+
+
Shares

१६ औँ वर्षमा कृषि विश्वविद्यालय : झण्डै ४ हजार अध्ययनरत, ६ हजार ‘पासआउट’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३ गते १०:३५
विश्वविद्यालयको कृषि संकाय

३ असार, चितवन । देशको कृषि, वन, पशु विज्ञान तथा पशु चिकित्साको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यसहित स्थापना गरिएको देशकै पहिलो प्राविधिक विश्वविद्यालय कृषि तथा वन विज्ञान विश्वविद्यालयले १६ वर्ष पूरा गरेको छ ।

शिक्षण, अनुसन्धान र प्रसारलाई मुख्य प्राथमिकतामा राखेर २०६७ सालमा चितवनको भरतपुरस्थित रामपुरमा स्थापना गरिएको विश्वविद्यालयबाट १६ वर्षको अवधिमा ५ हजार ९०६ जना विद्यार्थी ‘पासआउट’ भइसकेका छन् ।

हाल विश्वविद्यालयमा ३ हजार ७५० जना विद्यार्थी विभिन्न संकायमा अध्ययनरत छन् । विश्वविद्यालयमा कृषि, पशु चिकित्सा तथा मत्स्य विज्ञान र वन गरी तीनवटा संकाय रहेका छन् ।

विश्वविद्यालयका सूचना अधिकारी तथा सहप्रशासक सहदेव चौधरीका अनुसार स्नातक र स्नातकोत्तर तहमा कृषि संकायमा २ हजार ६०६, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायमा ५१९, वन संकायमा ५२५ तथा विभिन्न संकायमा करिब १०० जना विद्यार्थी विद्यावारिधि अध्ययन गरिरहेका छन् ।

देशको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको कृषि क्षेत्रको सर्वाङ्गीण विकास, कृषिको आधुनिकीकरण तथा सामाजिक–आर्थिक स्तर उकास्न कृषि, वन र पशु विज्ञानसँग सम्बन्धित विषयहरूको एकीकृत अध्ययन, अध्यापन तथा अनुसन्धानमार्फत मुलुकभित्रै उच्चस्तरीय प्राज्ञिक तथा सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गरिएको हो । २०६७ सालमा ऐन बनेर विश्वविद्यालय स्थापना भए पनि २०६९ सालदेखि शैक्षिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

ऐनअनुसार त्रिभुवन विश्वविद्यालयसँगको स्वामित्व हस्तान्तरण प्रक्रिया पूरा हुन नसक्दा विश्वविद्यालय लामो समयदेखि विभिन्न समस्यामा पर्दै आएको छ । यसका कारण विश्वविद्यालयले आफ्नो सम्पूर्ण ध्यान पठनपाठन र अनुसन्धानमा केन्द्रित गर्न सकेको छैन ।

अपेक्षाअनुसार विद्यार्थी भर्ना नहुनु चुनौती

स्थापनाको समयमा कृषि संकायमा १५० जना, पशुविज्ञान तथा पशु चिकित्सा संकायमा ५० जना र वन संकायमा ४० जना विद्यार्थीले मात्र अध्ययन गर्ने अवसर पाएका थिए । पछिल्ला वर्षहरूमा भने यो संख्या उल्लेख्य रूपमा बढेको छ ।

विश्वविद्यालयले सातवटा निजी कलेजलाई पनि सम्बन्धन दिएको थियो । तर विद्यार्थी अभावका कारण ती कलेजहरू संकटमा परेका छन् ।

हाल कृषि संकायअन्तर्गत आठवटा र वन संकायअन्तर्गत एउटा आङ्गिक कलेज सञ्चालनमा छन् । हरेक प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी कृषि शिक्षाको विस्तार गर्ने उद्देश्यले आङ्गिक कलेज स्थापना गरिए पनि पछिल्ला वर्षहरूमा अपेक्षाअनुसार विद्यार्थी भर्ना हुन नसक्नु विश्वविद्यालयका लागि चुनौती बनेको छ ।

विश्वविद्यालय स्थापनापछि पशुविज्ञान तथा पशुचिकित्सा संकायमा मत्स्य विज्ञान कार्यक्रम पनि थप गरिएको छ, जसमा २० जना विद्यार्थी अध्ययन गर्न सक्ने व्यवस्था छ ।

हाल प्रतिवर्ष कृषि संकाय, रामपुरमा २१८ जना, सातवटा कृषि आङ्गिक क्याम्पसमा ५४ जनाका दरले ३७८ जना, वन विज्ञान संकाय हेटौँडामा ८० जना, आङ्गिक क्याम्पस कटारीमा ५० जना तथा पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायमा १२० जना विद्यार्थी भर्ना गर्न सकिने व्यवस्था छ ।

सम्बन्धन प्राप्त ७ निजी कलेज संकटमा

कृषि शिक्षालाई सर्वसाधारणका छोराछोरीसम्म सहज पहुँचमा पुर्‍याउने उद्देश्यले रामपुरबाहेक कास्कीको पुरञ्चौर, धनकुटाको पाख्रिवास, उदयपुरको कटारी, सिन्धुलीको कपिलाकोट, महोत्तरीको बर्दिवास, कैलालीको टीकापुर, रोल्पाको माडीचौर र बाँकेको खजुरामा कृषि संकायअन्तर्गतका आङ्गिक कलेज सञ्चालनमा छन् । वन विज्ञान संकायको आङ्गिक क्याम्पस उदयपुरको कटारीमा रहेको छ ।

प्रत्येक आङ्गिक क्याम्पसमा स्थानीय दुई जनाको कोटासहित ५४ जना विद्यार्थीले छात्रवृत्तिसहित अध्ययन गर्न पाउने व्यवस्था छ ।

विश्वविद्यालयले सातवटा निजी कलेजलाई पनि सम्बन्धन दिएको थियो । तर विद्यार्थी अभावका कारण ती कलेजहरू संकटमा परेका छन् ।

‘कृषकसँग एएफयू’

कृषि उत्पादन प्रक्रियामा किसानहरूले भोग्दै आएका समस्या समाधान गर्ने तथा विश्वविद्यालयका अनुसन्धानका नतिजा किसानसम्म पुर्‍याउने उद्देश्यले गोरखाको गण्डकी गाउँपालिका–७ घ्यालचोक र मकवानपुरको थाहा नगरपालिका, पालुङमा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ ।

‘कृषकसँग एएफयू’ भन्ने नारालाई मूर्त रूप दिन विश्वविद्यालयले कृषि मेला, विभिन्न बाली तथा पशु स्वास्थ्य परीक्षण शिविर र अनुसन्धान कार्यक्रम सञ्चालन गर्दै आएको छ । विश्वविद्यालयलाई किसानसँग जोड्ने र किसानका समस्यामाथि अनुसन्धान गर्न सहज हुने भएकाले यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको हो ।

विश्वविद्यालयबाट अपेक्षा

ज्ञान तथा अनुभव आदानप्रदानका लागि विभिन्न सम्मेलनहरू पनि आयोजना गरिँदै आएका छन् ।

विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुबीर सिंहले कृषि, पशुविज्ञान, पशु चिकित्सा, मत्स्य विज्ञान तथा वन विज्ञानसम्बन्धी दक्ष जनशक्ति उत्पादन, अनुसन्धान, प्रसार र नवप्रवर्तनका क्षेत्रमा देशले विश्वविद्यालयबाट ठूलो अपेक्षा राखेको बताए ।

विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशमै कृषिकर्ममा संलग्न भई कुल गार्हस्थ्य उत्पादन र उत्पादकत्व वृद्धि गर्न अग्रसर हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले गत वर्षदेखि लागू गरिएको विशिष्टीकृत नवीन पाठ्यक्रम, शैक्षिक–प्रशासकीय सुधार, सीपमूलक अध्यापन तथा प्रशिक्षण र समयानुकूल परीक्षा प्रणालीले विश्वविद्यालयको साख बढ्ने विश्वास व्यक्त गरे ।

उपकुलपति प्रा. डा. होमबहादुर बस्नेतले दुई महिनाभित्र परीक्षा नतिजा प्रकाशन गर्ने तथा शैक्षिक पात्रो नियमित रूपमा सञ्चालन गर्ने विषयमा विश्वविद्यालय केन्द्रित रहेको बताए ।

विद्यार्थी संख्या बर्सेनि घट्दै गएको अवस्थालाई ध्यानमा राख्दै आगामी दिनमा ठोस योजनासहित अघि बढ्ने उनको भनाइ छ । कृषि, पशुपालन तथा वनसँग सम्बन्धित क्षेत्रबाट आयआर्जनका विविध पक्षमा खोज तथा अनुसन्धानलाई थप प्रभावकारी बनाइने उनले बताए ।

बागमती प्रदेश सरकारसँग समन्वय गरी फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा गर्न सकिने कामबारे निर्देशक तहमा अध्ययन भइरहेको जानकारी पनि उनले दिए ।

स्थापना दिवसमा विविध कार्यक्रम

विश्वविद्यालयले १६ औँ स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

रजिस्ट्रार सिंहका अनुसार स्थापना दिवसका अवसरमा बाली उपचार शिविर तथा किसान सचेतना कार्यक्रम, रक्तदान, पशु स्वास्थ्य शिविर, वृक्षारोपण, कृषि तथा पशुपालन क्षेत्रमा कार्यरत किसानलाई तालिम, धान रोपाइँसम्बन्धी जानकारी तथा पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको पहलमा कुकुरलाई रेबिजविरुद्ध खोप लगाउने कार्यक्रम तय गरिएको छ ।

वन संकायले रुखहरूमा वैज्ञानिक नामसहितको परिचयात्मक ट्याग राख्ने, काठ तथा गैरकाष्ठ वन पैदावारको प्रदर्शनी तथा चरासम्बन्धी ज्ञान आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

अनुसन्धान तथा प्रसार निर्देशनालयको आयोजनामा भरतपुर महानगरपालिका–२६ मा नि:शुल्क बाली उपचार तथा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

किसान, विज्ञ र विश्वविद्यालयबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यले कृषि विषयक अन्तरक्रिया तथा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा स्थापना दिवस समारोह आयोजना गरिएको विश्वविद्यालय दिवस समारोह कार्यदलका संयोजक तथा योजना निर्देशक डा. रामहरि तिमिल्सेनाले जानकारी दिए ।

उनका अनुसार नेपालको झण्डा र विश्वविद्यालयको झण्डोत्तोलनसँगै औपचारिक कार्यक्रम सुरु हुनेछ ।

सो अवसरमा विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयद्वारा प्रकाशित एएफयू जर्नल तथा विद्यावारिधि अनुसन्धान सारसङ्ग्रहको विमोचन कार्यक्रम पनि राखिएको छ ।

देशका विभिन्न जिल्लामा रहेका आङ्गिक कलेजहरूले पनि स्थापना दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरेका छन् ।

प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पोखराले ‘प्रयोगशालादेखि खेतबारीसम्म : किसानसँग एएफयूको सहकार्य’ शीर्षकमा खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।

प्राकृतिक स्रोत व्यवस्थापन कलेज, सिन्धुलीले विषादीको बढ्दो प्रयोगले किसान, उपभोक्ता तथा वातावरणमा पार्ने प्रभावबारे सचेतना कार्यक्रम सञ्चालन गर्दैछ ।

प्राकृतिक स्रोत व्यवस्थापन कलेज, बर्दिवासले चरा अवलोकन, रक्तदान लगायतका कार्यक्रम आयोजना गरेको छ ।

त्यसैगरी, प्राकृतिक स्रोत व्यवस्थापन कलेज, धनकुटाले श्रव्यदृश्य सामग्रीमार्फत किसान तथा विद्यालय–कलेजका विद्यार्थीसँग कृषि शिक्षाबारे अन्तरक्रिया गर्ने भएको छ भने प्राकृतिक स्रोत व्यवस्थापन कलेज, टीकापुरले व्यावसायिक केरा किसानसँग केरा खेती, रोग–किरा व्यवस्थापन, अपनाउनुपर्ने सावधानी तथा बजार व्यवस्थापनका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नेछ ।

यसका साथै वृक्षारोपण कार्यक्रम तथा सबै आङ्गिक कलेज र संकायहरूमा साँझ दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिने तिमिल्सेनाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?