+
+

संसदको सम्भावित क्यालेन्डर : टीआरसीमा मौन, फागुन ३ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १९:५०

९ माघ, काठमाडौं । संघीय संसद सचिवालयले सम्भावित संसदीय क्यालेन्डर तयार पारेको छ ।  यही माघ २२ गतेदेखि लागू गर्ने तयारीका साथ बनाइएको सम्भावित संसदीय क्यालेन्डरमा आगामी फागुन १५ गतेसम्मको सम्भावित तालिकाहरु तय गरिएको छ ।

पहिलो दिन संसदको कार्यवाहक महासचिव तोकिएको जानकारी गराउनेसहितका विषय समावेश छन् । पहिलो दिन अधिवेशन आह्वानको पत्रको जानकारी, राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त पत्रहरुको जानकारी, संघीय संसदको कार्यवहाक महासचिव तोकिएको जानकारी, शीर्ष नेताहरु बोल्ने भएका दलगत मन्तव्यका लागि समय छुट्याउने उल्लेख छ ।

साथै, सरकारले जारी गरेका अध्यादेश पेश गर्ने, राष्ट्रिय सभाबाट पारित भई आएका विधेयकको सन्देश टेबेल गर्ने र सभामा सभामुखलाई पालो दिनका लागि अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने विषय पहिलो दिन गर्ने भनिएको छ । अघिल्लो अधिवेशन यता कुनै पूर्वसांसदको मृत्यु भएको भए शोक प्रस्ताव पेश गर्ने विषय पनि पहिलो दिनको क्यालेन्डरमा राखिएको छ ।

दोस्रो दिन शून्य समय चलाउने र प्रतिनिधि सभामा उत्पति भएको बैंकिङ कसूर तथा सजाय सम्बन्धी विधेयकमाथि सामान्य छलफल चलाउने, तेस्रो दिन शून्य समय र विशेष समय चलाउने, राष्ट्रिय सभाबाट पारित भएर आएको विद्युतीय व्यापार सम्बन्धी विधेयकमाथि सामान्य छलफल चलाउने भनिएको छ ।

चौथो दिन शून्य समय चलाउने, प्रतिनिधि सभामा उत्पति भएको निर्माणमुखी सामाग्री विधेयक पेश गर्ने, सम्पति सुद्धीकरण सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने र प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने दिनको जानकारी गराउने उल्लेख छ ।

फागुन १ गते पाचौं बैठक चलाउने र त्यस दिन शून्य र विषय समयमा उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीलाई दिन लागउने, बैंकिङ कसूर सम्बन्धी विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पठाउने सम्भावित तालिका छ ।

फागुन ३ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्ने सम्भावित तालिका छ । प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्रीसँग प्रत्यक्ष रुपमा प्रश्न सोध्नको लागि प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ ।

पहिलो हप्ता कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नुपर्ने भनिएको छ । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सकिएपछि भन्सार विधेयकमाथि सामान्य छलफल चलाउने र विद्युतीय व्यापार विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने उल्लेख छ ।

फागुन ४ गते शून्य र विशेष समय चलाउने, राष्ट्रिय सभाबाट पारित भएर आएको मर्यादा सम्बन्धी विधेयकमाथि सामान्य छलफल चलाउने, ध्यानाकर्षण/संकल्प र जरुरी सार्वजनिक महत्वको प्रस्तावमध्ये एकमाथि छलफल चलाउने उल्लेख छ ।

फागुन ६ गते शून्य र विशेष समय चलाउने, शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीहरुका लागि दिन लगाउने, मन्त्रालयगत प्रश्नोत्तर चलाउने र भन्सार सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने भनिएको छ ।

फागुन ९ गते शून्य समय चलाउने, मन्त्रालयसँग पश्नोत्तर कार्यक्रम राख्ने, निर्माणमुखी सामाग्री सम्बन्धी विधेयकमाथि सामान्य छलफल चलाउने भनिएको छ ।

फागुन १० गते शून्य समय र विशेष समय चलाउने, मन्त्रालयसँग प्रश्नोत्तर गर्ने, मर्यादा सम्बन्धी विधेयक समितिमा दफावार छलफलमा पठाउने भनिएको छ भने फागुन १४ गते शून्य समय र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिन लगाउने, निर्माणमुखी सामाग्री सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने उल्लेख छ ।

अधिवेशन सुरू भएपछि फागुन १५ गतेसम्मको सम्भावित संसदीय क्यालेन्डर तयार पारेर सभामुख घिमिरेले सबै रानजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुलाई दिएका छन् । कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा सम्भावित कार्यातालिकालाई परिमार्जनसहित कार्यान्वयनमा लैजाने संसद सचिवालयको तयारी छ ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)लाई अगाडि बढाउने विषय भने सम्भावित संसदीय क्यालेन्डरमा परेको छैन । चार वटा विषयमा सहमति जुटाउन बाँकी रहेको यो विधेयक प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन छ ।

शीर्ष नेताहरुका रायका आधारमा अगाडि बढाउने भनिएको यो विधेयकलाई अगाडि बढाउने विषय सभवित कार्यसूचीमा नपरेको हो । तर, सरकारले यो विधेयकलाई प्राथमिकतामा राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?