+
+

टीआरसीबारे कानुन मन्त्रीले भने– मैले गोल हान्छु

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते ११:३७
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ । फाइल फोटो

२६ पुस, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमा टुंगो लाग्ने र आगामी अधिवेशनबाट पास हुने बताएका छन् । अबका आठ–दश दिनसम्म शीर्ष नेताहरुसँग पनि अनौपचारिक छलफल गर्ने र विधेयकलाई टुंगोमा पुर्याइने उनको भनाइ छ ।

संसदको कानुन न्याय तथा मानव अधिकार समितिमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा दफावार छलफल हुँदै छ । बिहीबारको छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ पनि सहभागी भए ।

संक्रमकालीन न्यायको विषयलाई राजनीतिबाट अलग गरेर हेर्न नसकिने भन्दै उनले सहमतिमै टुंगोमा पुग्ने बताए । र, आजको छलफलबाट विधेयकमा सहमति हुन्छ भन्ने निष्कर्षमा आफू पुगेको उनले बताए ।

‘माननीय सदस्यहरुले भन्नु भएको छ लाज लाग्न थाल्यो । अब लाज लाग्ने अवस्था रहन्न कि जस्तो लाछ,’ मन्त्री गुरुङले थपे, ‘सहमति नभएका विषयमा अझै सहमति खोज्ने नै हो फेरि पनि । यो सहमति हुन्न कि भन्ने होइन, आजको कुराले त सहमति हुन्छ भन्नेमा पुगें म ।’

आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका सचेतक महेश बर्तौला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार लगायतले धारणा राखेका थिए । बर्तौला र परियारले सहमति नभएका विषयलाई बहुमतबाट भए पनि टुंगो लगाउनुपर्ने धारणा राखेका थिए ।

मन्त्री गुरुङले आफ्नै पार्टी कांग्रेसका नेता लेखक, एमालेका बर्तौला र रास्वपाका परियारको ‘विद्वान’ र परिपक्क धारणा राख्ने नेता भनेर प्रशंसा गरेका थिए । विद्वान र परिपक्क नेताहरुको धारणा सुन्दा आफूलाई नमिल्ने कुरा केही छैन जस्तो लागेको बताए ।

त्यही क्रममा एमाले नेता बर्तौलाले ‘फकाइ–फकाइ गोल हान्न खोज्दै हुनुहुन्छ’ भनेर ठट्टा गरे ।

अनि मन्त्री गुरुङले भने, ‘अन्तिमसम्म प्रयास गरौं । मलाई विश्वास छ माननीय महेश बर्तौलाले नै बलको पास दिएपछि मैले गोल हान्छु । मलाई त्यो पनि विश्वास छ फेरि उहाँले पास दिनुहुन्छ ।’

कुनै विषयमा सहमति नभएमा बहुमतीय प्रक्रियाबाट टुंगो लगाउने विषयमा आज सर्वसहमति भएको भन्दै मन्त्री गुरुङले यो विधेयक अब टुंगोमा पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?