+
+

उपेन्द्रले भवन शिलान्यास गर्न लागेपछि कृषि विश्वविद्यालयमा जनमतले लगायो ताला

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १४:५२

७ माघ, जनकपुर । सत्ता साझेदार जनमत पार्टीका कार्यकर्ताले कृषि विश्वविद्यालयमा ताला लगाएका छन् ।

विश्वविद्यालयमा राजनीतिकरण रोक्नुपर्ने, डीपीआरमा भ्रष्टाचार भएकाले छानबिन गर्नुपर्ने, परीक्षा बोर्डबिनै लिइएको परीक्षाको छानबिन गर्नुपर्ने लगायत माग राखेर जनमतका कार्यकर्ताले विश्वविद्यालयमा ताला लगाएका हुन् ।

‘विश्वविद्यालयलाई देखाएर जसपाले आफ्नो राजनीति गरिरहेको छ । हामी विश्वविद्यालय बनोस् भन्ने हाम्रो माग हो’, जनमतका केन्द्रीय सचिव बीपी साहले भने ।

मधेश प्रदेश सरकारबाट सञ्चालित कृषि विश्वविद्यालयको भवन भोलि शिलान्यास कार्यक्रम तय भएको छ । उक्त भवन शिलान्यास जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गर्ने तयारी छ ।

तर भवन शिलान्यासकै विषयमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवबीच समेत मतभेद देखिएको छ ।

मुख्यमन्त्री यादवले आफ्नै अध्यक्ष उपेन्द्र र शिक्षामन्त्री यादवले पनि आफ्नै अध्यक्ष सीके राउतलाई प्रमुख अतिथि बनाउने पक्षमा छन् ।

‘भोलि शिलान्यास नगर्नुहोस् भनेको छु । सरकारमा सहभागी दलहरुबीच छलफल गरेर अगाडि बढाउनुपर्छ’, शिक्षामन्त्री यादवले अनलाइनखबरसँग भने । तर, विश्वविद्यालयका रजिष्ट्रार भगवान ठाकुरले मुख्यमन्त्री यादवको निर्देशन मानेर विश्वविद्यालय भवन शिलान्यास कार्यक्रम राखेका छन् ।

यो विश्वविद्यालयको भवन उपेन्द्र यादव र सिके राउतकै क्षेत्र (सप्तरी–२) मा शिलान्यास हुँदैछ । राजविराज नगरपालिका-१३ मा बन्ने विश्वविद्यालय भवनको शिलान्यास उपेन्द्रले प्रमुख अतिथि भएर हुने भएपछि जनमत पार्टी रोक्न लागि परेको छ ।

‘यो क्षेत्रको माननीय सिके राउत हो । अनि हारेको व्यक्तिलाई प्रमुख अतिथि बनाएर शिलान्यास हुन सक्दैन’, जनमतका एक नेताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?