतसमेत गरिने पाठशाला स्कुलका कार्यक्रम प्रमुख दीपेन्द्रराज ढकालले जानकारी दिए ।

सो दिन विद्यालय परिसरमै द एलिमेन्ट्स ब्याण्डको कन्सर्ट पनि हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?