+
+

पृथ्वीराजमार्ग निरीक्षणपछि मन्त्री ज्वालाको निर्देशन : सवारी आवागमनलाई असर नपारी छिटो सक्नुस् !

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १४:२९

५ माघ, पोखरा । संघीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शुक्रबार पृथ्वी राजमार्ग (मुग्लिन–पोखरा सडकखण्ड) विस्तारको काम निरीक्षण गरेका छन् ।

मन्त्री ज्वालाले उक्त सडकखण्डअन्तर्गत पर्ने पोखरादेखि तनहुँको मादी नदीसम्मको क्षेत्र निरीक्षण गरेका हुन् ।

सडक विस्तारको काम निरीक्षण गर्दै मन्त्री ज्वालाले सडक विस्तारमा गुणस्तरीयतासँगै सवारी साधन आवागनमा अवरोध नपुर्‍याउन ठेकेदार कम्पनीहरुलाई निर्देशन दिएका छन् । सडकको दुवैतर्फ खाल्डाखुल्डी बनाएर सवारी आवागमन नै समस्या पार्ने गरी भइरहेको कामप्रति भने उनले असन्तुष्टि पोखे ।

‘सडकको दुवैतर्फ खाल्डाखुल्डी बनाएर काम गर्दा सवारी आवागनमा समस्या देखियो । सडक विस्तारको काम गर्दा एकातिरको काम क्लियर गरेरमात्रै अर्को भाग बनाउनुपर्‍यो’, मन्त्री ज्वालाले भने, ‘बाटोमा खाल्डाखुल्डी नहोस् । काम गुणस्तरीयसँगै समयमै सक्नुपर्‍यो ।’

भौतिक मन्त्री ज्वालाले पछिल्लो समय कामको गति बढेको भन्दै सन्तोष व्यक्त गरेका छन् । निरीक्षणमा मन्त्रीसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायत थिए ।

गण्डकी प्रदेश राजधानीलाई बाहिरी जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग चार लेन बनाउन यतिबेला विस्तारको काम भइरहेको छ । पछिल्लो साढे २ वर्षदेखि सुस्तगतिमा भइरहेको बाटो विस्तारका कारण यात्रुमात्रै होइन्, स्थानीयबासिन्दासमेत आजित छन् ।

पोखरा–मुग्लिन खण्ड २ भागमा बाँडेर विस्तारको काम चिनियाँ कम्पनीले गरिरहेका छन् ।

मुग्लिनदेखि तनहुँको जामुनेसम्म ४१ किलोमिटर पूर्वी खण्डमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले २०७७ वैशाखदेखि काम गरिरहेको छ भने जामुनेदेखि पोखरासम्म पश्चिम खण्ड चीनकै यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ०७८ भदौदेखि विस्तारको काम गरिरहेको छ ।

२ खण्डमा बाँडेर काम भइरहेको सडक विस्तारमा सबैभन्दा सुस्त गति पश्चिम खण्डमा छ । जामुनेदेखि पोखरासम्मको पश्चिमखण्डमा हालसम्म १४.५ प्रतिशतमात्रै भौतिक प्रगति भएको पश्चिमखण्डका आयोजना प्रमुख राजेन्द्रप्रसाद पौडेलले मन्त्री ज्वालालाई बिफ्रिङ गरे ।

पौडेलका अनुसार पश्चिमखण्डमा सडकको बीचमा रहेका विजुलीका पोल, रुखविरुवा तथा घरटहरा पूरा ‘क्लियर’ हुन नसक्दा कामको गतिमा अवरोध भइरहेको छ ।

भूगोलको बनावटअनुसार २१ देखि ४५ मिटरसम्म फराकिलो बनाउने गरी एसियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा राजमार्ग विस्तार भइरहेको हो ।

४२ महिनाभित्र काम सक्ने गरी राजमार्ग विस्तारको जिम्मा अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको छ । उक्त सडकखण्डको म्याद ०८१ भदौमा सकिँदैछ ।

मुग्लिनदेखि तनहुँको जामुनेसम्म ४१ किलोमिटर पूर्वी खण्डमा भने हालसम्म ४५ प्रतिशत काम सकिएको आयोजना प्रमुख श्याम यादवले जानकारी दिए । पूर्व खण्डका लागि माघ २०७७ मा ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?