+
+

विश्व सम्पदा सूचीका लागि मापदण्ड पूरा गर्दै पनौती

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ६ गते ११:३०

६ माघ, काठमाडौं । काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक-सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि काम अन्तिम चरणमा पुगेको छ ।

२०५२ सालदेखि विश्व सम्पदा सूचीमा सूचिकृत गराउने पहल भए पनि विभिन्न कारणले काम अघि बढ्न सकेको थिएन । तर, पछिल्लो समय स्थानीय सरकारको पहलमा पनौतीलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन तीव्र तयारी गरिएको हो ।

पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौती क्षेत्र २०५८ सालमा स्मारक क्षेत्र घोषणा भएको र त्यसअघि फ्रान्स सरकारबाट पुनः निर्माण भएसँगै विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने पहल भएपनि अहिलेसम्म सफल नभएको बताए ।

उनले नगरपालिकाले अहिले पनौतीलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन अन्तिम तयारीमा लागेको बताए ।

उनले युनेस्कोले दिएको मापदण्ड अधिकांश पूरा भइसकेकाले अब केही मापदण्ड पूरा गरेर पुरातत्व विभाग हुँदै युनेस्कोमा पठाउने तयारी भइरहेको बताए ।

उनले नगरपालिकाले अहिले संरक्षणका लागि व्यवस्थापकीय योजना निर्माण गरिरहेको बताए । उनले व्यवस्थापन योजना बनाइसकेपछि पुरातत्व विभाग हुँदै युनेस्कोमा तयारी रहेको बताए ।

उनले अबको दुई महिनाभित्रमा व्यवस्थापकीय योजना बनिसक्ने बताए । व्यवस्थापकीय योजना बनाइसकेपछि युनेस्कोमा पहल गर्ने उनको भनाइ छ । कानूनहरु नबन्दा पनि कतिपय स्थानमा समस्या उत्पन्न भइरहेको उनको भनाइ छ ।

नगर प्रमुख भण्डारीले सांस्कृतिक सम्पदाहरु सबैका साझा र देशको सम्पत्ति हो भन्ने सोचेर काम अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

यता, पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौती ऐतिहासिक पुरातात्विक महत्व बोकेको सम्पदाको शहर भएको बताए ।

उनले पनौतीमा एक किलोमिटर क्षेत्रमा ४२ वटा मूर्त सम्पदा रहेको बताए । मूर्त र अमूर्त गरी पनौतीमा मात्रै ७० बढी सम्पदाहरु रहेकाले यो शहर एउटा खुला संग्रहालय रहेको बताए ।

उनले स्वर्गलोकको राजा इन्द्र श्राप मुक्तका लागि आएर तपस्या गरी मुक्त भएको र मकर मेला लागेको लगायतका सांस्कृतिक जात्राहरुले भरिपूर्ण रहेको बताए ।

त्यस्तै पनौतीस्थित इन्द्रेश्वर महादेवका पुजारी रमेशप्रसाद जंगमले पनौति शहर धेरै पुरानो शहर भएकाले विश्व सम्पदा सूचीमा सूचिकृत हुनुपर्नेमा जोड दिए ।

उनले शहरमा रहेका आधुनिक ८० भन्दा बढी सम्पदाहरुलाई पुरानै शैलीमा निर्माण गरेर विश्व सम्पदा सूचीमा सूचिकृतका लागि पहल गर्नुपर्ने बताए ।

उनले यसबारेमा स्थानीयलाई जनचेता दिन र जागरुक बन्ाउन जरुरी रहेको बताए । उनका अनुसार पनौतीमा घुम्न जाने ९० प्रतिशत पर्यटक फ्रान्सका रहेको जानकारी पनि दिए ।

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ ।

युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचिकृत गर्न प्रस्ताव गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?