+
+

धनगढीका जनप्रतिनिधिबीच मतभेद, मेयर हमाल भन्छन् : मलाई राजीनामा दिन बाध्य पारिँदैछ

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल सहभागी हुने कार्यक्रममा कांग्रेस–माओवादीबाट निर्वाचित वडाध्यक्षहरु सहभागी हुन छाडेका छन् । यसलाई मेयर हमालले राजीनामा दिन बाध्य पार्न खोजिएको अर्थमा लिएका छन् ।

जनक विष्ट जनक विष्ट
२०८० माघ ७ गते १५:४३

७ माघ, धनगढी । प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले अनिवार्य अवकास पाएपछि धनगढी उपमहानगरपालिकाले उनको विदाइमा शनिबार औपचारिक कार्यक्रम आयोजना गर्यो ।

धनगढी उपमहानगरमा पाँच वर्ष एक महिना सेवा गरेर श्रेष्ठको विदाइ कार्यक्रममा मेयर गोपाल हमाल, उपमेयर कन्दकला राना र एमालेबाट निर्वाचित जनप्रतिनिधि सहभागी भए । तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु भने विदाइ कार्यक्रममा देखिएनन् ।

शनिबार मात्र होइन, उपमहानगरपालिकाले बिहीबारदेखि सुरु गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा समेत कांग्रेस र माओवादीबाट निर्वाचित वडाध्यक्षसहितका जनप्रतिनिधि सहभागि भएनन् ।

धनगढी उपमहानगरपालिकाले गत मंसिरमा ल्याएको जग्गा प्लटिङ सम्बन्धी कार्यविधिको विरोधमा उत्रिएका जनप्रतिनिधिहरुले छुट्टै बैठक बसेर मेयरले एकलौटी गरेको भन्दै खारेज गर्ने निर्णय गरेका थिए । त्यही बेलादेखि मेयर हमाल र जनप्रतिनिधिबीच मनमुटाव भएको थियो ।

यो बीचमा उपमेयरसहित एमालेबाट निर्वाचित जनप्रतिनिधि र मेयरबीच सम्वन्य भएपनि कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिसँग भने संवादहीनताको अवस्था छ । कतिसम्म भने उपमहानगरपालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा उनीहरु सहभागी हुँदैनन् ।

मेयर हमालको निजी सचिवालयका अनुसार कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले अहिलेसम्म पाँच वटा औपचारिक कार्यक्रम बहिष्कार गरिसकेका छन् । उनीहरुबीचको संवादहीनताले नगर कार्यपालिकाको बैठक र नगरसभा समेत बस्न सकेको छैन ।

कांग्रेसका नगर संसदीय दलका नेता समेत रहेका वडा नम्बर ४ का अध्यक्ष बुद्धिबहादुर खड्काले भने कार्यक्रम बहिष्कार गरेको नभएर उपमहानगरपालिकाले खबर नै नगर्ने गरेकाले सहभागी हुन नसकेको दाबी गरे । ‘हामीले कुनै पनि कार्यक्रम बहिष्कार गरेका छैनौं । त्यो गलत कुरा हो । मेयरले कुनै सूचना नै दिनुहुन्न,’ खड्काले अनलाइनखबरसँग भने, ‘कार्यक्रमबारे सूचना नै नदिएपछि हामी जाने कुरा भएन । आ-आफ्नो काम हुन्छ ।’

खड्काले कार्यपालिकाको बैठक कानुन सम्मत तरिकाले चलाउनुपर्ने र सबैसँग छलफल गरेर अघि बढ्नुपर्ने आफूहरुको माग भएको बताए । तर मेयर हमालले छलफल नै गर्न नचाहेको उनको दाबी छ ।

यस्तै माओवादीबाट निर्वाचित वडा नम्बर ६ का अध्यक्ष भागीराम चौधरीले समेत कुनै पनि कार्यक्रम बहिष्कार नगरेको दाबी गरे । उनले कार्यक्रमबारे उपमहानगरपालिकाले खबर नै नगर्ने गरेकाले सहभागी नभएको बताएका छन् । ‘हामीले बहिष्कार गरेका छैनौँ । कुनै बैठक र कार्यक्रम हुने भनेर पत्र आएको छैन । पत्र नआएपछि जाने कुरा पनि भएन,’ चौधरीले भने, ‘बरु हामीले बैठक बोलाउनुपर्छ भनेका छौं ।’

तर मेयर हमालले भने आफूलाई असफल बनाउन कांग्रेस र माओवादीका जनप्रतिनिधिले मोर्चाबन्दी गरेको दाबी गरेका छन् । हमालले गठबन्धनमा आवद्ध राजनीतिक दलका जनप्रतिनिधिहरुले आफूलाई राजीनामा दिन बाध्य पार्न खोजिरहेको समेत बताए ।

‘उहाँहरुसँग बहुमत छ । सुरुवातमा के गर्न सक्ला र, एक्लो छ भन्ने थियो । पछिल्ला दिनहरुमा राम्रो काम भयो । उहाँहरुलाई हामीले गरेका राम्रो कामले समस्या भएको छ,’ हमालले भने, ‘सोही कारणले मलाई राजीनामा दिन बाध्य बनाउँदै हुनुहुन्छ । प्रमुख प्रशासकीय अधिकृतसाबको बिदाइ कार्यक्रम मात्र होइन, आसरा सुधार केन्द्रको उदघाटनदेखि उहाँहरुले म सहभागी भएका कार्यक्रम बहिष्कार गर्नु भएको छ ।’ हमालले गठबन्धनमा आवद्ध जनप्रतिनिधिहरुका कारण काम गर्ने वातावरण नभएको बताए ।

१९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट ११ र माओवादी केन्द्रबाट दुई जना वडाध्यक्ष छन् भने एमालेबाट उपमेयरसहित ६ वडाध्यक्ष निर्वाचित भएका थिए । कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत छ । बहुमत कार्यपालिकाका सदस्यहरु नै मेयरले आफूखुसी जग्गा प्लटिङ सम्बन्धी कार्यविधि ल्याएको भन्दै विरोधमा उत्रिएका थिए । उक्त कार्यविधि खारेज गर्नुपर्ने माग गर्दै परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

कांग्रेस र माओवादीका जनप्रतिनिधि र मेयरबीचको मतभेदका कारण प्रत्येक महिना बस्नुपर्ने कार्यपालिकाको बैठक बस्न सकेको छैन भने पुसभित्र बोलाउनुपर्ने नगरसभा समेत बोलाइएको छैन ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?