+

उपभोग्य मिति सकिएको औषधि खाए के हुन्छ ?

२०८० माघ  १२ गते १७:४७ २०८० माघ १२ गते १७:४७
उपभोग्य मिति सकिएको औषधि खाए के हुन्छ ?

जब हामी कुनै पनि वस्तु खरिद गर्छौं, हामी सामान्यतया त्यसको उपभोग्य मिति हेर्छौं । त्यस्तै औषधि किन्दा त्यसको पनि एक्सपाइरी डेट अर्थात् उपभोग्य मिति जाँच गर्नुपर्छ भन्ने सल्लाह चिकित्सकहरूले दिने गर्छन् ।

औषधि किन्दा मानिसहरु प्राय: हतारमा हुन्छन् । यस्तोमा औषधिको म्याद सकिएको छ कि छैन भनेर हेर्न नर्बिसियोस् भनेर यस्तो भनिएको हो ।

अहिले मानिसहरू यसबारे धेरै सचेत भइसकेका छन् र कुनै पनि औषधि सेवन गर्नुअघि एक पटक यसको मिति जाँच गर्छन् । तर उपभोग्य मिति सकिएको भएको औषधि सेवन गर्दा के हुन्छ भनेर कहिल्यै सोच्नुभएको छ ? म्याद सकिएको औषधि खाए के हुन्छ त ?

के हो उपभोग्य मिति ?

विश्वभर हरेक औषधि कम्पनीले आफ्नो औषधिमा एक्सपायरी डेट लेखेको हुन्छ । औषधिमा दिइएको म्याद समाप्त हुने मिति भनेको कुनै पनि औषधिमा दिइएको म्याद सकिएपछि त्यसको सुरक्षा र प्रभावकारितासम्बन्धी कम्पनीको ग्यारेन्टी समाप्त हुनु हो ।

उपभोग्य मिति सकिएको औषधि खाए के हुन्छ ?

प्रायः औषधिमा कुनै न कुनै प्रकारका रसायन हुन्छन् । सबै रासायनिक पदार्थहरूको विशेषता भनेको समयसँगै तिनीहरूको प्रभाव परिवर्तन हुन्छ । औषधिमा पनि यस्तै हुन्छ । धेरै पटक हावा, आर्द्रता, गर्मी आदिका कारण समय बित्दै जाँदा औषधिको प्रभावकारिता क्रमशः घट्दै जान्छ । यसकारण यसको साइड-इफेक्ट पनि हुन सक्छ ।

त्यसैले म्याद सकिएको औषधि सेवन गर्नुहुँदैन । म्याद नाघेका औषधि सेवन गर्नु जोखिमपूर्ण पनि हुनसक्छ । तर एक्सपायरी डेट भनेको त्यो मितिपछि औषधि विष बन्ने भन्ने पटक्कै होइन । आज औषधिको उपभोग्य मिति सकियो भोलिपल्ट त्यसलाई प्रयोग गर्दा नकारात्मक असर गरिहाल्ने होइन । एक्सपायरी डेटपछि औषधिको प्रभावकारिता कम हुने हो । औषधिको काम गर्ने क्षमता कम हुने हो ।

जस्तो, उदाहरणका लागि नराम्रो ब्याक्टेरिया मार्न एन्टिबायोटिक औषधि खान्छौं । तर यदि हामीले उपभोग्य मिति सकिएको एन्टिबायोटिक औषधि खायौं भने त्यो औषधिको प्रभावकारिता कम भएको कारण ब्याक्टेरिया मर्दैन ।

ब्याक्टेरिया नमरेपछि एउटा त बिरामी समयमा ठीक हुँदैन र अर्को ‘एन्टिबायोटिक रेजिस्टन्स’ संक्रामक जीवाणुहरूको औषधि प्रतिरोध गर्ने क्षमता विकास हुन्छ ।

केही विशेष औषधिमा भने विशेष ध्यान दिनुपर्छ

कुनै जीवन रक्षक औषधिहरू भने उपभोग्य मिति सकिएपछि खानु हुँदैन । जस्तो, इन्सुलिन मधुमेहका रोगीका लागि निकै महत्त्वपूर्ण मानिने यो औषधिको म्याद सकिएपछि बिग्रिन थाल्छ । त्यसैले यो औषधि उपभोग्य मिति सकिएपछि प्रयोग नगर्नु राम्रो हुन्छ ।

नाइट्रोग्लिसरिन औषधि छाती दुख्ने अवस्थामा हृदयरोगीलाई दिइन्छ । यसलाई खोल्ने बित्तिकै यसको प्रभाव चाँडै घट्न थाल्छ । त्यसैले यसलाई पनि म्याद नाघेपछि प्रयोग गर्नु हुँदैन ।

रगत, खोप जस्ता औषधि तोकिएको समयावधि पछि प्रयोग गर्नु हुँदैन । साथै आइड्रप, इयरड्रप जस्ता औषधि पनि खोलिसकेपछि त्यो प्रदूषित हुने सम्भावना हुन्छ । त्यसैले यस्ता औषधि पनि उपभोग्य मिति सकिएपछि प्रयोग नगर्नु नै बेस हुन्छ ।

झुक्किएर उपभोग्य मिति सकिएको औषधि खाए के गर्ने ?

यदि झुक्किएर उपभोग्य मिति सकिएको औषधि खाइयो भने कुनै पनि प्रकारको समस्याबाट बच्न चिकित्सकको सल्लाह लिनुपर्छ । कुन औषधि सेवन गरेको हो, कति मिति नाघेको औषधि सेवन गरेको हो त्यो अनुसार चिकित्सकले दिन्छन् । अवस्था खराब देखिएमा कलेजो र मिर्गौलाको परीक्षण गरिन्छ । यी सबै परीक्षणमार्फत औषधिको कुनै साइड-इफेक्ट छ कि छैन भनेर स्पष्ट हुन्छ ।

‍औषधि उपभोग्य मिति एक्सपाइरी डेट डा. छिरिङ वाङ्दी शेर्पा
डा. छिरिङ वाङ्दी शेर्पा
लेखक
डा. छिरिङ वाङ्दी शेर्पा
पेट तथा कलेजोरोग विशेषज्ञ

डा. शेर्पा हाल ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस, एमडी र डीएम गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ७७४१ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय