+
+

यो साता ३.२ प्रतिशत घट्यो सेयर बजार, सबै समूह झर्दा होटल बढ्यो

४ कम्पनीको मूल्य भने १० प्रतिशतभन्दा धेरै बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १७:०३

१२ माघ, काठमाडौं । गएको साता २ हजार १ सय ५५ अंकमा बन्द भएको सेयर बजार यो साता २ हजार ८४ अंकमा रहेर बन्द भयो । समग्रमा यो साता बजार ३.२९ प्रतिशतले झरेको छ । गत साता ३.२० प्रतिशतले नै बजार बढेको थियो । यो साता कारोबार खुलेको पाँचै दिन सेयर बजार रातो रह्यो । पहिलो दिन आइतबार २५.६४, सोमबार ३१.४९, मंगलबार ०.४, बुधबार १०.२५ र बिहीबार ३.९४ अंक घट्यो ।

बजार घट्दै जाँदा कारोबार रकम पनि घट्दै गएको देखिन्छ । आइतबार ७ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब ३६ करोड, मंगलबार ४ अर्ब २९ करोड, बुधबार ३ अर्ब ८९ करोड र बिहीबार ३ अर्ब ७६ करोडमा कारोबार खुम्चियो ।

समग्र बजार घट्दा कारोबार रकम घट्नुले सेयर लगानीकर्तामा धैर्यता रहेको जनाउँछ । यो भनेको बेच्ने चाहनेहरू पनि नआत्तिएको र किन्नेहरू पनि पर्खेको अवस्था हो । ब्याजदर, तरलता स्थिति, अर्थतन्त्रका वाह्य सूचकजस्ता आधारभूत पक्ष बजारअनुकूल बन्दै गएपछि लगानीकर्तामा केही धैर्यता बढेको छ ।

सहज तरलता र घट्दो ब्याजदरमा पनि किन घट्यो बजार ?

यो साता बजार घट्नुमा बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासिक वित्तीय विवरण कमजोर आउनु प्रमुख कारण हो । अधिकांश बैंक तथा विकास बैंकको नाफा घटेको छ भने धेरैको वितरणयोग्य नाफा पनि ऋणात्मक भएको छ । नउठेको कर्जा रकम बढेको छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थालाई चुनौती थपिएको छ । सेयर बजार बैंक तथा विकास बैंकको हिस्सा उच्च छ ।

घट्दो ब्याजदर र सहज तरलता अवस्था भएकै कारण बजार घट्दा पनि लगानीकर्तामा धैर्यता बढेको छ । जसले बजार घट्दै जाँदा कारोबार रकम पनि घट्दै गएको छ, जुन सकारात्मक पक्ष हो । अर्कातर्फ, बजार इन्ट्राडे (कारोबार भइरहँदाको समय) मा अघिल्लो साता २ हजार २ सय नाघेको थियो । २ हजार २ सयलाई लगानीकर्ताले ठूलो प्रतिरोधका रूपमा बुझ्दै आएका छन् ।

विगतमा पनि पटक–पटक २ हजार २ सय आसपास पुगेपछि बजार झरेको ट्रेन्डलाइनले देखाउँछ । त्यही मनोविज्ञानको बजार बढी चर्चा हुँदा सकारात्मक माहोलबीच बजारले प्रतिरोध तोड्न सकेको छैन । यो साता पाँचै दिन बजार घटे पनि अन्तिमतिर गिरावट दर सम्हालिएको छ । आइतबार र सोमबार दुई दिनमै ५७ अंक घटेको बजार त्यसपछिका तीन दिनमा जम्मा १४ अंक मात्रै घट्यो । जसले आगामी साता बजारले सकारात्मक लय लिन सक्ने देखाउँछ ।

बजारमा समूहगत प्रदर्शन

यो साता होटल तथा पर्यटनबाहेक सबै समूह झरे । होटल तथा पर्यटन समूह भने १. १९ प्रतिशत बढ्यो । विकास बैंक समूह सबैभन्दा धेरै ४.८७ प्रतिशत घट्यो । कमजोर वित्तीय विवरण प्रभावले विकास बैंकबाहेक बैंकिङको गिरावट दर यो साता नेप्सेको भन्दा उच्च रह्यो । जीवन बीमा, निर्जीवन बीमा, व्यापार, अन्य र उत्पादन समूहको गिरावट दर नेप्सेको भन्दा न्यून रह्यो ।

धेरै मूल्य घटबढ भएका कम्पनी

समग्र बजार घटे पनि केही कम्पनीको मूल्य यो साता उच्च दरले बढेको छ । मिडसोलु हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३४.९० प्रतिशत बढ्यो । समग्रमा चार कम्पनीको मूल्य १० प्रतिशतभन्दा धेरै बढ्यो ।

त्यस्ता कम्पनीमा मिडसोलु हाइड्रोपावर, समाज लघुवित्त, चन्द्रागिरि हिल्स र नेपाल ल्युब आयल रहे । त्यस्तै सीईडीबी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १३.३६ प्रतिशत घट्यो । त्योसहित हाथवे इन्भेस्टमेन्ट र मोलुङ हाइड्रोपावरको मूल्य क्रमशः ११ र १० प्रतिशत घट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?