+
+

फिलिप्स र मिचेलको कीर्तिमानी साझेदारीमा न्युजिल्यान्डको लगातार चौथो जित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १५:५१

५ माघ, काठमाडौं । मध्यक्रमका ब्याटर ग्लेन फिलिप्स र डर्याल मिचेलको कीर्तिमानी शतकीय साझेदारीमा न्युजिल्यान्डले चौथो टी-२० आई खेलमा पाकिस्तानलाई ७ विकेटले हराएको छ । पाँच खेलको सिरिजमा न्युजिल्यान्डको यो लगातार चौथो जित हो ।

जितको लागि १ सय ५९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

न्युजिल्यान्डको जितमा ग्लेन फिलिप्स ५२ बलमा ५ चौका र ३ छक्कासहित ७० रनमा नट आउट रहे । डर्याल मिचेल ४४ बलमा ७ चौका र २ छक्कासहित ७२ रनमा नट आउट रहे ।

एक समय २.४ ओभरमा २०-३ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई जिताउन चौथो विकेटका लागि मिचेल र फिलिप्सले ९३ बलमा १ सय ३९ रनको कीर्तिमानी अविजित शतकीय साझेदारी गरे । यो न्युजिल्यान्डबाट टी-२० आईमा चौथो विकेटका लागि भएको उच्च साझेदारी हो ।

यसअघि केन विलियम्सन र कोरी एन्डरसनले टी-२० आईमा चौथो विकेटका लागि न्युजिल्यान्डबाट २०१७ मा बंगलादेशविरुद्ध १ सय २४ रनको शतकीय साझेदारी गरेका थिए ।

न्युजिल्यान्डको सुरुवात भने सम्झन लायक थिएन । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले फिन एलेनलाई ८, टिम सिफर्टलाई गोल्डेन डक र विल योंगलाई ४ रनमा आउट गर्दै २.४ ओभरमा २०-३ को अवस्थामा पुर्याएका थिए ।

तर त्यसपछि उक्त कीर्तिमानी साझेदारीमा न्युजिल्यान्ड खेलमा फर्किएको थियो । पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि हेगली ओभल क्राइस्टचर्चमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले ६३ बलमा ६ चौका र २ छक्कासहित ९० रनको अविजित इनिङ खेलेका थिए । तर उनको एकल प्रदर्शन जितको लागि पर्याप्त हुन सकेन ।

मोहम्मद नवाजाले ९ बलमा ३ छक्कासहित २१ रनको महत्वपूर्ण इनिङ खेले । ओपनर सैम अयुबले १, फखार जमान ९, बाबर आजम १९ र इफ्तिखार अहमदले १० रन बनाए ।

न्युजिल्यान्डका म्याट हेनरीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । त्यस्तै लोकी फर्गुसनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । एडम मिल्नेको नाममा १ विकेट रह्यो ।

यसअघि न्युजिल्यान्डले पहिलो खेलमा ४६ रन, दोस्रो खेलमा २१ रन र तेस्रो खेलमा ४५ रनले पाकिस्तानलाई हराएको थियो । पाँचौं तथा अन्तिम खेल आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?