+
+

तीव्र बन्यो ईभी ‘एडप्टेसन’, ६ महिनामा तीन गुणा बढ्यो आयात

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १४:४१

७ माघ, काठमाडौं । गत आर्थिक वर्ष (आव) को पहिलो ६ महिनाको दाँजोमा चालु आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा विद्युतीय सवारीसाधन (ईभी) आयात तीन गुणाले बढेको छ ।

गत आव २०७९/८० पुस मसान्तसम्म १ हजार ७ सय ४९ युनिट ईभी आयात भएको थियो । चालु आव पुस मसान्तमा आइपुग्दा यो संख्या ५ हजार १ सय ७ भएको छ ।

गत आवभरि भित्रिएका ईभीको तुलनामा यो वर्ष पहिलो ६ महिनामै १ हजार १ सयभन्दा धेरै भित्रिएका छन् ।

गत आवभरिमा ४ हजार ५० युनिट ईभी भित्रिएको थियो । यो तीन पाङ्ग्रे ईभीबाहेक तथ्यांक हो ।

तथ्यांकअनुसार गत मंसिरसम्म ३ हजार ६ सय ३६ युनिट ईभी भित्रिएकोमा पुसमा मात्रै १ हजार ४ सय २१ भित्रियो । त्यसमध्ये १ हजार ३ सय २५ कार तथा बाँकी भ्यान छ ।

ईभी आयातमा साढे १३ अर्ब बाहिरियो

चालु आर्थिक वर्ष पहिलो ६ महिनामा ईभी आयातमा १३ अर्ब ४० करोड रुपैयाँ बाहिरिएको छ ।

उक्त अवधिमा मुलुकमा कुल ३६ अर्ब ३१ करोड रुपैयाँबराबरका सवारीसाधन आयात भएकोमा त्यसको ३७ प्रतिशत हिस्सा ईभीले ओगटेको छ ।

चालु आव सरकारले ईभीमा कर बढाए पनि आयात भने उत्साहप्रद देखिएको छ ।

खासगरी, यो वर्ष ईभीमा धेरै ‘भेराइटी’ थपिनुका साथै सस्तो मूल्यका पनि बजारमा उपलब्ध भएकाले यसको आयात बढेको विक्रेता बताउँछन् ।

नेपालमा टाटा, बीवाईडी, एमजी, हुन्डाइ, सिट्रोन, कियालगायत कम्पनीले ईभी बिक्री गर्दै आएका छन् । टाटा, बीवाईडी र एमजी नेपालमा ईभीका सबैभन्दा लोकप्रिय ब्रान्ड हुन् ।

नेपाललाई सुहाउँदा गाडीहरु आएको र ग्राहकहरुमा ईभीप्रति आत्मविश्वास पनि बढेकाले विद्युतीय सवारीको बिक्री बढेको बीवाईडीकी विक्रेता यमुना श्रेष्ठ बताउँछिन् ।

‘ईभीका प्रयोगकर्ता बढेसँगै यसको फाइदा, कम खर्चलगायत विषयमा एकले अर्कोलाई भन्दै जाँदा यसको एडप्टेसन बढेको छ,’ उनले भनिन् ।

यसका साथै ईभीलाई बैंकले मूल्यको ८० प्रतिशतसम्म ऋण दिने गरेको र ब्याजदर पनि सस्तो भएकाले पनि यसप्रति ग्राहकहरुको रुची बढेको उनी बताउँछिन् ।

यस अवधिमा व्यावसायिक प्रयोजनका भ्यानहरुको बिक्री पनि बढेको उनको भनाइ छ । ‘विद्युतीय माइक्रोबस चलाउँदा सञ्चालन खर्च बचेर फाइदा धेरै हुने भएपछि यो सेग्मेन्टमा पनि ईभीको प्रयोग बढिरहेको छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?