+
+
राष्ट्रियसभा निर्वाचन :

गण्डकीमा फरार मेयरबाहेक सबैले गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १५:३१

११ माघ, पोखरा । राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीबाहेक सबै मतदाताले मतदान गरेका छन् । मेयर नेपाली बागलुङ पोखराको इमेज सहकारी ठगी प्रकरणमा उजुरी परेपछि ५ जेठदेखि फरार छन् ।

निर्वाचन कार्यालय गण्डकीका अनुसार नेपालीबाहेक बाँकी २२९ जनाले मतदान गरेका छन् । गण्डकीमा स्थानीय तहबाट १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी १ सय ७० जना मतदाता छन् । त्यस्तै प्रदेशसभाका ६० सदस्य गरी २३० जना मतदाता छन् ।

गण्डकीमा सत्तारुढ गठबन्धनबाट अन्यतर्फ कांग्रेसका गोरखाका किरणबाबु श्रेष्ठ, अपांगतर्फ तनहुँका पदमबहादुर परियार र महलिामा माओवादीबाट पर्वतकी मनरुपा शर्मा उम्मेदवार छन् ।

एमालेबाट अन्यमा स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता/अल्पसंख्यकबाट मुस्ताङका हेमन्द्र शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार छन् । राप्रपाले रोमबहादुर भण्डारी र गौमाया श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

सत्ता गठबन्धन दलबाट गण्डकीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको उपस्थिति छ । कांग्रेसको २ हजार ७०४, नेकपा माओवादीको ९९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ गरी ३ हजार ८२७ मतभार छ ।

एमालेको २ हजार ४३९ मतभार छ । एमालेबाट निर्वाचित ढोरपाटनका मेयर नेपाली अनुपस्थित हुँदा एमालेको पक्षमा २ हजार ४३९ मतभार देखिन्छ । राप्रपाका २ सांसदको १ सय ६ मतभार छ ।

राष्ट्रियसभा निर्वाचनको मतगणनाको नतिजा बिहीबार नै आउने निर्वाचन कार्यालयले जनाएको छ । उपल्लो सदन छिर्न तम्तयार रहेका गठबन्धनका उम्मेदवारले निर्वाचनस्थलमै खुसी साट्दै जनताको आवाज उठाउने प्रतिवद्धता गरिरहेका छन् ।

गठबन्धनका उम्मेदवार कांग्रेसका किरणबाबु श्रेष्ठले पार्टीले न्याय गरेको भन्दै सदनमा जनताको पक्षमा काम गर्ने बताए ।

अपांगतातर्फका उम्मेदवार पदम परियारले विशेष गरी अपांगता भएका र दलित समुदायको अधिकारको लडाइँ लड्ने बताए । महिलातर्फकी उम्मेदवार मनरुपा शर्माले शहीद र यो व्यवस्थाका लागि लडेकाहरुको योगदानलाई कदर गर्दै सदनमा सधैं आवाजबिहीनहरुको आवाज बन्ने बताइन् ।

एमालेका उम्मेदवारहरुले निर्वाचनमा जीतहार जे भए पनि स्वीकार्नुपर्ने र सधैं जीतमात्रै पनि अर्थ नराख्ने बताए । एमाले उम्मेदवार चक्रबहादुरले कुनै चुनावमा पार्टीको उपस्थितिले पनि अर्थ राख्ने र मौकामा पार्टीले न्याय गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?