+
+
Shares

कृषि विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोह : २१९३ विद्यार्थी दीक्षित हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते ७:४५

६ असार, चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयले पाँचौं दीक्षान्त समारोह आज हुने भएको छ । स्नातक, स्नाकोत्तर र विद्यावारिधी गरेका २१ सय ९३ जना विद्यार्थी दीक्षित हुने भएका छन् ।

विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितीमा गर्न लागिएको दीक्षान्त समारोहमा विद्यावारिधी गरेका ३० जना, स्नातकोत्तर गरेका ३२७ र स्नातक गरेका १८ सय ३६ विद्यार्थीलाई दीक्षित गर्न लागिएको विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुबीर सिंहले जानकारी दिए ।

दीक्षान्त समारोहमा भारतको लद्दाख विश्वविद्यालयका उपकुलपति  प्रोफेसर साकेत कुशवाह प्रमुख अतिथिका रूपमा आउने रजिष्ट्रार प्रा.डा.सिंहले जानकारी दिए ।

विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका अनुसार विश्वविद्यालयमा नवौं ब्याजबाट उत्तीर्ण ११ सय १३ र दशौँ ब्याजबाट उत्तीर्ण १ हजार ८० विद्यार्थी छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. होम बहादुर बस्नेतले दीक्षान्त समारोहलाई सम्भ र भब्य रुपमा सफल बनाउन विभिन्न समिती, उपसमितीहरु गठन गरेर कार्यविभाजनसहित तयारी अन्तिम चरणमा पुगेको बताए ।

दीक्षित हुने विद्यार्थी, अभिभावक तथा अन्य अतिथिहरुलाई सहजताका लागि विभिन्न उपायहरु अपनाइएको उपकुलपति प्रा.डा. बस्नेतले जानकारी दिए । क्यूआर स्क्यानमार्फत प्रवेश, खाजाको व्यवस्था, लोकेसनहरुको बारेमा जानकारी जस्ता विषयलाई यसपटक राखिएको उनको भनाइ छ ।

वि.स.२०६७ सालमा स्थापना भएर २०६९ सालदेखि शैक्षिक कार्यक्रम सञ्चालन गर्न थालेको यस विश्वविद्यालयबाट हालसम्म ७२ जनाले विद्यावारिधी, १४२६ जनाले स्नातकोत्तर, ४४ सय ८ जनाले स्नातक उत्तीर्ण गरिसकेका छन् । कृषि, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान र बन विज्ञान विषयमा स्नातक र स्नातकोत्तर तथा विद्यावारिधीका कार्यक्रमहरू चलिरहेका छन् ।

विश्वविद्यालयमा एक सय जनाले विद्यावारिधी, चार बर्षे स्नातक कार्यक्रममा २२ सय ३६, स्नातकोत्तर (दुई बर्ष) मा ३७०, चार बर्षे बन कार्यक्रममा ३४९, दुई बर्षे स्नातकोत्तर कार्यक्रममा १७६ जनाले अध्ययन गरिरहेका छन् । यस्तैं, पाँच बर्षे पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायमा स्नातक तहमा ३८८ र दुई बर्षे स्नातकोत्तर कार्यक्रममा १३१ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

दीक्षान्त समारोहमा तीन वटै सङ्कायमा सर्वाधिक अङ्क प्राप्त गरी सङ्काय प्रथम हुने ४ जनालाई कुलपति पदक र ११ जनालाई विद्यालयलाई उपकुलपति पदकबाट सम्मान गर्ने कार्यक्रम रहेको विश्वविद्यालयका सूचना अधिकारी तथा सहप्रशासक सहदेव चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?