+
+

उपेन्द्र यादवलाई सीके राउतले दिइरहेको चेक

सइन्द्र राई सइन्द्र राई
२०८० माघ ८ गते २१:५६

८ माघ, काठमाडौं । जनमत पार्टीको विरोधका बीच जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास गरेका छन् ।

राजविराज नगरपालिका–१३, मा निर्माण गरिन लागेको भवनको अध्यक्ष यादवले शिलान्यास गरिरहँदा प्रहरी र जनमत पार्टीका नेता–कार्यकर्ता बीच झडप भएको छ ।

झपडमा परी मधेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेशसभा सदस्यहरु सतिशकुमार सिंह, भाग्यश्री चौधरी, रञ्जु खंग लगायत घाइते भएका छन् । उनीहरु सबै जनमत पार्टीका प्रदेशसभा सदस्य हुन् । जनमत पार्टीले शिलान्यास कार्यक्रम स्थगित गर्न माग गरेको थियो ।

अध्यक्ष सीके राउतले शान्ति सुरक्षा कायम गर्न शिलान्यास कार्यक्रम रोक्न गृह मन्त्रालयलाई पत्र नै लेखेका थिए । विश्वविद्यालयका सहकुलपति रहेका प्रदेश मन्त्री यादवले त्यसअघि नै वक्तव्य जारी गरी शिलान्यास कार्यक्रम रोक्न निर्देशन दिएका थिए ।

राउत र यादवको वक्तव्य अघि जनमतका कार्यकर्ताले विश्वविद्यालयमा तालाबन्दी गर्नुका साथै प्रदर्शन समेत गरेका थिए । तर जसपा अध्यक्ष यादव र मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले शिलान्यास कार्यक्रम रोकेनन् । अन्ततः बलियो सुरक्षा घेराभित्र विश्वविद्यालय भवनको शिलान्यास भयो ।

‘सप्तरीका सडकहरुमा बिहानैदेखि सेनाको उपस्थिति थियो नै, सडकका हरेक मोड र कार्यक्रमस्थलमा भारी संख्यामा प्रहरी तैनाथ गरिएको थियो’, राउतले सामाजिक सञ्जालमा लेखेका छन् । राउतले सोमबार राजविराजमा देखिएको दृष्यलाई ‘हिटलर’सँग तुलना गरेका छन् ।

तर जसपाका नेता मनिष सुमन भने विश्वविद्यालय भवनको शिलान्यास जस्तो महत्वपूर्ण विषयमा जनमत पार्टीले कुबुद्धि देखाएको टिप्पणी गर्छन् । ‘विश्वविद्यालय भनेपछि त्यसको भूगोल हुँदैन, तर निर्वाचन क्षेत्रसँग जोडेर प्रचार गर्नु कुबुद्धि हो’ उनी भन्छन् ।

गत वर्ष मंसिरको चुनावमा यही क्षेत्र (सप्तरी–२) बाट यादव र राउतले प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए । तर मधेशको राजनीतिमा स्थापित नेता यादव दोब्बर बढी मतान्तरले राउतसँग पराजित भएका थिए ।

नेकपा एमालेसँग गठबन्धन गर्दा पनि यादवले १६ हजार ९७९ मत पाएका थिए भने ३५ हजार ४२ मत ल्याएर राउतले जितेका थिए । जानकारहरुका अनुसार, विश्वविद्यालयको भवन शिलान्यासमा देखिएको तनावको कारण यादव र राउत बीचको टकराब हो ।

राउतले आइतबार सामाजिक सञ्जालमा सप्तरी–२, मा नआउन यादवलाई सन्देश दिएका थिए । ‘…मेरो निर्वाचन क्षेत्रमा दंगा मच्चाउन किन आउनुपर्ने ? न उहाँको (उपेन्द्र) यहाँ घर छ, न उहाँ यहाँको जनप्रतिनिधि ..’, राउतले एक्समा लेखेका थिए ।

जसपाका नेताहरू भने यो निर्वाचन क्षेत्र र विश्वविद्यालयमा ठूलो योगदान रहेकाले शिल्यान्यास गर्ने हक उपेन्द्र यादवसँग भएको तर्क गर्छन् ।

वर्चश्वको संघर्ष

मधेश केन्द्र बनाएर राजनीति गरिरहेको जसपा र जनमतले एकअर्कालाई निषेध गर्ने तहमै पुग्दा आजको दृष्य देखिएको हो । तर संघर्ष पहिलेबाटै थियो । अझ गत वर्ष सम्पन्न आम चुनावबाट राउत नेतृत्वको जनमत पार्टी मधेशकै प्रमुख शक्ति बनेपछि संघर्ष चर्कियो ।

कुनैपनि गठबन्धनमा नरहेको राउत स्वयंले यादवलाई हराउँदा उनको दल जनमतले मधेशमा अप्रत्यासित मत पायो । प्रत्यक्षतर्फ ६ र समानुपातिक तर्फ ७ गरी १३ सिट सहितको पार्टी बन्दा जसपाले १६ सिट (प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ ७ सिट) मात्रै जित्यो ।

तर पार्टी मत (समानुपातिक) जनमतले धेरै मत पायो । जनमतले तीन लाख २९ हजार १७७ (१६.८६ प्रतिशत) मत ल्याउँदा जसपाले दुई लाख ९८ हजार ७७४ (१५.३ प्रतिशत) मात्रै मत पायो । जनमत भन्दा धेरै सिट एमाले र कांग्रेसले मात्रै ल्यायो ।

जनमतले पाएको मतलाई जसपाका नेताहरुले हावाहुरी भन्ने गरेका छन् । ‘सधैं विरोध गरेरै मत पाइन्छ भन्ने हुँदैन । तर उहाँहरुलाई त्यस्तो लागेकाले राम्रो कुरालाई पनि विरोध गरिरहनुभएको छ’ जसपा नेता मनिष सुमन भन्छन् । राउतले चाहिँ मधेशमा पाएको मत देखाएर प्रदेश र संघमा आफ्नो हिस्सा खोजिरहेका छन्, जसको विपक्षमा लगातार उपेन्द्र यादव देखिन्छन् ।

‘मधेशको नयाँ जनादेश भनेको हामीलाई सरकारको नेतृत्व गर्ने हो, त्यसमा कांग्रेस र एमाले तयार छन् । कोही विरोधमा छ भने त्यो जसपा नै हो’, जनमतका नेता बीपी साह भन्छन् । मधेशको सरकार निर्माणबाट सुरु भएको जसपाको निषेधको राजनीति अहिले सबैतिर कायम रहेको उनी तर्क गर्छन् । ‘जसपासँग हाम्रो कुनै प्रतिस्पर्धा छैन, त्यो पार्टी आफैं सकिदैछ । तर माओवादी र पहाडीविरुद्ध हिंसाको राजनीति गरेकाले कसैसँग मित्रवत व्यवहार गर्न सकिरहेको छैन’, उनी भन्छन् ।

जबकी राष्ट्रिय राजनीतिको एउटै कित्तामा उभिएको दुवै दल संघ र प्रदेश सरकारमा सँगै छन् । एमालेसँग मिलेर चुनाव लडेको जसपा सत्ताकै लागि कांग्रेस नेतृत्वको गठबन्धनमा छ भने नयाँ शक्ति बनेर उदाएको जनमत ‘जता सत्ता, उतै यात्रा’ गरिरहेको छ ।

तर सत्ता र सत्तारुढभित्रै संघर्ष चलिरहेको छ । आगामी ११ माघमा तय भएको राष्ट्रियसभा चुनावमा जसपाकी पूजा चौधरी सत्ता गठबन्धनबाट मधेशको महिला कोटामा उम्मेदवार छन् । गठबन्धनबाट अर्को उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुंगाना (अन्य कोटातर्फ) छन् । तर सत्तारुढभित्रै रहेर जनमतले अन्य कोटातर्फ रामाशंकर महासेठको उम्मेदवारी दिएको छ । जसपाले मात्रै गठबन्धनबाट भाग पाएपछि जनमतले अलग्गै उम्मेदवारी दिएको हो ।

यसअघि पनि गठबन्धनभित्रै रहेर जनमतले फरक उम्मेदवारी दिदै आएको छ । गत १० वैशाखमा सम्पन्न उपनिर्वाचनमा जनमतले बारा–२ मा सत्ता गठबन्धनविरुद्ध बलियो चुनौती दिएको थियो । गठबन्धनका तर्फबाट उपेन्द्र यादव आफै उम्मेदवार थिए । तर उपेन्द्रलाई रोक्न जनमतले माओवादीबाट शिवचन्द्र कुशवाह भित्र्याएर उम्मेदवार बनायो ।

यद्यपि यादवले ५ हजार बढी मतान्तरले जिते । यादवले २८ हजार ४१५ मत ल्याएर जित्दा कुशवाहले २३ हजार ३३४ मत पाए । त्यसबेला यादवलाई हराउन सीके राउत आफैं चुनाव प्रचारमा खटिएका थिए भने यादवले सत्ता शक्तिको भरपुर उपयोग गरे ।

बारा २ को उपनिर्वाचन प्रचारको क्रममा सीके राउत ।

स्रोतका अनुसार, आफैसँग चुनाव हारेका उपेन्द्रलाई उपनिर्वाचन गरेर संसदमा ल्याउने प्रस्ताव आउँदा राउतले उपराष्ट्रपति मागेका थिए । तर उपराष्ट्रपति र बारा–२ दुवै छोड्न यादव तयार भएनन् ।

‘मुख्यमन्त्री छोड्न पहिले तयार हुनुभएन । त्यसपछि उपराष्ट्रपति र बारा–२ छोड्न मान्नु भएन’ जसपाका एक नेता भन्छन्, ‘अनि हामीले पनि छोड्नुपर्छ भन्ने हुँदैन भन्ने निष्कर्ष निकाल्यौं ।’

३ चैत २०७९ मा भएको उपराष्ट्रपतिको चुनावमा जनमतबाट ममता झा उम्मेदवार बनिन् । तर राष्ट्रपतिको चुनावमा जनमतको उम्मेदवार थिएन । अर्थात् गठबन्धनबाट जसपाका साह उपराष्ट्रपतिको उम्मेदवार बनेकैले जनमतले अलग्गै उम्मेदवार बनायो ।

यी घटनाक्रमबीच जसपा र जनमत संघीय सरकारका सहयात्री छन्, मधेश प्रदेशमा त आलोपालो मुख्यमन्त्रीकै सहमति छ । तर एकअर्काविरुद्धको संघर्ष लुकेको छैन ।

गत ५ माघको बलिदानी दिवस समेत जसपा र जनमतले अलग–अलग मनाए । मधेश आन्दोलनको सम्झनामा जसपाले प्रदेश सरकारकै आयोजनामा यो दिवस मनायो ।

जनमतले भने अरु सत्ता साझेदार र एमालेलाई समेत बोलाएर यो दिवस मनायो । जसपाले सरकारी कार्यक्रम र ब्यानरको दुरुपयोग गरेको भन्दै सप्तरीको औरही गाउँपालिकाको कार्यालयमा जनमतले ताला नै लगाएको छ । आफ्ना कार्यकर्तालाई मात्रै न्यानो कपडा बाँडेको भन्दै जनमतले ताला लगाएको हो ।

जसपाका नेताहरु जनमतले सरकार पनि नछोड्ने र निरन्तर असहयोग गरेर गैरराजनीतिक व्यवहार देखाइरहेको बताउँछन् । ‘विचार त उहाँहरुसँग देखिएन, तर मधेश मधेश भनिरहनुभएकाले उहाँहरु हाम्रो हाम्रो मित्र हो’ जसपा नेता सुमन भन्छन्, ‘विरोध गर्दा मत पाइन्छ भन्ने मात्रै देखिन्छ ।’

कृषि विश्वविद्यालय भवन शिलान्यास कार्यक्रममा प्रदेश सरकारकै मन्त्री घाइते भएको दृष्यले पनि जसपा नेतृत्वको मधेश सरकारलाई जनमतको असहयोग पुष्टि हुन्छ ।
तर जनमतका नेता बीपी साह भने जसपाले जनमतका नेताहरुलाई मन्त्री जस्तो व्यवहार नगरेकै कारण त्यस्तो अवस्था आएको तर्क गर्छन् । ‘हामी सत्ता साझेदार हो, एउटा हिस्सा हो । तर हाम्रो भागमा परेको मन्त्रालय तीनपटकसम्म फुटाइन्छ, निर्णयहरु मन्त्रिपरिषदबाट भइरहेको छैन’, उनी भन्छन् ।

जसपाका नेताहरुले भनेजस्तो असहयोग मात्रै नभएर प्रदेश सरकारकै नेतृत्व परिवर्तनको कुरा जनमतले उठाउन थालेको छ । गत शनिबार (६ माघमा) मात्रै सप्तरीमा भएको एक पत्रकार सम्मेलनमा अध्यक्ष राउतले मधेश प्रदेशको सरकार फेर्ने बेला भइसकेको बताएका थिए ।

‘सहमति अनुसार एक वर्ष जसपाले चलाउने, त्यसपछि दुई वर्ष जनमतले चलाउने र त्यसपछि २ वर्ष कांग्रेसले चलाउने सहमति हो । त्यो अनुसार त उहाँहरुले अहिले छोड्नुपर्ने हो’, राउतले भनेका थिए । जनमतका प्रवक्ता शरदसिंह यादव, सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच जुटेको सहमतिलाई पार्टी अध्यक्षले सम्झाएको बताउँछन् ।

यसरी सार्वजनिक घटनाक्रममा मात्रै नभएर जसपा र जनमतबीच सत्तारुढ गठबन्धनभित्र समेत एकअर्कालाई निषेध गर्नेगरी नेताहरु प्रस्तुत हुने गरेको एक नेता बताउँछन् ।

गत वर्ष १० पुसमा प्रचण्ड प्रधानमन्त्री हुँदाको एमाले गठबन्धनमा जनमत सहभागी थियो । त्यसबेला जनमतको दावी अनुसार, उद्योग अथवा कृषि मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्ड सहमत थिए ।

पछि पूर्वसहमति बमोजिम मन्त्रालय दिन प्रचण्ड तयार नहुुनुमा उपेन्द्र यादवको दबाव कारण रहेको जनमतका नेताहरुको बुझाइ छ । तर सत्ता नछोड्ने नीति लिएको जनमतले खानेपानी तथा सरसफाइ मन्त्रालय समेत स्वीकार्‍यो, अब्दुल खान मन्त्री भए ।

तर उपनिर्वाचनमा अलगअलग उम्मेदवारी परेपछि १७ चैतमा जनमतले प्रचण्ड नेतृत्वको सरकार नै छोड्यो । उपनिर्वाचन सकिएपछि फेरि जनमत सरकारमा सहभागी भयो । गत २७ साउनमा अनिता देवी संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्री भइन् ।

यस्ता गतिविधिका कारणले सार्वजनिक आलोचना हुँदा पनि दुवै दल एउटै कित्तामा (जता सत्ता, उतै) अडिरहनुको कारण मधेशमा एकअर्कालाई कमजोर पार्ने मनोविज्ञान रहेको स्वयं नेताहरु स्वीकार्छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?