+
+

नेपाल कबड्डी लिग आयोजना हुने, एस्ट्रोनिक्स इभेन्ट्सँग सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते २१:५३

१२ माघ, काठमाडौं । छिमेकी भारतमा प्रोकबड्डी लिग निकै चर्चित छ । पछिल्लो समय भारतमा धेरै हेरिने खेलमा प्रो कबड्डी पर्छ । त्य

सको प्रभाव नेपालमा पनि छ । तर लामो समयदेखि खेलिँदै आएको र कुनै समय नेपालको राष्ट्रिय खेलकै रुपमा परिचय पाएको कबड्डीको खासै ठूलो प्रतियोगिता भएको थिएन ।

अब भने भारतमा जस्तै नेपालमा पनि फ्रेञ्चाइज कबड्डी लिग गर्ने लक्ष्यसहित अखिल नेपाल कबड्डी संघले काम सुरु गरेको छ ।

त्यसको लागि कबड्डी संघले पहिलो चरणमा एस्ट्रोनिक्स इभेन्ट म्यानेजमेन्टसँग लिग आयोजनाका लागि सम्झौता गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसा थापा तथा एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिका अध्यक्ष अमित बेगानीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

नेपाल कबड्डी लिग एनकेएल नामबाट हुने उक्त प्रतियोगिता आगामी जुलाईमा गर्ने योजना रहेको कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए ।

झाका अनुसार भारतपछि नेपाल विश्वकै कबड्डीको फ्रेञ्चाइज लिग आयोजना गर्ने दोश्रो राष्ट्र हुने छ ।

एक वर्षदेखि यसका लागि विभिन्न चरणमा छलफल भएकोले अहिले औपचारिक रुपमा सम्झौता दिएर यसलाई सार्वजनिक गरिएको महासिचव झाले बताए । ‘हामी एक वर्षदेखि नै यसको छलफलमा थियौं । अहिले सम्झौता गरेका छौं । अब केही दिन भित्रै हामी यसमा कति टिम हुने, कुन मोडालिटीमा खेलाउने लगायत लिगको लोगोहरु सार्वजनिक गर्नेछौं’, झाले अनलाइनखबरसँग भने ।

यो लिग पुरुषको हुने र महिलाको लिगका लागि पनि अर्को कम्पनीसँग छलफल भइरहेको झाले जानकारी दिए ।

लिगमा विदेशी खेलाडीहरु समेत समावेश हुनेछन र पहिलो संस्करणमा करिब ६ टिम समावेश गर्ने तयारी छ ।

पछिल्लो केही वर्षदेखि नेपालका खेलाडीहरु पनि भारतको प्रो लिगमा अनुबन्ध हुन थालेका छन् ।

यसवर्ष कबड्डी संघले चार खेलाडी सिफारिस गरेकोमा घनश्याम मगर हरियाना स्टिलर्समा अनुबन्ध भएका थिए र उनले एक खेलसमेत खेलेको महासचिव झाले जानकारी दिए ।

१० वर्षको लागि सम्झौता

अखिल नेपाल कबड्डी संघले कबड्डी लिग आयोजनाका लागि एस्ट्रोनिक्ससँग १० वर्षको सम्झौता गरेको महासचिव झाले जानकारी दिए ।

सम्झौता अनुसार एस्ट्रोनिक्सले कबड्डी लिगको आयोजना वापत नेपाल कबड्डी संघलाई वार्षिक १५ लाख दिने झाले बताए । ‘हामीले १० वर्षको लागि सम्झौता गरेका छौं । हरेक दुई वर्षमा अहिलेको सम्झौतामा १० प्रतिशतका दरले रकम बढाउने सहमति छ ।’

लिग बाहेक राष्ट्रिय टिमको खेल हादा पनि एस्ट्रोनिक्सले १५ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

यस्तै कबड्डी लिगमा लागि संघले प्रो कबड्डीमा काम गरेका ई प्रसाद रावलाई नै प्रावधिक निर्देशक नियुक्त गरेको छ । ‘प्रो कबड्डीलाई यो स्तरमा ल्याउन उहाँले ठूलो भूमिका खेल्नुभएको छ । त्यसैले नेपालमा पनि लिगका लागि हामीले रावलाई नै प्रावधिकि निर्देशकको रुपमा अनुबन्ध गरेका छौं’, झाले भने ।

व्यावसायिक बनाउने लक्ष्य

नेपालमा पनि कबड्डी हिमाल पहाड तराई सबै ठाउमा खेलिने खेल भएको र यसमा लाखौं खेलाडी रहेको झाले बताए ।

‘कबड्डी राष्ट्रिय खेल नै थियो । नेतृत्वले राम्रोसँग काम नगर्दा राष्ट्रिय खेलको नाम गुमाउनु पर्‍यो । ७७ वटै जिल्लामा गाउँ गाउँघरमा पहुँच भएको खेल हो । ७५३ वटै पालिका कबड्डी खेलिन्छ’, उनले भने ।

राष्ट्रिय रनिङ शिल्डको तथ्याङ्क हेर्ने हो भने करिब १० लाख खेलाडी यसमा संलग्न छन् ।

पहिलाको नेतृत्वले व्यावसायिकरण र संस्थागत रुपले लैजान नसक्दा अहिले यो अवस्थामा पुग्यो । तर हामी अब लिगदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा व्यवस्थित तरिकाले सहभागिता आयोजना गर्दै व्यावसायिक तरिकाले अगाडि बढाउने लक्ष्य छ । कबड्डी खेलेर पनि खेलाडीले केही गर्न सकिन्छ भनेर देखाउने लक्ष्य हो ।

नेपालका पुरुष खेलाडी भारको प्रो कबड्डीमा खेल्छन् भने महिला कबड्डी टिमले असोजमा चीनको हान्झाउ एसियन गेम्सममा डेब्यूमै ऐतिहासिक कांस्य पदक जित्यो । यस्तै नेपालको महिला खेलाडीले बंगलादेशमा पनि कबड्डी लिग खेलिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?