News Summary
Generated by OK AI. Editorially reviewed.- गैरआवासीय नेपाली संघ हङकङले ‘रोड टु एभरेष्ट’को विशेष प्रदर्शन आइतबार हङकङमा आयोजना गरेको छ ।
- ‘सगरमाथालाई अनुभव गरौँ, रसुवालाई सहयोग गरौँ’ नारासहित गरिएको प्रदर्शनबाट रसुवाका बाढीपहिरोपीडित परिवारका लागि सहयोग जुटाउने उद्देश्य राखिएको थियो ।
- करिब ५० मिनेटको वृत्तचित्रले सगरमाथा यात्रा, शेर्पा समुदायको योगदान, हिमाली सम्पदा र जलवायु परिवर्तनका असर प्रस्तुत गरेको छ ।
हङकङ । ‘सगरमाथालाई अनुभव गरौँ, रसुवालाई सहयोग गरौँ’ भन्ने नारासहित नेपाली वृत्तचित्र ‘रोड टु एभरेष्ट’को विशेष प्रदर्शन आइतबार हङकङमा सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा प्रदर्शन गरिएको वृत्तचित्रमा उत्साहजनक दर्शक सहभागिता रहेको थियो ।
प्रदर्शनको मुख्य उद्देश्य सगरमाथा र नेपालको हिमाली सम्पदालाई अन्तर्राष्ट्रिय समुदायमाझ परिचित गराउनुका साथै रसुवामा आएको बाढीपहिरोबाट प्रभावित तथा विस्थापित परिवारको पुनर्निर्माण र पुनर्स्थापनाका लागि सहयोग जुटाउनु थियो ।
कार्यक्रममा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, थाई, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो । दर्शकहरूले सगरमाथाको यात्रा, फिल्मको दृश्य प्रस्तुति, विषयवस्तु र जलवायु परिवर्तनसम्बन्धी सन्देशको प्रशंसा गरेका थिए ।
एनआरएनए हङकङले यसअघि सम्पन्न ग्रान्ड प्रिमियरमा प्राप्त उत्साहजनक प्रतिक्रियापछि दर्शकको मागअनुसार यो विशेष प्रदर्शन आयोजना गरेको हो ।
करिब ५० मिनेट लामो ‘रोड टु एभरेष्ट’ले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको यात्रामार्फत पर्वतारोहणका चुनौती, मानवीय साहस, शेर्पा समुदायको योगदान, नेपाली हिमाली सम्पदा र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका असरलाई प्रस्तुत गरेको छ ।
वी विल राइज फाउन्डेसनद्वारा निर्मित वृत्तचित्रको निर्देशन निर्मल श्रेष्ठले गरेका हुन् । यसको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन् । नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको यो वृत्तचित्र पूर्ण नेपाली प्राविधिक तथा निर्माण टोलीको सहभागितामा निर्माण गरिएको हो ।
‘रोड टु एभरेष्ट’लाई विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल तथा विशेष प्रदर्शनमार्फत विश्वभरका दर्शकमाझ पुर्याउने अभियान जारी रहेको निर्माण पक्षले जनाएको छ ।
फोटो : स्वदेश महर्जन
प्रतिक्रिया 4