+
+

फर्स्ट लेडीले विलासी ब्याग उपहार लिँदा दक्षिण कोरियाका राष्ट्रपति तनावमा

एजेन्सी एजेन्सी
२०८० माघ ११ गते १४:२८

एजेन्सी । दक्षिण कोरियाकी फर्स्ट लेडी किम योन ह्वीले महँगो ब्याग उपहार लिँदा राष्ट्रपति योन सुक इउल तनावमा परेका छन् । अप्रिलमा हुन गइरहेको संसदीय निर्वाचनमा फर्स्ट लेडीको विलासी शैली आफुलाई प्रत्युत्पादक बन्नसक्ने चिन्ताले उनी तनावमा परेका हुन् ।

फस्ट लेडी किमले २२ सय डलर मूल्य बराबरको ‘क्रिस्टिन डिओर’ ब्रान्डको ब्याग उपहारस्वरुप लिएको भिडियो सार्वजनिक भएसँगै राष्ट्रपति इउल तनावमा रहेको टाइमले जनाएको छ । राष्ट्रपतिको दल पिपल पावर पार्टीमा फस्ट लेडीको विलासित राजनीतिक एजेण्डा बनेको छ ।

यो ब्याग भने सन् २०२२ को सेप्टेम्बरमा फर्स्ट लेडीले लिएकी थिइन् । तर भिडिओ भने गत वर्षको अन्त्यतिर सार्वजनिक भएको थियो । पार्टीमा समेत यो विषय एजेण्डा बन्न थालेपछि उनीहरुको चित्त कसरी बुझाउने भन्ने तनाव राष्ट्रपतिलाई परेको छ ।

यो विवादका विषयमा राष्ट्रपति र फस्ट लेडी दुबैले सार्वजनिक रुपमा केही बोलेका छैनन् । यद्यपि यसलाई प्रतिपक्षी दल डेमोक्रेटिक पार्टीले पनि सरकारविरुद्धको एजेण्डा बनाएको छ ।

जनवरी १८ मा पीपीपीका नेता हाङ दङ युनले फर्स्ट लेडीको यो कार्य सार्वजनिक चासोको मामिला रहेको प्रतिक्रिया सञ्चारमाध्यमलाई दिएको कोरिया टाइम्सले आफ्नो समाचारमा उल्लेख गरेको छ । त्यसको केही दिनपछि हाङलाई राष्ट्रपतिले आफ्नो कार्यालय छोड्न भनेका थिए । यद्यपि उनले राजीनामा दिन भने अस्वीकार गरेको कोरिया टाइम्समा उल्लेख छ ।

अहिले राष्ट्रपति र हाङबीचको सम्बन्ध पुन: सुध्रिएकाले उनीहरु सार्वजनिक मञ्चमा सँगै देखिने गरेका छन् । यद्यपि स्थानीय सञ्चारमाध्यमहरुले फर्स्ट लेडीको बानी व्यवहार फ्रान्सेली रानी म्येरी एन्टोनेटीकोझैँ भएको भन्दै पार्टीभित्रै धेरैले आलोचना गरिरहेको समाचार छापेका छन् । मत सर्वेक्षणका क्रममा ७० प्रतिशतले फर्स्ट लेडीको विलासी शैलीबारे राष्ट्रपतिले सार्वजनिक रुपमा जवाफ दिनुपर्ने माग गरेका छन् ।

‘यो विषय निकै गम्भीर हो र यसलाई नजरअन्दाज गर्न मिल्दैन । निर्वाचनको सम्मुखमा यस्तो विवादास्पद विषयमा मौन रहने हो भने यसले मतदाताहरुको मनोविज्ञान परिवर्तन गर्न सक्छ’, पीपीका नेता अन चेल सूले बताएका छन् ।

कसले खिचेको थियो भिडियो ?

यस भिडियो, कोरियन मूलका अमेरिकी पादरी चाओ-जे योङले खिचेका थिए । उक्त भिडियो वामपन्थी झुकाव राख्ने भ्वाइस अफ सोल न्यूजको युट्युब च्यानलमा गत नोभेम्बरमा अपलोड भएको थियो । त्यस भिडियोमा चाओले फर्स्टलेडीलाई ब्याग किन्नका निम्ति पसलमा छिरेको देखिन्छ । त्यसपछि बिलसहित ब्याग लिएर उनी फर्स्ट लेडीको कार्यालयमा पुगेको देखिन्छ । ब्याग र बिल हस्तान्तरण गरेका बखत राष्ट्रपतिले फस्ट लेडीलाई यस्ता विलासी सामान अबदेखि उपहारस्वरुप स्वीकार नगर्न हप्काएको दृश्य पनि भिडियोमा छ ।

कोरियन हेराल्डले त्यस ब्यागलाई सरकारको सम्पत्तिका रुपमा राखिने रिपोर्टिङ गरेको छ । सरकारी सम्पत्तिकै रुपमा राखिने भएपनि दक्षिण कोरियाको भ्रष्टाचार निवारण कानुन अनुसार फर्स्ट लेडीको यो कदम गैरकानुनी हो । त्यहाँ एक आर्थिक वर्षमा ७५० डलर भन्दा माथिको सामान गिफ्टका रुपमा लिन पाइँदैन ।

कोरियन हेराल्डका अनुसार चाओले यस भिडियो घडीमा रहेको क्यामेराको सहायतामा खिचेका थिए । आफूहरु एकै गाउँको भएका कारण फर्स्ट लेडीलाई सहजै भेट्ने मौका पाएको उनले बताएका छन् । उनले कोरियन हेराल्डलाई भनेका छन्-‘राष्ट्रपति कार्यालयको प्रणालीमा किमले मनपरी गरेको र पदीय दुरुपयोग गरेको हुनाले मैले भिडियो बनाएको हुँ ।’

किमको विलासिता उजागरका निम्ति यो भन्दा उपयुक्त अन्य कुनै माध्यम नै नरहेकाले आफूले गुप्त रुपमा दृश्य खिच्न बाध्य भएको चाओको भनाइ छ ।

भिडियो सार्वजनिक भएसँगै कस्तो छ प्रतिक्रिया ?

भ्वाइस अफ सोलका अनुसार राष्ट्रपति र फर्स्ट लेडी दुबैविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । गत डिसेम्बरमा दक्षिण कोरियाली नागरिक समाजले यस मामिलामा अनुसन्धानका लागि भ्रष्टाचार निवारण तथा नागरिक अधिकार आयोगमा मुद्दा दर्ता गरेका छन् ।

सत्तारुढ पीपीपीका सांसद पनि यस मुद्दामा विभाजित छन् । कतिपयले जासुसीको शिकारमा फर्स्ट लेडी परेको बताएका छन् भने कतिपयले फर्स्ट लेडीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेका छन् ।

यता, राष्ट्रपति कार्यालयले भने उक्त घटनाबारे माफी माग्नुपर्ने कारण नरहेको बताएको छ । उक्त उपहार व्यक्तिगत नभएर राज्यको सम्पत्ति हुने निर्ण भएकाले माफी माग्नुपर्ने कारण नरहेको बुझाइ राष्ट्रपति कार्यालयको छ ।

कति विवादित पात्र हुन् फस्ट लेडी ?

फस्ट लेडी किम पटक-पटक विवादमा आएकी पात्र हुन् । उनी बौद्धिक चोरीमा समेत परेकी थिइन् । सन् २०२२ मा विद्यावारिधिका निम्ति बुझाएको अनुसन्धानमा उनले बौद्धिक चोरी गरेको पाइएको थियो ।

उनी कर छली प्रकरणमा समेत मुछिएकी थिइन् । पुँजी बजारमा अनधिकृत दबाब दिँदै अनुचित लाभ लिएको विषयमा पनि उनी माथि अनुसन्धानको माग भइरहेको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?